समुद्री किनारमा भेटियो २० टनको व्हेल

एजेन्सी : मुम्बईको लोकप्रिय र मानिसको बाक्लो चहलपहल हुने समुद्री किनारमा शुक्रबार बिहानै ३० फिट लामो र करिब २० टन तौलको विशाल व्हेल मृत भेटिएको छ ।

प्रभात भ्रमणमा निस्केका स्थानीबासिन्दाले समुद्री किनारमा ३० फिट लामो व्हेल माछा देखेका थिए ।


बिहीबार मध्यराति समुद्रबाट बगेर आएको ब्राईडे प्रजातिको यो मृत व्हेल मुम्बईको जुहू किनारमा मानिसको आकर्षणको केन्द्र बनेको छ ।

स्थानीय अधिकारी व्हेलको मृत्युको कारण पत्ता लगाइरहेका छन् ।जुहू चौपाटी पुलिसका अधिकारी ए अम्बेकरले भने 'यो माछा करिब ३० फिट लामो छ । यसको तौल विशेषज्ञहरुले करिब १५ देखि २० अनुमान गरेका छन् ।'

पुलिस र जूहूवासीका अनुसार यहाँको इतिहासमै पहिलो पटक कुनै व्हेल माछा (मृत या जीवित) बगेर समुद्री किनारमा आइपुगेको हो ।

मुम्बई महानगर पालिका र वन्य सरंक्षण टीमले यसलाई हटाउन कोशिस थालेका छन् । तर हजारौं किलोको यो व्हेललाई हटाउन उनीहरुका लागि चुनौती बनेको छ ।

व्हेलको जाँच गरिरहेको फोरेन्सिक टीमका अधिकारी अनिमेष लिमाये भने, 'यसको मृत्युको पहिलो कारण फोहोर खाना हुन सक्छ । यो एक   युवा व्हेल हो र यसको आयु धेरै लामो हुन्छ ।'

उनका अनुसार यो व्हेल एक दुई दिनअघि नै मरेपछि समुद्रको लहरमा बग्दै यहाँ आइपुगेको हो ।

घटनास्थलमा रहेका स्थानीयले बीबीसीसँग कुरा गर्दै बताए अनुसार शुरुमा जीवितै रहेको अनुमान गरिएको व्हेलको शरीरबाट रगत बग्न थालेपछि मरेको पत्ता लागेको हो ।

प्रशासनले व्हेलको मृत शरीरबाट मानिसहरुलाई टाढै राखेका छन् । तर यसलाई हेर्न मानिसको ओइरो लागेको छ । अर्कातिर यो व्हेलको शरीर सडेर गन्हाउन पनि थालेको छ ।

फोरेन्सिक टीमका अनुसार यो व्हेलबाट कुनै किसिमको रोग सर्ने खतरा भने छैन । तर यसलाई हटाउने क्रमम यसको शरीरमा जम्मा भएको ग्यास निस्कँदा भने विस्फोट हुने खतरा रहेको छ ।
annapurnapost

,

news and entertainment