राजेश जब पुगे गोरखा
चैत्र १८, २०७२- राम शाहको पाला सुशासन र न्यायका लागि चिनिएको गोरखा सधैं राजनीतिको केन्द्रमा रहिरह्यो । तर पछिल्लो समय गोरखावासी महाभूकम्पको कारण पीडामा छन् । वैशाखमा गोरखालाई नै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधन र भौतिक संरचनामा क्षति पुर्यायो । गोरखाकै श्रीनाथकोट–३ तल्लो गोहोरेलाई पनि भूकम्प सग्लो छोडेको थिएन । घरहरू भत्केर टहरा बनेका छन् । रापिलो घाममा टिनका छाप्रामा विद्यार्थीहरू कक्षा लिन बाध्य छन् ।
भूकम्पले हाँसो र खुसी खोसेका गाउँमा मंगलबार खुसीको नयाँ रक्तसञ्चार देखियो, जब आफ्नो गाउँमा कल्पनासम्म नगरिएका नायक राजेश हमाल टुपुल्किए । फिल्म हलको मुखसम्म देख्न मुस्किल यहाँका स्थानीयले नायक हमाललाई देख्नेबित्तिकै भगवान्ले नै पठाएकोसम्म प्रतिक्रिया दिए ।
भुइँचालोले स्कुललाई लइदियो
भगवान्ले राजेशलाई पठायो
नेपालमा राजेशजी जन्मिनु
हाम्रो भाग्य खुलेको भन्दिनु...
स्थानीय लोकप्रसाद ढकालले तत्क्षण रचेर सुनाएको यस कवितामा सहमतिमा ताली बजाउने झन्डै एक हजार गाउँले भेला भएका थिए । तर यहाँ नायक हमाललाई भगवान्ले पठाएको भने थिएन । बरु घाँसी आदर्श समाज नेपाल नामक एक संस्थाले एक सामाजिक काममा हातेमालोका लागि लगेको थियो । तल्लो गोहोरेमा रहेको जनकल्याण उच्च माविको भवन भूकम्पका कारण पूर्णत: क्षति भएपछि पुनर्निर्माणका लागि घाँसी नेपालले सघाएको थियो । उक्त संस्थाका मानार्थ सदस्यसमेत रहेका नायक हमाल पाँचकोठे पक्की भवन निर्माणार्थ शिलान्यासका लागि पुर्याइएका थिए ।
‘यहाँ आउनुअघि ममा मिश्रित भाव पैदा भएको थियो,’ शिलान्यासपछिको कार्यक्रममा बोल्दै राजेश हमालले गाउँवासीलाई भने, ‘एकातिर तपार्इंहरूलाई भेट्न पाउने हुँदा खुसी त थिएँ नै, तर अर्कोतिर महाभूकम्पले सबैभन्दा बढी प्रभावित तपाईंहरू नै हुनुहुन्छ । त्यस अर्थमा दु:खित थिएँ । त्यो पीडा देख्दा दु:ख लाग्छ ।’ तर मंगलबारको दिन गाउँले भूकम्प पीडा भुलेर रमाउने मुडमा थिए ।
भूकम्पले पीडितलाई मल्हम लगाउन आउनेलाई
स्वागत छ स्वागत छ,
हात जोडेर स्वागत छ...
