‘पंखामुनि ठूलो आवाज आएपछि हेलिकोप्टर पल्टियो’
फोटो :लाङटाङमा दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकोप्टर । तस्बिर सौजन्य: लाङटाङ ब्वाई दावा
काठमाडौं: वैशाख १२ को शक्तिशाली भूकम्पपछि तहनहस बनेको लाङटाङ उपत्यकाको बस्ती निर्माणका लागि फिस्टेल एयरेको हेलिकोप्टरबाट हामीले रड ओसारिरहेका थियौं ।
भूकम्पपछि खसेको हिमपहिरोले उजाड बनाएको बस्तीलाई पुनर्जीवन दिनका लागि मेरो अध्यक्षतामा बनेको लाङटाङ पुनर्निर्माण समितिले अभियान चलाइरहेको थियो ।
लाङटाङ पुनर्निर्माणका लागि आवश्यक रडसहितका निर्माण सामाग्री हामीले हेलिकोप्टरबाटै ढुवानी गर्दै आएका छौं ।
बिहीबार पनि लाङटाङमा घर बनाउनका लागि सदरमुकाम धुन्चेबाट रड यही हेलिकोप्टरबाट रड ओसारिरहेका थियौं ।
यही हेलिकोप्टरले बिहीबार तीन खेपसम्म रडलाई लाङटाङमा झारेको थियो । यो हेलिकोप्टरबाट चौथो पटक पनि स्वीडेनका पाइलोट निकोशले धुन्चेबाट रड लिएर आएका थिए ।
चौथो पटक रड ल्याएर लाङटाङ गाविस–५ मा झारेपछि फेरि हेलिकोप्टर उड्ने तयारीमा थियो । तर उड्नलाई तयार भइसकेको बिथ्री मोडलको नाइन एन एजेआई हेलिकोप्टरको पंखा मुनि बम पड्के जस्तो आवाज आयो ।
हामीले समेत सुन्नेगरि शुरुमा घ्यारर्र आवाज आएर पंखामुनि बम पड्केजस्तो आवाज आउनेवित्तिकै हेलिकोप्टर पल्टिन पुग्यो ।
रड झारेपछि रित्तो रहेको हेलिकोप्टरको पंखामुनि त्यति ठूलो आवाजमा के पड्क्यो भन्ने हामीले अनुमान लाउन सकेका छैनौं । तर, भाग्य भनौं या भगवानको कृपाले पाइलोटलाई केही भएन ।
अचानक हेलिकोप्टर पल्टिएपछि हामीले तत्कालै पाइलोट निकोलशलाई शिशा फुटाएर बाहिर निकाल्यौं । दुर्घटनामा परेका उनलाई कुनै चोटपटक लागेको छैन ।
दुर्घटनाग्रस्त हेलिकोप्टरबाट निकालेर उनलाई फिस्टेलकै अर्को हेलिकोप्टरमा धुन्चे पठाइसकेका छौं ।
लाङटाङ पुनर्निर्माण समितिका संयोजक तेम्बासँग अन्नपूर्ण अनलाइनका ज्ञानेन्द्र खड्काले गरेको कुराकानीमा आधारित
annapurnapost