बुद्ध युपीमा जन्मेको दाबी गर्दै भारतले बनायो कपिलवस्तु संग्रहालय
भगवान गौतम बुद्धको जन्मभूमिका विषयमा थप भ्रम फैलाउन भारत उद्यत बनेको छ । बुद्ध भारतको युपीमा जन्मेको ‘प्रमाण’ राखिनेे भन्दै भारतमा ‘कपिलवस्तु संग्रहालय’ बनेको छ ।
यो संग्राहलयको शुक्रबार एक केन्दि्रय मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । करिब ४० वर्ष पहिले नै उत्खनन गरिएका दुई वस्तुलाई ‘प्रमाण’ भनेर दुनियाँलाई देखाउने तयारी भारतले गरेको हो ।टाइम्स अफ इन्डियामा बिहीबार प्रकाशित समाचारअनुसार सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तु भेटिएका थिए, जसलाई अहिलेसम्म लुकाएर राखिएको थियो ।
‘यूपिको सिद्दार्थनगर जिल्लामा मार्च १८ मा उद्घाटन हुने कपिलवस्तु संग्रहालयमा यीनै दुई वस्तु प्रमुख आकर्षण हुनेछन्,’ समाचारमा लेखिएको छ ।
अहिलेसम्म तिनीहरुलाई सोधकर्ताहरुले मात्रै हेर्न पाउथे । आर्कियोलोजिकल सर्भे अफ इन्डियाका पुरातत्वविद नवरत्न कुमार पाठक भन्छन्, ‘नेपालले पनि तिलौराकाट भन्ने स्थानलाई पुरानो कपिलवस्तु भनेर दाबी गर्दै आएको छ । तर, हामीले जुटाएका प्रमाणले प्रष्टरुपमा भारतको दाबीलाई सत्य ठहर गर्छन् ।’ उक्त संग्रहालयमा बुद्धको जीवनका विविध आयामबारे जानकारी दिने विविध सामग्री रहने उनको भनाइ छ ।
लखनउ युनिभर्सिटीस्थित प्राचीन भारतीय इतिहास विभागका प्रमुख प्रोफेसर डीपी तिवारीले भनेका छन्, ‘नेपाली अनुसन्धानकर्ताले दिने सबैभन्दा ठूलो तर्क भनेको पिपरहवामा कुनै पनि दरबारको संरचना छैन भन्ने हो । तर, पिपरहवा नजिक रहेको गानवारिया भन्ने ठाउँमा दरबारको भग्नावशेष भेटिन्छ । आजको दिनमा हामी पिपरहवा र गानवारियालाई अलग अलग ठाउँका रुपमा हेर्छौं । तर, प्राचीनकालमा दुवै एउटै थियो ।’
कपिलवस्तु संग्रहालयको उद्घाटन केन्दि्रय पर्यटन महेश शर्माले गर्नेछन् । कपिलवस्तु र गान्वारियामा कथित प्रमाण भेटिएको स्थानबाट १०० मिटर टाढा रहेको भवनमा संग्रहालय बनाइएको छ । यो संग्रहालय ६ हजार स्क्यायर मिटरमा फैलिएको छ । बुद्धका जीवनबारे कलात्मक वस्तुहरु संग्रहित यो पहिलो संग्रहालय भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा संसदमा भाषण गर्ने क्रममा पटकपटक ‘नेपाल बुद्धको जन्मभूमि हो’ भनेका थिए ।