सीके राउतका पछाडी लाग्दा फसे ऋषि धमला ! प्रेस काउन्सिलको ठाडो हस्तक्षेप
काठमाडौं, १८ चैत । स्वतन्त्र मधेसको नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकतावादी सीके राउतलाई पत्रकार सम्मेलनमा बोलाउन खोज्दा चर्चित पत्रकार ऋषि धमला विवादमा तानिएका छन् ।
रिपोर्टर्स क्लबका अध्यक्ष समेत रहेका धमलामाथि प्रेस काउन्सिल नेपालले हमला (हस्तक्षेप) गरेको हो । काउन्सिलको यो कदमपछि राउतलाई रिपोर्टस क्लबमा उभ्याएर पत्रकार सम्मेलन गराउने धमलाको प्रयास असफल भएको छ ।
प्रेस काउन्सिलको ठाडो हस्तक्षेपपछि धमलाले सीके राउतको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेका हुन् ।
एबीसी टेलिभिजनलाई कारवाही
यसैगरी देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सीके राउतको अन्तरवार्ता प्रशारण गरेको भन्दै एबीसी टेलिभिजनलाई कारवाहीको तयारी थालिएको छ ।
एबीसीले बुधबार बेलुकी सीके राउतको अन्तरवार्ता प्रसारण गरेको थियो । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।
टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए ।
dainiknepal
