गुराँसको राजधानी जाने सडक नयाँ वर्षको पूर्वसन्ध्यामा मर्मत

तेह्रथुम, २९ चैत, गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा पर्यटक आवगमनमा सडकले असहज भएको भन्दै स्थानीयबासीले चार दिन लगाएर सडक मर्मत गरेका छन् ।

करिव ३० लाख रकम बरावरको श्रमदान गरी टुटेदेउरालीदेखि पाथीभरा डाँडासम्म चार किलोमिटर सडक मर्मत गरेका छन् । दैनिक दुई सय बढी आन्तरिक तथा बाह्य पर्यटक नयाँ वर्ष मनाउन र गुराँस हेर्न आउने गरेको र कच्ची सडकले समस्या भएपछि स्थानीयकै पहलमा सडक मर्मत गरेको स्थानीय अगुवा छिरिङ लामाले बताउनु भयो ।

जनसहभागितामा पहिलो दिन बसन्तपुर बजारबासी, दोस्रो दिन टुटेदेउरालीबासी तेस्रो दिन डाँडाखक, चौथो दिन देउरालीबासी र धनकुटाको २ नम्बर बाहिनी हिलेबाट ३० जना नेपाली सेना सहितले सडक मर्मत गरेका हुन् । जनशक्तिले सडकको सफाइ, कुलो मर्मत तथा खाल्डा पुर्ने काम गरेका थिए । पर्यटन प्रवर्धन गर्नका लागि स्थानीयले नै पहल सुरु गरेको अगुवाहरुले बताएका छन् । सडक सहज भएपछि दैनिक सवारी साधन लिएर आउने पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको टुटे प्रहरी चौकीको तथ्याङकमा रहेको छ । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल यो तिनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ ।
aajakokhabar

,

news and entertainment