राजधानीका अवैध हुन्डी कारोबार गर्ने मनिट्रान्सफरमाथि प्रहरीको छापा
महानगरीय प्रहरी अपराध महाशाखा टेकुले राजधानीमा संचालित अवैध हुन्डी कारोबार हुने स्थानहरुमा छापा मारेको छ । महाशाखाको टोलीले राजधानीका सुन्धारा, ठमेल र न्युरोड क्षेत्रमा संचालित मनिट्रान्सहरुमा छापा मारेको हो ।
मनिट्रान्सबाट हुन्डीको कारोबार हुँदै आएको सुराकीका आधारमा महाशाखाले एक महिना लगाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानपछि महाशखाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो ।
सुन्धाराको देउराली मनी ट्रान्सफरलगायतका ५ भन्दा बढीस्थानबाट लाखौं रुपैयाँ बरामद गरिएको एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीलाई जानकारी दिए । उनका अनुसार प्रहरीले हुन्डीविरुद्ध राजधानीमा छापा मारेको पहिलो पटक हो ।
महाशाखाका डिएसपी रमेश थापाले राजधानीमा अवैध हुन्डीको कारोबार फस्टाउँदै गएपछि छापा मारिएको जानकारी दिए । महाशाखाको टोलीले मनिग्राममा कार्यरत केही कर्मचारी र संचालकलाई पक्राउ गरेको छ ।
