वैशाख १२ मा फेरि ठूलो भूकम्प जाँदैछ भन्ने हल्ला शतप्रतिशत झुठो हो

डा. दीपकराज भाट जियो टेक्निकल इन्जिनियर हुन् । गोरखा निवासी भाटले जापानबाट सोही विषयमा विद्यावारिधी गरेका छन् । हाल काठमाण्डु विश्वविद्यालयमा लेक्चरर रहेका भाट पछिल्लो समय अध्यापनका साथै नेपालको माटोको अवस्थाबारे गहन अध्ययन गरिरहेका छन् । माटोको कमजोर वा बलियो अवस्थाले भूकम्पीय क्षतिको मापन गर्न सघाउँने उनी बताउँछन् ।


गत वर्ष १२ वैशाखमा गभएको महाभूकम्पपछि उनले राजधानीसहित प्रभावित जिल्ला पुगेर धेरै सर्वसाधारणका घरसहित सार्वजनिक संरचनाहरुको अवस्था अध्ययन गरी सम्वद्ध पक्षलाई आवश्यक जानकारी गराए । तर, त्यसबापत कसैसँग एक पैसा लिएनन् । जापानमा प्रसस्त अवसर हुँदाहुँदै पनि नेपालकै लागि केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएका डा. भाट आफूले आर्जन गरेको ज्ञान र सिप मुलुककै लागि खर्चिनुपर्नेमा दृढ छन् ।
माटोको फेलर हुने प्रक्रिया र यसको पूर्वानुमान गर्न सक्ने प्रविधिसँग सम्बन्धित अनुसन्धान गरेबापत उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नाष्ट’ युवा वैज्ञानिक पुरस्कार–२०७२ बाट सम्मानित भए । उनका अनुसन्धानात्मक लेख तथा रचनाहरु राष्ट्रिड÷अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।
भूकम्पको एक वर्ष पुगेको अवसरमा काठमाण्डु टुडेले भाटसँग नेपालमा सम्भावित भूकम्पीय जोखिम, मानिसहरुमा अझैसम्म रहेको त्रास र भूकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।
प्रस्तुत छ, डा. भाटसँग गरिएको कुराकानीको सम्पादित अंशः–
महाभूकम्पछिको केही समय नेपालका मुलधारका मिडियामा खुबै छाउनुभयो, अहिले किन चुपचाप ?
अध्ययन, अनुसन्धान र अध्यापनको व्यस्तताले गर्दा हो । म सधैं मिडियालाई सम्मान गर्छु । कहिले काहीं आफूले बोलेका कुराभन्दा फरक तरिकाबाट पनि समाचारहरु बाहिर आउँछन् । जसले गर्दा पाठकहरुमा भ्रम पैदा हुन्छ । त्यसैले अलिअली डर पनि लाग्छ बोल्न ।
भूकम्पपछिको लगभग एक वर्ष कसरी बित्यो ?
वैशाख १२ को भूकम्पले जुन क्षति पु¥यायो, त्यसले हामी सबैलाई प्रत्यक्ष, परोक्ष रुपमा असर पारेको छ । देश दुःखेको बेलामा देशमा अप्ठेरो परेको बेलामा एउटा सामान्य नागरिकको नाताले जानेको सहयोग गर्नुपर्छ भन्ने भावनाले वैशाख १४ गतेबाट स्वयं सेवकका रुपमा काम गर्न निस्किएँ ।
विशेष गरी राहत संकलन तथा वितरण, घरहरुको प्रारम्भिक परीक्षण गरेर अवस्थाबारे जानकारी दिने, भूकम्प र त्यसछि के गर्ने भन्नेबारेमा विभिन्न किसिकमा तालिम दिनेजस्ता काममा व्यस्त भएँ । प्रारम्भिक अध्ययन तथा आफूले जानेका बुरा बाँड्नका लागि भूकम्पप्रभावित राजधानीसहित धादिङ, गोरखा, सिन्धुपाल्चोक, रामेछाप आदि जिल्लाका विभिन्न क्षेत्रमा पुगें ।
यस्तै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान केन्द्र र संघसंस्थासँग मिलेर गोरखा भूकम्पको असरलाई प्रारम्भिक रुपमा अध्ययन गरें । विशेष गरी मेरो क्षेत्र पनि जियो टेक्निकल इन्जिनियरिङसँग सम्बन्धित भएकाले त्यससँग सम्बन्धित विषयहरु जस्तै मोटोको फेलर, तरलीकरण, पहिरो जमिन भासिने तथा दब्ने आदि विषयमा अहिले पनि सुक्ष्म अध्ययन गरिरहेको छु ।
अध्ययनको निस्कर्ष के निकाल्नुभयो त ?
