रुकुम । जंगलको बीचमा एउटा घर छ । जंगलमा हरेकथरिका चराचुरुंगी कराउँछन् । घरनजिकै आएर चरा कराउँदा पनि बिदेशबाट छोराको केही सन्देश आयो कि भन्ने लाग्छ रे, आमा चन्द्राकुमार बुढालाई । फोन गर्न त परै जाओस्, उठाउन पनि जान्दैनिन उनी तर बुहारीको मोबाइलमा जसले फोन गरे पनि छोराकै केही खबर आयो कि भन्ने लाग्छ रे ।
गाडीबाट झरेर झण्डै पाँच घण्टाको पैदल यात्रापछि पुग्न सकिने रुकुमको चौखावाङ ९ गलम्पाटीस्थित ठारीखोली जंगलको बीचमा रहेको घरमा रहेका बुवा रामबहादु बुढा, आमा चन्दा, श्रीमती मीना खड्का र साढे दुई बर्षकी छोरी कतारको अल रुमेला अस्पतालको एलटीसी २५१ नम्बरको बेडमा उपचार गराइरहेका ललित बुढा मगरको सुखद खबरको पर्खाइमा छन् । एक आल्मुनियम कम्पनीमा कार्यरत ललित कामकै सिलसिलामा गम्भीर घाइते भएपछि अहिले यो परिवार ललितको गुमनाम अवस्थाप्रति निकै दुःखी बनेको छ ।
‘गएको मंसिर ८ गते छोरा दुर्घटनामा परेको खबर सुन्यौं । त्यसपछि ऊ बेहोश छ भन्ने मात्रै सुन्छौं’, आमा चन्द्राले थपिन् ‘एक मनले यति बाँच्यो, अब त कसो निको नहोला र भन्ने पनि लाग्छ, अर्काको देशमा के हो के हो ?’
आमाको मन न हो, घरिघरि अनेकथरि सोचिरहन्छ मनले । ‘मंसिरमै जन्मेको छोरा हो, मंसिरमै दुर्घटनामा पर्यो, के हुने हो भन्ने लागिरहन्छ– उनले पीडा पोखिन् ‘दिनमा भोक पनि लाग्दैन, रातमा निद पनि लाग्दैन ।’ बाबु रामबहादुरको पनि त्यस्तै अवस्था छ । अझ जीवनसाथी मीना असह्य पीडा बोकेर बाँचिरहेकी छन् । बिहे भएको सात महिनापछि ललित कतार उडेका थिए । २०६९ असोजमा बिहे गरेका ललित २०७० बैशाख २७ गते बिदेश गएका थिए । ०७० कै कार्तिकमा छोरी जन्मिइन् । न अहिलेसम्म छोरीले बाबुको मुख देख्न पाएकी छन्, न श्रीमती मीनाले श्रीमान्सँग गतिलो संगत नै गर्न पाइन् ।
छोरीले बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहँदा मन निकै खिन्न हुन्छ । के जवाफ दिनु र, म आफै रोएर बस्छु’ मीनाले भनिन्, ‘सानै उमेरमा बिहे गरेर आइयो, बिहे गरेको सात महिनापछि उहाँ बिदेश जानुभयो । अब के हुन्छ, भाग्यभरोशा बाँचेकी छु ।’
घरमा कमाउने ललित गम्भीर घाइते परेपछि आर्थिक संकट चुलिन थालेको छ । झण्डै ६ लाख सावा ऋण तिर्न बिदेश गएका ललितले घाइते हुनुअघिसम्म झण्डै चार लाख ऋण तिरिसकेको भए पनि अब दुई लाख सावा ऋण बाँकी रहेको बुवा रामबहादुरले जानकारी दिए । ‘उसले पटकपटक गरी पठायो र यता भैसी बेचेर चार लाख जति ऋण तिरियो होला तर दुई लाख सावाँ नै बाँकी छ’ उनले भने ‘अब हामी कसरी तिर्न सक्छौं र ? कम्तीमा छोरा सञ्चो भएर आयो भने जग्गा बेचेर भए पनि तिरौंला तर छोरा नै आएन भने हाम्रो संसारै डुब्छ ।’
कक्षा १२ पास गरेसँगै बिहे गरेर घरगृहस्थीमा जोडिएका ललितले देशभित्रै बसेर केही गर्न नखोजेका होइनन् । झण्डै दुई लाख ऋण लिएर पसल थाले पनि यसबाट मात्र साहु ऋण तिर्न संभव नभएपछि ललित बिदेश गएको परिवारले जनाएको छ । त्यसो त बिदेश जाँदा पनि पहिले एउटा देशमा प्रयास गरेर असफल भएपछि फेरि अर्को प्रयासमा कतार गएकाले दुई पटक गरी झण्डै तीन लाख रुपैयाँ बिदेश जाने क्रममै ऋण लागेको परिवारको भनाइ छ ।
osnepal
चरा कराउँदा पनि छोरा सम्झेर रुन्छन् ललितका परिवार
news and entertainment