उपेन्द्र यादव प्रधानमन्त्री ओलीको पक्षमा बोल्न किन बाध्य भए ?

काठमाडौं, ८ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले गर्नुभएको चीन भ्रमणको विरोध आफूले कहिल्यै नगरेको दाबी गर्नुभएको छ ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘चीन भ्रमणमा हाम्रो विमति कहाँ छ र ? चीन जानु हुँदैन भनेर कहाँ भनेको हो र ? चीन र हाम्रोबीचको सम्बन्ध राम्रो होस् । दुई देशबीच धेरै कारोबार होस् । चीनको प्रगतिबाट नेपालले सिक्नुपर्छ ।’

उहाँले चीनलाई आफूहरूले ज्ञापनपत्र बुझाएको भनेर गलत समाचार सम्प्रेषण भइरहेको बताउनुभयो । ‘हामीले चीनलाई ज्ञापनपत्र बुझाएका होइनौँ’, उहाँले भन्नुभयो, ‘संघीय गठबन्धनका साथीहरूले चीनका राजदूतलाई भेटेर मधेसी जनजाति, आदिवासी, दलितका मागका विषयमा चीन सरकारलाई नेपालका बारेमा अवगत गराएका मात्रै हौँ । नेपालमा मानवअधिकारको उल्लंघन, सामाजिक, सांस्कृतिक अधिकार हनन् भएको छ । अन्तर्राष्ट्रिय जगतलाई यस विषयमा जानकारी मात्रै गराएको हो ।’
अध्यक्ष यादवले चीनले नेपालको संविधानलाई समर्थन गर्दै अन्य पक्षहरूलाई पनि समेटेर लैजाउ भनेको स्मरण गारउनु भयो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको विरोधमा संघीय गठबन्धनले विरोध गरेको भनिरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भ्रमणको विरोध नगरेको बताउनुभएको हो ।
ओलीको चीन भ्रमणका पक्षमा यादवले एकाएक धारणा राख्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
dainiknepal

,

news and entertainment