नेपालीहरु नेपाल-भारत सम्बन्ध भन्दा नेपाल-चीन सम्बन्धमा बढी आश्वस्त छन्
छु लियाङ
नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको राजकीय भ्रमणमा छन् । २ देशले आर्थिक साझेदारीका लागि विभिन्न सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । अविश्वास र तनावले भरिएको गत फेब्रुअरी महिनामा भएको भारत भ्रमण जस्तो नभएर ओलीको चीन भ्रमण भने सहज छ ।
भारतलाई लागेको छ ओलीको पहिलो विदेश भ्रमण भारतमा हुनु नै जित हो तर अन्तराष्ट्रिय सम्बन्धका अवलोकनकर्ताहरु भने यो कुरा मान्न तयार छैनन् । ओलीको पहिलो राजकीय भ्रमणलाई आफ्नो पक्षमा पार्न भारतले कुनै जादुमयी वा नरम तरिका प्रयोग गरेन बरु बल प्रयोग गर्यो ।
बन्दुकका गोली पड्काएर कमजोर राज्यलाई द्वार खोल्न बाध्य पार्नु म्याद गुज्रिसकेको तरिका हो । यस्तो तर्क टाइम बम जस्तै हो जसले दुई पक्षीय सम्बन्धलाई पल-पलमा खराव गरिरहेको हुन्छ । भारत र नेपालबीचको सम्बन्धमा असमानता कायम रहे सम्म नेपालको सार्वभौम स्थायित्व र स्वाधिनता भारतको हातमा रहिरहने छ । अर्को तिर बेइजिङले काठमाडौंलाई दिल्लीले जस्तो आफूले नचाहेको कुरा जवर्जस्ती गर्न कहिल्यै पनि बाध्य तुल्याएको छैन ।
हात्ती र ड्यागनबीचको साण्डवीच जस्तो नेपाल भाग्यवानी र अभागी दुवै हो । सुरक्षा र आन्तरिक मामिलामा नेपालले सँधै भारतबाट दवाव महसुस गर्ने गरेको छ । तर आर्थिक वृद्धीको कुरामा भने नेपालका दुवै छिमेकीले थुप्रै अवसर दिएका छन् ।
एक अर्कासँग दुरी राख्ने तीन पक्ष २१ औं सताब्दीमा संयुक्त विकाशका लागि भने एक अर्कासँग सहकार्य र साझेदारीका लागि थप नजिकिएका छन् । यद्यपी ओलीको भारत भ्रमण ताका भारतीय पक्षले आधिकारिकरुपमा प्रयोग गरेका, “नकारात्मक नियत छैन”, “सहमति र वार्ताबाट मात्र सफलता प्राप्त गर्न सकिन्छ” जस्ता पदावलीले अझै पनि भारतीय मानसिकता दुइ पक्षीय सम्बन्धमा विगतमै अड्केको प्रष्ट हुन्छ ।
तुलनात्मकरुपमा हेर्दा नेपाल र चीनबीचको सम्बन्ध स्वस्थरुपमा विकाश भएको देखिन्छ । बेइजिङ-काठमाडौं सहकार्य चीनले अघि सारेको “साझा गन्तब्यको समुदाय”को एउटा नमूना हो । इतिहास विवेचना गर्दा नेपाल र चीनबीच जव जव २ पक्षीय सम्बन्धमा सुधारका कदम चालिए त्यसपछि सम्बन्ध थप मजबुद भएर अघि बढ्यो । कहिल्यै पनि पछाडी फर्किने काम भएन ।
समूहगत द्वन्द्ध शक्तिशाली हुन्छ भन्ने अमेरिकी समाजशास्त्री ए कोजरको द्वन्द सिद्धान्त नै चीन, नेपाल र भारतबीचको त्रीपक्षीय सम्बन्ध ब्याख्या गर्न सहायक हुन सक्छ । बेइजिङ-काठमाडौं सम्बन्ध भारत प्रधान दक्षिण एसियाली आर्थिक वृत्तमा नपर्ने भएकै कारण सहज छ । तर भारतको स्वाधिनता देखि नै भारतीय अर्थतन्त्रमा समेटिएको नेपाल दक्षिण एसियाको प्रधान शक्तिको आर्थिक वृत्तमा निरिह सानो अर्थतन्त्रकोरुपमा छ ।
जति जति काठमाडौं र दिल्ली नजिक हुन्छन् दुई पक्षबीचको आर्थिक द्वन्द्ध झनै भयानक बन्दै छन् । नेपाल चीनको आर्थिक वृत्तमा प्रवेश गर्यो भने बेइजिङ र काठमाडौंबीच पनि थप आर्थिक द्वन्द्ध बढ्ने निश्चित छ ।
तथापी विस्तारै अघि बढिरहेको चीन नेपाल सम्बन्ध भारत र नेपाल सम्बन्ध जस्तो तिक्त द्वन्द्धमै टुङ्गिन्छ भनेर धेरै चिन्ता गर्नु पर्ने अवस्था छैन । किन भने हामीसँग नेपालसँग स्थायी शाान्त र दिगो सम्बन्ध प्रवर्द्धन गर्नका लागि प्रयाप्त समय र धैर्य छ ।
चिनियाँ विदेश नीतिले अन्य देश र त्यहाँका नागरिकलाई सँधै सम्मान प्रधान बनाएको छ । यही नै नेपाल र चीनबीच आपसी सम्बन्धको ग्यारेन्टीको आधार हो । चीन र नेपालको सम्बन्ध भारत र नेपालबीच जस्तो उच्चस्तरीय छैन तर धरातलमा रहेर विस्तारै गति भने अवश्य प्राप्त गर्दै छ ।
नेपाली जनता भारत-नेपाल सम्बन्ध भन्दा चीन-नेपाल सम्बन्धमा बढी आश्वस्त छन् । यद्यपी शक्ति राष्ट्र बन्ने महत्वाकाँक्षा बोकेको भारतले आफ्नो विदेश नीतिमा सुधार गर्नेमा भारतीयहरु विश्वस्त छन् । जसका लागि थप मनकारिता र सहनशिलता आवश्यक छ ।
चीनको दैनिक पत्रिका ग्लोबल टाइम्समा प्रकाशित बेइजिङ विश्व विद्यालयमा ‘इण्डियन स्टडिज सेन्टर’का निर्देशक छु लियाङको आलेख भावानुवाद गरिएको- सम्पादक