मधेसी आन्दोलनकारीलाई भारतीयद्वारा खानाको व्यवस्था के गर्दै छ भारत ?
रक्सौलका उद्योगपति महेश अग्रवाललाई शुक्रबार भ्याई नभ्याई थियो। उनी स्थानीयहरूको सहयोगमा रातिको खानाको लागि चाहिने समानहरुको जोहो मिलाउँदै थिए। समय समयमा नेपालका आन्दोलनकारीहरू खाना खान नछुटुन् भनेर सूचित पनि गर्दै थिए। नेपालमा भूकम्प आएको बेला भारतीय सीमा सुरक्षा बलले रक्सौलमा चलाएको शिविरमै बिहिबारदेखि रक्सौलका स्थानीयले आन्दोलनकारीहरूको लागि खानाको मेस चलाएका हुन्। प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका ठप्प पार्न दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताका लागि भारतीयहरूले खानाको मेस सञ्चालन गरेका छन्।
सीमावर्ती क्षेत्रमा रोटीबेटीको सम्बन्ध भएको स्मरण गराउँदै आफूकहाँ आएका पाहुनाहरुलाई सेवा गरेको अग्रवालले बताए। सीमामा आन्दोलन चलेसम्म मेस चलाइराख्ने अग्रवालको भनाइ रहेको थियो। सो मेसमा आन्दोलनकारी नेता कार्यकर्ता सबैले सँगै खाने गरेका छन्। बिहिबार राति तीन सय आन्दोलकारीले त्यहा खाना खाएका थिए भने शुक्रबार दिन भरी मेस चलेको थियो।
