नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनले लाइभ गर्ने
नेपाल–नामिबियाको खेल नेपाल टेलिभिजनले लाइभ गर्ने
काठमाडौं— आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार र सोमबार हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो।
'राष्ट्रिय खेलकूद परिषदको सिफारिशमा आइसीसीले नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको पास इस्यु गरेको छ', स्रोतले भन्यो, 'अहिले कीर्तिपुरस्थित मैदानमा नेपाल टेलिभिजनले प्राविधिक परीक्षण गरिरहेको छ।'
२०१५ अप्रिलमा आइसीसी मान्यताप्राप्त तत्कालीन नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाल टेलिभिजनबीच पाँच वर्षका लागि नेपालमा सञ्चालन हुने आइसीसी लेभल सहितका सबै क्रिकेट खेल प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको थियो। क्यानभित्र विवाद चुलिएको मौका छोपेर याे पटक सो सम्झौता उल्लंघन गर्ने प्रयास भित्रभित्रै भएको थियो।
चैत १२ मा नेपाल टेलिभिजनलाई पत्र पठाउँदै क्यानले नेपाल–नामिबियाको खेल प्रत्यक्ष प्रसारण गर्न अनुरोध गरेको थियो। क्यानकै लेटरप्याड प्रयोग गरी राष्ट्रिय खेलकूद परिषदलाई अर्को चिठी पठाएर सो खेलका लागि ब्रोडकास्टर छनौट प्रक्रिया अघि बढाउन अर्को आग्रह भएको थियो।
'आइसीसी मान्यताप्राप्त क्यानले गरेको निर्णय उल्टाएर अहिले जालझेल गरी निजी ब्रोडकास्टरलाई दिने प्रपञ्च क्यानभित्रैबाट भएको हो', तत्कालीन क्यानका एक पदाधिकारीले भने, 'नेपाल टेलिभिजनसँग सम्झौता गर्ने क्यान आइसीसी मान्यता प्राप्त हो। त्यतिबेला क्यानले गरेका सबै निर्णय अाइसीसीले स्वीकारेको छ। विधि विधानविरुद्ध गएर ब्रोडकास्टर परिवर्तन गर्न खाेज्ने प्रयास केही व्यक्तिहरुबाट भएको गेमप्लान हो।'
क्यानको आग्रहमा राखेपले ब्रोडकास्टर छनौटको सूचना प्रकाशित गरेपछि प्रत्यक्ष प्रसारक को भन्ने विवाद सतहमा आएको थियो। नेपाल टेलिभिजनले अाइसीसी मान्यताप्राप्त क्यानसँगको सम्झौताअनुसार नेपाल-नामिबियाको खेल प्रत्यक्ष प्रसारण अधिकार आफूसँग रहेको दाबी गरेकाे थियाे। नेपाल-नामिबियाबीचको खेल सञ्चालन गर्न अाएको अाइसीसी टोलीले निर्णय दिन नसक्दा शुक्रबार बिहानसम्म दर्शक प्रत्यक्ष प्रसारण कुन च्यानलमा आउने हो भन्ने अन्यौलमा थिए। अाइसीसीले कसलाई ब्राेडकास्टरको छनाैट गर्ला भन्ने अन्यौल चिर्दै शुक्रबार अाधिकारिक ब्रोडकास्टरको पास इस्यु गरेको हो।
ब्रोडकास्टरको रुपमा नेपाल टेलिभिजनलाई पास प्रदान गरिए पनि काठमाडौंमा रहेको आइसीसी टोलीले उपकरण परीक्षण गर्नुपर्ने सर्त अघि सारेको स्रोतले बतायो। 'आइसीसीले मान्यता दिएको क्यानले गरेको निर्णय अहिले उसैले स्वीकार्न आनाकानी गर्नु रहस्मय छ', ती पदाधिकारीले भने, 'कर्मचारीको स्तरबाट यो तहको गेमप्लान हुनु नेपालको क्रिकेट विकासका लागि घातक कुरा हो।'
सरकार नियन्त्रित नेपाल टेलिभिजन नेपालको सबैभन्दा बढी जनसंख्याले हेर्ने टेलिभिजन च्यालन हो। देशको सबैभन्दा बढी क्षेत्रमा प्रसारण पुहँच भएको नेपाल टेलिभिजनसँग क्यामेरा, ओभीभ्यान लगायतका उपकरण अब्बल छ। चीनले ५२ करोड रुपैयाँमा बनाइदिएको अत्याधुनिक स्टुडियो नेपाल टेलिभिजनसँग छ।
nagariknews