पाकिस्तानमा सरकारी कर्मचारी चढेको बसमा बम बिस्फोट, १५ को मृत्यु

पेशावर – पाकिस्तानको पेशावर शहरमा बुधबार बिहान सरकार कर्मचारीहरुलाई लगिरहेको बसमा बम विस्फोटहुँदा कम्तिमा १५ जनाको निधन भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थिति गम्भिर रहेको बताइएको छ ।
‘ड्वन न्युज’ का अनुसार उक्त बस सरकारी कर्मचारीका लागि प्रयोग गरिन्थ्यो । बुधबार उक्त बस सिभिल सेक्रेटरियटतर्फ गइरहेको थियो । मारदानमा रहेको सुनहरी मस्जिद क्षेत्रमा पुगेपछि बसमा ठूलो विस्फोट भएको थियो ।
अहिलेसम्म कुनै पनि आतंकी संगठनले यसको जिम्मेवारी लिएको छैन । सबै घाइतेहरुलाई लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको थियो ।
पेशावरका एसपी मोहम्मद काशिफका अनुसार बसमा शुरुमा नै बम राखिएको थियो । मारिनेमा एक जना प्रहरी पनि रहेको बताइएको छ ।
अघिल्लो वर्ष पेशावरको एक स्कूलमा भएको आतंकवादी हमला हुँदा १ सय ४० विद्यार्थी र शिक्षक मारिएका थिए ।
ratopati

news and entertainment