‘देशद्रोही’ सीके राउतलाई सिधै ‘इन्काउन्टर’ गर्नुपर्ने प्रस्ताव

काठमाडौं, १८ चैत । ‘स्वतन्त्र मधेस’को नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकवादी सीके राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यो प्रस्ताव उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले गरेका हुन् । देश टुक्र्याउनुपर्छ भन्ने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने भन्दै उनले यस विषयमा दबाब दिन सबै राष्ट्रवादी नेपाली एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

राजधानीमा रहेका सीके राउतको बुधबार एक टेलिभिजनले अन्तर्वार्ता लिएपछि उपराष्ट्रपतिपुत्र दिपेशले राष्ट्रियताका पक्षमा एकजुट हुन आव्हान गर्दै सीके राउतलाई गोली ठोकेर ‘इन्काउन्टर’ गर्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले सीके राउतको अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही हुनुपर्ने बताए ।
बिहीबार आफ्नो फेसबुकमा सन्देश लेख्दै दिपेशले भनेका छन- ‘सीके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र ? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री र गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’
उनले सीके राउतलाई पक्राउ गर्दै छाड्दै गर्ने प्रहरीको पनि आलोचना गरेका छन् । प्रहरीले उल्टो सीकेलाई हिरो बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले भने- ‘कि आजीवन कारावासमा राख्न सक्नुर्पयो, कि इन्काउन्टरमा जानुर्पयो ।’
तीन दिनदेखि राजधानीमा रहेका सीकेले टेलिभिजन अन्तर्वार्तामा मधेसमा आफ्नै सेना उत्पादन गरिरहेको र अबको १० वर्षभित्र मधेसलाई स्वतन्त्र बनाएरै छाड्ने बताएका थिए ।
यस्तो छ उपराष्ट्रपतिपुत्रको आक्रोशः
dainiknepal

,

news and entertainment