धरहराबाट सँगै झरेका, जीन्दगीमा सँगै उभिएका रमिला र सञ्जिव

वैशाख १२ गते दिउँसो ११ः५६ मा धरहराको बार्दलीमा सञ्जीव र रमिलाका पाइला पर्नेबित्तिकै भूमरी परेर हावा ‘स्याइँय’ गर्दै आएको थियो। त्यो हावाले कपाल र अनुहारमा छोएर जाँदा लागेको काउकुतीको अधुरो महसुस अहिले पनि उनीहरूलाई हुन्छ। धरहरामुनिको पृथ्वी मडारिएर आएको पो रहेछ, चटट्ट आवाज निकाल्दै धरहरा ढल्किएको थियो।


कहिलेकाहीँ सपनामा सञ्जीव धरहराबाट खसिरहेको देख्छन्! आत्तिँदै उठ्दा आफूलाई विस्तारामै भेटेपछि ढुक्क हुन्छन्। उनलाई घरिघरि फेरि भुइँचालो आउँछ कि भन्ने डर लागिरहन्छ। रमिलालाई पनि यस्तै हुन्छ। घरि सपना, घरि झझल्कोमा भुइँचालो आइरहन्छ।

उनीहरू धरहराबाट खसेको एक वर्ष पुग्न लागेको छ। रमिला त अझै उठ्न सकेकी छैनन्। धरहराबाट खस्दा रमिलाको बायाँ खुट्टा भाँचिएको थियो। सञ्जीवको बायाँ हात। केही हप्ताअघि डाक्टरले सञ्जीवलाई अब सञ्चो भएकोले पहिलेजस्तो काम गर्न अनुमति दिएका छन्। रमिलाको खुट्टा दोस्रोपटक अप्रेसन भएको छ।
***
गएको वैशाख १२ सम्म रमिलाले धरहरा देखेकी नै कहाँ थिइन् र, स्कुलमा धरहराबारे सुन्दैदेखि त्यसको टुप्पोबाट काठमाडौँ हेर्ने रहर पालेकी थिइन्। वैशाख १२ गते शनिबार सञ्जीवको छुट्टी परेकाले उनलाई भेट्न बल्खुबाट रमिला बसन्तपुर हानिइन्। ललितपुर गएर फिल्म हेर्ने योजना बनाउँदै हिँडेको बेला बाटैमा धरहरा देखिन्।

‘धरहरा चढ्ने,’ उनले भनिन्।

उनको बचन सञ्जीवले काटेनन्। धराहरा पुगे, टिकट लिएर माथि उक्ले।

धरहराको टुप्पोमा पुग्दा रमिला दङ्ग पर्दै काठमाडौंको झलक नियाल्दै थिइन्।

त्यहीबेला ‘स्याइँय’ गर्दै बतास चल्यो। बतासले अनुहारमा काउकुती लगाउँदै भागेको थियो। सञ्जीव पनि आइहाले। तर त्यो घुमेर आएको बतासजस्तो चिज थामिएन।

रमिलाले चपक्क रेलिङ समातिन्, सञ्जीव थुचुक्क बसे।

धरहरा खटट्ट गर्दै ढल्कियो। अनि सिधा खस्यो। हावा चलिरहेकै जस्तो भएको थियो। उनीहरूले होसै पाएनन्। भुइँमा पछारिएपछि पनि सञ्जीवले रमिलालाई सोधेका थिए, ‘के भएको?’

धरहरा भाँचियो भन्ने होसै थिएन, रमिलालाई। उनीहरू घरि होसै गुमाउँथे घरि ब्यूँझिन्थे।

पहिलोपल्ट धरहरा चढेकी रमिला कल्पनै गर्न सक्दिनन् थिएन् कि धरहराबाट काठमाडौँ हेर्ने रहरले आफूहरूलाई धरहरा भाचिँदाको साक्षी बनाउला भनेर।

केहीबेरमा प्रहरी आएर दुबैलाई अस्पताल लगेको थियो। त्यसपछि मात्रै थाहा भएछ, सञ्जीवको बायाँ हात र रमिलाको बायाँ खुट्टा भाँचिएछ। सञ्जीवको उपचारमा धेरै समय खर्चिनु परेन। तर रमिलाको खुट्टाको अप्रेसन गरेर फलामको रड राख्न धेरै समय लाग्यो।
setopati

,

news and entertainment