स्वागत गीतमा एक सानी विद्यार्थी हात जोडेर नाच्दै गर्दा प्रमुख अतिथि बनेका हमाल मुसुमुसु गरिरहेका थिए । सायद उनको मिश्रित भाव तल्लो गोहोरेमा आइसकेपछि देखिएको थिएन । कपाल फुलेका र दाँत झरिसकेका बाहरूले खैजडी बजाउँदै लोक भजनमा नाच्दा भटयाउने विषय उनै राजेश नै बने । मानौं, राजेश हमाल आउनु नै गाउँका लागि ठूलो उल्लास बनेको थियो । कार्यक्रम नै नायकमै केन्द्रितझैं लाग्थ्यो । भवन निर्माणार्थ सहयोग गर्नेलाई हमाल स्वयंले खादा पहिर्याएर सम्मान गरिदिएपछि दान गर्नेको तछाँडमछाड नै चलेको थियो ।
‘अझै पनि हामीकहाँ कलाकारलाई देख्दा मान्छेका मुहारमा छुट्टैखाले खुसी देख्छु । त्यसले मलाई आनन्दित पार्छ,’ नायक हमालले यस्तै खुसी नेताका कारण पनि आउन सके देशले मुहार फेर्न सक्ने मनसाय पोखे । उनले पटकपटक दोहोर्याइरहेका थिए, ‘भूकम्पपछि सरकारले पुनर्निमाणमा जोड दिने भनेकै हो । त्यसका लागि देशविदेशबाट ठूलो सहयोग रकम पनि आएकै थियो । तर किन हो खै, एक वर्ष बित्न लाग्दा पनि अवस्था जहाँको त्यहीं छ । मलाई पनि थाहा छैन, किन काम भइरहेको छैन ।’
जनकल्याण उमाविका प्रध्यानाध्यापक कमलप्रसाद ढकाल भने बरु पुनर्निर्माणमा सघाउने घाँसी नेपालप्रति अनुग्रहित देखिए । भने, ‘महाभूकम्पले फाटेका हाम्रा मनलाई तपार्इंहरूको पुनर्निर्माणको अभियानले जोड्ने काम गरेको छ । मनहरूलाई एकीकृत गर्ने काम गरेको छ ।’ भूकम्प प्रभावित विद्यालयहरूसँगै भन्ने अभियान थालेको घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले शिक्षा नै विकासको पहिलो आधार भएकोले भत्केका विद्यालय निर्माणमा जुटिरहेको बताए । भने, ‘आफ्नो विद्यालय बनाउन अब अरूलाई आग्रह गर्नुभन्दा आफैं जुटौं । पुनर्निर्माण हामी सबैको दायित्व हो ।’
स्थानीय कृष्ण ढकालले नायक हमालको उपस्थितिले स्कुलले सच्चा अभिभावक पाएको टिप्पणी गर्दै गर्दा अर्का प्रदीपबाबु ढकालले कुरा थपे, ‘यति बेला गाउँ रित्तिएका छन् । सरकारले यसलाई रोक्न केही गरे । अब राजेश हमालजस्ता लोकप्रिय कलाकारले गाउँमै बस्ने मोहनी लगाउने फिल्म खेलिदिनुस् भन्ने अनुरोध छ ।’ राजेश हमालले भने सरकारमा इच्छाशक्ति र इमानदारिताको कमी रहेको टिप्पणी गर्दैै विद्यार्थीहरू न्यूनतम मापदण्ड पनि नपुग्ने अवस्थामा शिक्षा लिइरहनुपर्ने बाध्यतामा रहेको जिकिर गरे । उनले थपे, ‘सीप र क्षमता हरेकमा समान रूपमा फैलिएको हुन्छ । तर अवसर असमान छ । त्यो अवसर प्रदान गराउने काम शिक्षाले नै गर्छ । त्यसैले शिक्षाको धरातल बलियो बनाउनु जरुरी छ ।’
तर गाउँवासी यति बेला राजेश हमालको भाषण सुनेरै चित्त बुझाउने मुडमा थिएनन् । कार्यक्रम सकिएको घोषणापछि हमाललाई नाच्नुपर्ने चर्को दबाब पर्यो । भूकम्पको दु:खद पृष्ठभूमि र विद्यालय निर्माणको गहन कामका लागि पुगेका हमाल सुरुमा नाच्न हच्किए । तर जब उनै अभिनीत फिल्म ‘हामी तीनभाइ’ को ‘तिरिरिरी मुरलीको धुन...’ गीतमा नाच्न जनकल्याणकै कक्षा १२ की छात्रा अम्बिका खड्काले नायक हमाललाई हात समातेरै तानिन्, तब माहोल एकाएक गर्मायो । राजेश हमाल पूरा गीतमा अम्बिकासँग नाच्दा दर्शकदीर्घामा बसेका केटाकेटीदेखि पाका सबैमा हराएको हाँसो सञ्चार भएको थियो । बिदावारी हुने बेलासम्म पनि स्कुलेहरू हमाललाई ‘साथीको लागि यो हात सलाम’ भन्दै सुनाइरहेका थिए ।
ekantipur