निस्कर्ष आउन बाँकी छ । काम भइरहेको छ । माटोको स्याम्पल लिएर ल्याबमा परीक्षण गरेपछि त्यसका आधारमा अध्ययन गरिरहेकोछु । निस्कर्ष आउन अझै केही समय लाग्छ । तर, नेपालको माटो कमजोर छ । माटो कमजोर भएपछि माथिमात्र बलियो संरचना बनाएर केही हुँदैन ।
वैशाख १२ मा यसपटक पनि ठूलो भूकम्प आउँने हल्ला चलाइएको छ, के भन्नुहुन्छ यसबारे ?
भूकम्पको पूर्वअनुमानका बारेमा धेरै अध्ययन, अनुसन्धान भइरहेका छन् । अहिलेसम्म भूकम्प कहाँ, कसरी र कहिले जान्छ भन्नेबारे पूर्वानुमान गर्न सक्ने विश्वासिलो प्रविधि अहिलेसम्म पत्ता लागेको छैन । जापान र चीनजस्ता भूकम्पीय हिसाबले उच्च जोखिममा रहेका मुलुकहरुका साथै ठूल्ठूला वैज्ञानिकले भूकम्पबारे पूर्वानुमान गर्न सकिन्छ कि भनेर वर्षौंदेखि कोसिस गर्दै आएका छन् ।
तर, पनि नतिजा आउन सकेको छैन । भूकम्प आउँदैन भन्न कसैले पनि सक्दैन । तर ति नै गते, यति बजे भूकम्प आउँदैछ भन्ने दाबी सरासर गलत हो । त्यस्तो शतप्रतिशत हावादारी दाबी र अफवाहपूर्ण हल्लाको पछि लागेर हतास नहुन मेरो सबैलाई आग्रह छ । भूकम्प एउटा प्राकृतिक परिघटना वा प्रकोप हो ।
त्यो जुनसुकै बेला पनि जान सक्छ । भूकम्पलाई मानिसले रोक्न सक्दैन । भूकम्पको कारणले हुने मानवीय र भौतिक क्षतिबाट कसरी जोगिने भन्ने नै महत्वपूर्ण कुरा हो ।  भूकम्पले जमिन हल्लिएका कारण होइन, कि हामी मानिसहरुले निर्माण गरेका संरचनाहरु भत्किएर मानवीय क्षति हुने हो
। एउटा इन्जियरका नाताले म भन्छु कि त्यसका लागि घर, अफिस, अस्पताल र शैक्षिक संस्थाका भवन भूकम्प प्रतिरोधी बनाऔं । त्यसो गरियो भने हल्लाका पछि लाग्नुपर्ने कारण नै हुँदैन, ढुक्कले बस्न सकिन्छ ।
त्यसो भए काठमाण्डु उपत्यकामा जति पावर रिलिज हुनुपर्ने हो त्यो भएन, त्यसैले फेरि ठूलो भूकम्प जान्छ भन्ने अनुमान र दाबीहरु हावादारी हुन त ?
अमेरिकी भूगर्भविदहरुले काठमाण्डु जति हल्लिनुपर्ने हो, त्यसको १७ प्रतिशत मात्रै हल्लियो भनेका छन् । काठमाण्डुको माटो र संरचनालाई आधार मान्दा जति क्षति हुन्छ भन्ने अनुमान गरिएको थियो, त्यसको तुलनामा कम क्षति भएको देखिन्छ । त्यसैलाई आधार मानेर काठमाण्डु भूकम्पीय हिसाबले उच्च जोखिममा छ कि भन्ने अनुमान गरिएको हो । तर, विस्तृत अध्ययनबिना त्यसबारेमा केही बोल्न मिल्दैन ।
पश्चिम नेपालमा भूकम्प नगएको ५ सय वर्ष भएको र अब बिनासकारी भूकम्प जान्छ भन्ने सुनिन्छ । के त्यो सत्य होला त ?
