मजदुरमाथि मधेसी मोर्चाको यस्तो बर्बरता
२०७२ आस्विन १० आईतवार
फोटो :मधेसी मोर्चाका कार्यकर्ताले हानेको ढुंगा लागेर घाइते यातायात मजदुर सन्तोष मगर । तस्बिर सौजन्य : भीम ज्वाला रार्इ
काठमाडौं : मधेसी मोर्चाका कार्यकर्ताले मध्यराति गुडिरहेका यात्रु बस र मालबाहक सवारीमाथि ढुंगा बर्साउँदा ६ जना बढी मजदुर गम्भीर घाइते भएका छन् ।
सप्तरीको भारदह र धनुषाको ढल्केबरमा शनिबार मध्यराति बोलबम मेलाको भींडबाट ढुंगा बर्साउँदा मजदुरहरु गम्भीर घाइते भएका छन् ।
ढुंगाले लागेर केही मजदुरलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ ।
सप्तरीको भारदह, धनुषाको ढल्केबर र भारतीय नाका रक्सौल लगायत विभिन्न स्थानहरुमा मजदुरमाथि आक्रमण जारी रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीम राई ज्वालाले जानकारी दिए ।
शनिबार राति करिव १२ बजे पुर्वपश्चिम लोकमार्गस्थित ढल्केबरमा काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ७२४० नम्बरको रोकिराखिएको रात्रि बसको क्याविनभित्र रहेका कन्डक्टर दीपक राउत र परिचालक खेमराज खरेललाई मोर्चाका कार्यकर्ताले अन्धाधुन्ध ढुंगाले हानी मरणासन्न बनाए राईले बताए ।
उनीहरुको बिराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ । कन्डक्टर राउतलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको छ भने परिचालक खरेल भने खतरामुक्त रहेका छन् ।
शनिबारै राति सप्तरीको भारदहमा ना ५ ख ४९९० का चालक विष्णु राई र कन्डक्टर सन्तोष मगर र ना ५ ख ४६९३ का चालक मोहन थापलाई मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाइते बनाएका छन् ।
त्यस्तै असोज ५ गते तेल लिन भारतको रक्सौल गएका ट्यांकर चालकहरु पुशपति पाठक र बलराम लामालाई वीरगञ्जमा हातपात गरेका राईले बताए । annapurnapost
