रुपेडिया नाकामा मधेसी मोर्चाका नेताबीच भीडन्त

नेपालगञ्ज, १६ असोज । भारतसँग जोडिएको बाँकेको रुपेडिया नाकामा मधेसी मोर्चाका नेता कार्यकर्ता एक आपसमै भिडेका छन् । नाकामा अवरोध सिर्जना गर्न गएका उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका र विजय गच्छदार नेतृत्वको संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताबीच शनिबार नेपाल र भारतीय भुमिमा बस्ने विषयलाई एकआपसमै झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार एकपक्षले भारतीय दलाल र अर्कोले नेपाल सरकार र प्रहरीका एजेन्ट भन्दै आपसमै भीडेपछि केहीबेर सिमानाकामा स्थिति तनावग्रस्त बनेको थियो । उपेन्द्र समुहले सीमापारीबाट आन्दोलन गर्नपर्छ र गच्छदार पक्षले त्यसो गर्न हुन्न नेपालमै बसेर धर्ना दिनुपर्छ भनेर मत बाझिएपछि दुबै पक्षबीच वारी र पारीको लडाई भएको हो । मधेसी मोर्चाको नेतृत्व गरेका उपेन्द्रको दलका नेता विजय गुप्ता र उनको टोलीका कार्यकर्ता भारतीय भूमीमा बसेर आन्दोलन गर्न अघिबढेपछि फोरम लोकतान्त्रिक पक्षले त्यसो नगर्न आग्रह गरेको थियो । नेपाली भूमिमै बसेर प्रदर्शन गर्ने फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोनियाले अडान लिएका थिए । त्यसपछि उपेन्द्र पक्षले पारीबाट गच्छदार समुहमाथि आक्रमण सुरु गरेको थियो । दुइ पक्षबीच भएको तनाव शान्त पार्न नेपाली सुरक्षाकर्मीले पहल लिएपनि भारतीय सुरक्षाकर्मीले केही नगरेर उपेन्द्र समुहलाई सहयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

,

news and entertainment