भूकम्प नगएको ५ सय वर्ष भयो भन्ने कुनै प्रमाणिक आधार छ जस्तो मलाई चाहिं लाग्दैन । किनकी हामीसँग भूकम्पको विश्वासिलो पुरानो रेकर्ड छैन । पश्चिम नेपालमा भूकम्प नगएको लामो समय भएको होला । तर, यति नै समय भयो भन्न सकिँदैन । भूकम्प आउला वा नआउला भन्ने दुवै भविष्यबाणी गर्न सकिँदैन ।
हाम्रा भौतिक संरचना भूकम्पप्रतिरोधी छैनन् । यदि पश्चिम क्षेत्रमा ठूलो भूकम्प आउँछ भन्ने मान्ने हो भने सम्भावित खतरालाई मध्यनजर गरेर अहिल्यैदेखि संरचनाहरु भूकम्पप्रतिरोधी बनाउन थाल्नुपर्छ । अहिलेका घर, विद्यालय, अस्पताल आदि संरचना बलियो बनाउने तथा आवश्यक परेर भत्काएर पुननिर्माण गर्नुपर्छ । जसले गर्दा भूकम्पबाट हुने सम्भावित जोखिम कम गर्न सकिन्छ । यसमा सरकारहित सम्बद्ध पक्ष र आमजनता सचेत भएको पाइँदैन ।
पश्चिम नेपाललाई पनि हिमालय रेञ्जले छुन्छ, तर किन लामो समय भूकम्प आएन होला ?
यो विषय ‘इन्ट्रेस्टिङ’ छ । अध्ययन नगरी त्यसै भन्न मिल्दैन । पहिलेका डाटाहरुको अध्यन नगरी भन्न सकिँदैन ।
एक वर्षसम्म पनि भूकम्पको पराकम्प रोकिएको छैन । अब कहिलेसम्म यस्तो भइरन्छ होला ?
यो ठोकुवा गरेर भन्न सकिने विषय होइन । ९० सालको भूकम्पपछि कसैले तीन महिना, कसैले एक वर्षसम्म पराकम्प आयो भन्छन् । आधिकारिक रेकर्ड छैन । नेपालमा पछिल्लो भूकम्प ७.८ रेक्टर स्केलको हो । ९० सालकोलाई ८.४ रेक्टर स्केलको भनिन्छ । तर, त्यतिबेला रेक्टर स्केलमा भूकम्प मापन गर्ने सिस्मोग्राफ आएकै थिएन । कसरी त्यसलाई ८.४ को भन्ने ? त्यो अनुमान मात्र थियो । क्षतिलाई आधार मानेर इन्टेन्सिटीका आधारमा मापन गरिएको होला ।
सरकारले गरिरहेको भनिएको पुनर्निर्माणको कामसँग सन्तुष्ट कत्तिको हुनुहुन्छ ?
राजनीतिक दलबीचको बेमेलमा कारण पुनर्निर्माण प्राधिकरण बन्न ढिला भयो । कार्याकारी प्रमु्खका बारेमा लामो विवाद भयो । कार्यक्रम सञ्चालनका विषयमा नीति, नियम जस्ता अप्ठ्यारा थिए होलान् ।
यद्यपि राज्य भनेको जनताको अभिभावक हो । भूकम्पपीडितले जसरी आशा गरेका थिए । त्यसरी राहत पाउनुपथ्र्यो । त्यो विषयमा राज्य गम्भीर भएन । गत वैशाख १२ का दिन भूकम्प जाँदा जुन अवस्था थियो, कतिपय ठाउँको अवस्था आजको दिनमा पनि उही छ । सरकारको पुनःनिर्माण अभियानप्रति थोरै पनि सन्तुष्ट हुने ठाउँ छैन ।
kathmandutoday

,

news and entertainment