देश निकालाको आवाज उठेपछि भारतीय राजदूत रञ्जीत रे रातारात दिल्ली पुगे
काठमाडौं, १४ चैत । पछिल्लो समय विवादमा तानिएका नेपालका लागि भारतीय राजदूत रञ्जीत रे रातारात दिल्ली पुगेका छन् ।
स्रोतका अनुसार नेपाल र चीनबीच भएको सम्झौता, त्यसले नेपालमा पारेको प्रभाव र भारतप्रतिको विरोधी धारणाबारे मोदी सरकारलाई जानकारी गराउन रे प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै दिल्ली गएका हुन् ।
मोदीको नेपाल नीति असफल भएको र नेपाललाई चीनतर्फ नजिक हुन वातावरण बनाएको टिप्पणी दिल्लीमा हुन थालेपछि भारतीय विदेश मन्त्रालयले त्यस विषयमा छलफल गर्न राजदुत रेलाई बोलाएको बुझिन आएको छ । त्यसका लागि राजदूत रे शुक्रबार नै दिल्ली पुगेका थिए ।
उनले शनिबार अनौपचारिक र आइतबार (आज) दिनभरी भारतीय विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र साउथ ब्लकका अधिकारीहरुसँग छलफल गरेर नेपाल र चीनको सम्झौता र प्रभावबारे जानकारी गराएका छन् । त्यसक्रममा नेपालले चीनसँग गरेको सम्झौता, त्यसको नेपालमा प्रभाव, भारत विरोधी गतिविधीको विषयमा विशेष छलफल भएको थियो ।
भारतीय अधिकारीसँग थप छलफल गरी भारत सरकारको सन्देश बोकेर राजदूत रे सोमबार साँझसम्म काठमाडौ फर्कने स्रोतले जनाएको छ ।
नेपालमा रहँदा गत बुधबार मात्रै राजदूत रेले होलीको शुभकामना दिने भन्दै मधेसवादी दलका नेतालाई बोलाएर ‘मधेस आन्दोलन कहिले हुन्छ । भारतको पूर्ण साथ, समर्थन र सहयोग रहन्छ’ भनेका थिए ।
त्यसयता उनलाई फिर्ता पठाउनदेखि देशनिकालासम्मको माग उठेको छ ।
dainiknepal
