खाद्य बालीमा विषादी प्रयोग गरेका कारण गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको सङ्ख्या बढ्दै

इलाम, ४ चैत, तरकारीलगायत खाद्य बालीमा विषादी प्रयोग गरेका कारण इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गतवर्षको तुलनामा इलाममा क्यान्सर रोगीको सङ्ख्या १९।१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५९ जनामा क्यान्सर रोग भेटिएकोमा यो वर्ष ७३ जनामा क्यान्सर भेटिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो । यसमा ४९ महिला र २४ पुरुषलाई क्यान्सर देखिएको हो ।


कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा नौ, इलाम नगरपालिकामा आठ, चुलाचुलीमा सात र दानावारी गाविसमा पाँचजनालाई क्यान्सर लागेको छ ।

यस्तै, अन्य गाविसमा पनि क्यान्सरका बिरामी रहेको कार्यालयले जनाएको छ । तरकारी खेतीमा विषादी प्रयोग गर्ने र विषादीयुक्त खाद्यान्न प्रयोग गरेका कारण क्यान्सर लागेको हुनसक्ने बताइएको छ । कार्सिनोजेनिक उत्पन्न गर्ने १५ थरीका विषादीमध्ये तरकारीमा धेरै विषादी प्रयोग हुने गरेको छ ।

सूर्योदय नपा तरकारीको पकेट क्षेत्र हो भने चुलाचुली र दानाबारीमा पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ । इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो । अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी छन् । अन्य गाविस गोदक, दानाबारी, इभाङ, नामसालिङ क्यान्सर प्रभावित क्षेत्रको रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

क्यान्सर पीडित जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस लिएर पनि उपचारका लागि जाने गरेका छन् । यसबाहेक सोझै उपचारमा जानेको सङ्ख्या पनि उच्च रहेको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । कार्यालयले मुटुका २० र मृगौलाका सातजना रोगीलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको छ । मुटु र किड्नीका बिरामी भने पुरुष बढी छन् ।

“जटिल रोगको कारण खानपान मुख्य हो”, पोखरेल भन्नुहुन्छ, “विषादी पनि हुनसक्छ ।” इलाममा क्यान्सरको कारणबारे अनुसन्धान नभएको उहाँले बताउनुभयो । तर टमाटरजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको असर देखिएको चिकित्सकहरू बताउँछन् । रासस
/aajakokhabar

,

news and entertainment