भैरहवामा नेपाल-भारत सीमा बैठक, दिल्लीको आदेश नमान्ने भारतीय अधिकारीको प्रतिबद्धता

नरेश केसी
भैरहवा, १४ असोज । बेलहिया सुनौली नाका निर्वाध सञ्चालन गराउने सहमति गर्दै नेपाल भारत सीमा बैठक सम्पन्न भएको छ ।
विगत ७ दिनदेखीको संयुक्त मधेसी मोर्चाको दशगजा केन्द्रित आन्दोलनको कारण यहांको नाका कहिले खुल्ने त कहिले बन्द हुने गरेको छ । नेपाल भारतका अन्य नाका ठप्प भएपछि मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार नाकालाई सहज बनाउन दुई देशीय सीमा सुरक्षा प्रमुखको बैठक बसेको हो ।
नेपालको भैरहवा भन्सार कार्यालयमा विहीवार रुपन्देहीका सुरक्षा समिति प्रमुख सिडीओ विष्णु प्रसाद ढकाल र भारत महाराजगञ्जका डिएम सुनिल श्रीवास्तव सहितको बैठकले बेलहिया सुनौली नाकालाई सहज बनाउने निर्णय गरेको हो ।

बैठकमा नेपाल तर्फबाट लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसी, जिल्ला प्रहरी रुपन्देही प्रमुख एसपी बुद्धि गुरुङ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी गणेश संग्रौैला, सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती रुपन्देही बेलहिया प्रमुख डिएसपी शंकर खनाल, भैरहवा भंसार कार्यालयका प्रमुख लावण्य ढकाल, बेलहिया इप्रका प्रमुख रबिनबाबु रेग्मी सहभागी थिए भने भारतीय पक्षबाट महाराजगञ्जका डिएम सुनिल श्रीवास्तवको नेतृत्वमा एसपी भरत सिंह लगायतको सहभागिता रहेको थियो ।
बैठकपछि नेपाल भारतका अधिकारी
बैठकपछि नेपाल भारतका अधिकारी
‘सौहार्दपुर्ण बातवरणमा सम्पन्न बैठकले भैरहवा नाका सहज र निर्वाध सन्चालन गर्ने दुई पक्षीय सहमति भएको छ’ बैठकपछि सन्चारकर्मीसंग कुरा गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जनाए ।
महाराजगञ्जका डिएम सुनिल श्रीवास्तवले पनि नेपाल र भारतको सम्वन्ध निकै गाढा भएकाले यस्ता साना मसिना कुराले सीमा नाकामा अवरोध नहुने भन्दै आफूले नेपाली पक्ष बाट सुरक्षाको ग्यारेण्टी भएको बिश्वास दिलाएकाले अब सहजरुपमा सदाझै मालवाहक ट्रक नेपाल पठाउन सहयोग गर्ने बताए । उनले सीमा अवरोध गर्न दिल्लीबाट आदेश आए अब नमान्ने समेत जनाए ।
भारतीय पक्ष सुरक्षाप्रति बढी चासो राखेको थियो हामीले नेपालको सुरक्षको ग्यारेन्टी लिएपछि सीमावर्ति अधिकारी सकारात्मक भई पारी लाइनमा बसेका गाडीहरु नेपाल पठाउन सहमत भएको बैठकमा सहभागी लुम्बिनी अन्चल प्रहरी प्रमुख गणेश केसीले जनाए ।

,

news and entertainment