लहोर विस्फोट: मृतकको संख्या कम्तीमा ७०
पाकिस्तानको लहोरमा एक जना आत्मघाती हमलाकारीले गराएको बम विस्फोटमा अधिकांश बालबालिका सहित कम्तीमा ७० जना मारिएका छन्।
ज्यान गुमाउने अधिकांशमा महिला र बालबालिका रहेको बताइएको छ।
इशाईहरुको पर्व इस्टर मनाइरहेका केही सहित कयौँ परिवार विस्फोटनको समयमा पार्कभित्र उपस्थित थिए।
पाकिस्तानको एउटा तालेबानी गुटले आफूले उक्त हमला गराएको बताएको छ।
पार्क
विस्फोट लहोरको गुल्सन ए इक्बाल पार्कको मुख्य ढोकामा भएको थियो, जहाँ सामान्यतया कारहरु राख्ने गरिन्छ।
उक्त स्थान पार्कभित्र बालबालिकाले पिङ खेल्ने ठाउँको नजिकै पर्छ।
एक जना प्रत्यक्षदर्शीले विस्फोटका कारण त्यहाँ भद्रगोलको अवस्था देखिएको र भागदौडका क्रममा बालबालिका आफ्ना अभिभावकबाट अलग भएको बताएका छन्।
रोयर्टस समाचार संस्थाका अनुसार पार्क बाहिरको भिडलाई नियन्त्रणमा लिन बिस्फोट स्थलमा सेनालाई बोलाइएको थियो।
लहोरका सहआयुक्त महमद उसमानका अनुसार घाइतेहरुको संख्या १ सय ९३ रहेको छ।
प्रहरीका अनुसार एउटा खेलमैदान नजिकै इस्टर मनाइरहेका केहि परिवार समेत उपस्थित, भिडभाडपूर्ण पार्कमा आइतबार साँझ सो विस्फोट गराइएको थियो।
उद्दार कार्यमा सघाएका एक जना व्यक्ती अफजलले बीबीसीसँग भने, “म आँफैले उठाएर २० जना बालबालिकालाई अस्पताल पुर्याउन सघाए। तीन वटा शवलाई प्रहरीको भ्यान नजिकै पुर्याएं। त्यहाँको दृश्य कति कारुणिक थियो म त्यसको वयान गर्न सक्दिन।”
तालेबानबाट फुटेको एउटा पाकिस्तानी समूह जमात-उल-अहररले शहरको इसाई समुदायलाई नियोजित रुपमा लक्षित गरेको भन्दै आक्रमणको जिम्मा लिएको छ।
भ्याटिकनले, उसकै शब्दमा, अल्पसंख्यक समुदायमाथि बहुलडठ्ठी ढंगले मच्चाइएको हिंसाको निन्दा गरेको छ।
शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक प्रकट गरेका छन्।
पकिस्तानका राष्ट्रपतिले उक्त विस्फोटनको निन्दा गरेका छन् र त्यहाँको प्रान्तीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ।
विस्फोटको खबर फैलिएपछि समाजिक सञ्जाल फेसबुकले लाहौरमा आफू सुरक्षित रहेको जानकारी दिने संकेत चिन्हको सेवा उपलब्ध गराएको छ।
पाकिस्तानको सबैभन्दा ठूलो र धनी प्रान्त लहोरलाई प्रधानमन्त्री नवाज सरिफको मुख्य राजनीतिक किल्ला मानिदै आएको छ।
पाकिस्तानले तालेबानसँग सम्बन्धित हिंसा, धार्मिक द्वन्द्व र आपराधिक समूहको गतिविधिको निरन्तर रुपमा समाना गरिरहेको छ।
यसैबिच राजधानी इस्लामाबादमा मृत्युदण्ड दिइएका एक जना बन्दुकधारीको समर्थनमा निकालिएको हजारौँ सहभागी जुलुसमाथि प्रहरीहरुले अश्रुग्यास प्रहार गरेका छन्।
मुमताज कादरीलाई अघिल्लो महिना पाँच बर्षअघि पन्जाबका गर्भनर सलमान तासिरको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको थियो।
त्यसबेला तासीरले इस्लाम धर्मको निन्दा गरेको अभियोगमा जेल परेकी एक जना महिलाको बचाउ गरेका थिए।
मुमताज कादरीका समर्थकहरुले उनलाई धार्मिक नायकका रुपमा चित्रण गरेका छन्।bbc
