कांग्रेसको मतदान केन्द्रमा प्रहरीमाथि खुकुरी हानियो

धरान : धरानस्थित नेपाली कांग्रेसको वडा समितिको मतदान केन्द्रमा खुकुरी प्रहार गरिँदा दुईजना प्रहरी घाइते भएका छन् ।

केही दिनअघि संघीय समाजवादी फोरम नेपाल त्यागेका दुई युवाहरुले मतदान केन्द्रमै पसेर खुकुरी प्रहार गर्दा प्रहरी हवलदार जीतबहादुर बराइली र जवान सुरजकुमार साह घाइते भएका हुन् ।

धरान–१७ उदय सामुदायिक वनको मतदान केन्द्रमा पसेका अजय राई र वरुण राई नेतृत्वको समूहले आक्रमण गरेको हो ।



खुकुरी प्रहारबाट हवलदार बराइलीको घुँडामा गहिरो चोट लागेको छ । कांग्रेस स्रोतका अनुसार संघीय समाजवादी त्यागी कांग्रेसमा फर्केका अजय र वरुणसहितको क्रियाशिल सदस्यता स्वीकृत नगरिएपछि उनीहरुले मतदान केन्द्रमा आक्रमण गरेका हुन् ।

कांग्रेसका स्थानीय नेता सुवास राईका अनुसार आक्रमणपछि त्यहाँको मतदान कार्यक्रम स्थगित गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको छ ।

दुबैजनाको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
annapurnapost

news and entertainment