आज कोमलको जन्मदिन, भन्छिन्,‘अबचाहिँ बिहे गर्ने सोच पलाएको छ’

‘मलमल किरी जुनकिरी’, ‘चरीचुच्चे च’, ‘माया बस्यो जिरी बजारमा’, ‘बिहे भा’छैन’, ‘पोइल जान पाम’लगायत लोकगीतबाट चर्चित गायिका कोमल वली नयाँ वर्षकै दिन, दाङमा जन्मिएकी हुन्।

नयाँ वर्षको अवसरमा गैर आवासीय नेपाली संघ, मस्कोको आयोजनामा आउँदो आइतबार हुने सांगीतिक कार्यक्रमका लागि हाल रुसको राजधानी मस्कोस्थित सेन्ट पिटसबर्ग सहरमा रहेकी कोमल आफ्नो उमेर खुलाउन चाहँदिनन्। ‘कति वर्षअघि जन्मनु भएको?’ सेतोपाटीको प्रश्नमा कोमलले ठट्यौली उत्तर दिइन्,‘१६ वर्षअघि!’

वि.सं. संवत २०४६ सालमा रेडियो नेपालले आयोजना गरेको ‘राष्ट्रिय लोकदोहोरी प्रतियोगिता’मा दोस्रो स्थान हासिल गरेकी वलीले नारायणगोपाल युवा संगीत पुरस्कार, गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत चर्चित पुरस्कार जितेकी छिन्।

सञ्चारकर्मी र फिल्म अभिनेत्रीको समेत परिचय बनाएकी गायिका कोमलले करिब एक दशकदेखि आफ्नो जन्मदिन नेपालमा मनाउन नपाएको दुखेसो पोखिन्। ‘विदेशका साथीहरुसँग रमाइलो त गरिन्छ तर बाहिर जति रमाइलो गरेपनि परिवारको यादले भित्री मन नरमाउने रहेछ।’ फोन संवादमा उनले भनिन्,‘झन् यस वर्ष त आमा रुनु नै भएपछि मन कुँडियो। उहाँ हत्तपत्त चित्त दुखाइहाल्ने मान्छे हुनुहुन्थेन। नेपालमै छँदा पनि कार्यक्रम परिरहँदा आमासँग जन्मदिन मनाउन नपाएको धेरै वर्ष बितेछ। बिहानै फाेन गरेकी थिएँ, तँ चाडवाडमा पनि हुँदिनस्, जन्मदिन, नयाँ वर्षमा पनि हुँदिनस्। कमसेकम जन्मदिनमा त यतै बस्, मन्दिर गएर दर्शन गर भनेर रुनुभयाे।’

अप्रिल नौमा रुसका लागि यात्रा तय गरेकी कोमललाई यस वर्षको जन्मदिनमा रुसका शुभचिन्तकले फूल उपहार दिएछन्। बितेका वर्षझैं यस वर्ष पनि ‘यादगार उपहार’ नआएको उनको भनाई छ। ‘मलाई उपहारमा त्यति रुची लाग्दैन। अरु बेला घडी, मोबाइलजस्ता उपहार पाइन्छ। तर, जन्मदिनमा त्यस्तो विशेष उपहार पाएको सम्झना छैन।’

बिहेको प्रस्तावचाहिँ आयो कि? उनलाई पहिले–पहिलेका वर्षहरुमा बिहेका थुप्रै प्रस्ताव आउँथे रे! धेरैजसोले अप्रत्यक्षरुपमा बिहेको प्रस्ताव राखेपनि यस वर्ष भने कसैले पनि बिहे प्रस्ताव नराखेको उनको भनाइ छ।

घरबाट पनि बिहेको दवाब नआएको उनले बताइन्। ‘आमालाई त म बच्चै छुजस्तो लाग्छ।’ उनले भनिन्,‘मलाई घरपरिवारले राम्रोसँग बुझेको छ। त्यसैले मलाई अहिलेसम्म बिहे गर्नुपर्छ भनेर भन्नुभएको छैन।’

उनी आफैंलाईचाहिँ यसवर्ष ‘अबचाहिँ बिहे गर्नुपर्छ कि’ भन्ने लाग्यो रे। रुसका लागि लामो जहाज यात्रामा उनको मनमा बिहे गर्ने सोच पलाएछ। उनले भनिन्, ‘लामो यात्रामा आँखा चिम्लेर जिन्दगीलाई विगतदेखि वर्तमानसम्म हेर्छु। अनि कसैले भनेको सम्झन्छु, तपाईंलाई कोमल वली भनेर धेरैले चिने। धेरैतिर नाम बनाउनुभयो। तर, तपाईंले बिहे गर्नुभएन। के बिहेको अनुभव लिन डराउनु भएको हो? बिहे गर्न तर्सिनु भएको हो? मेरो दिमागमा यी कुराहरुले ‘स्ट्राइक’ ग¥यो।’

‘म बिहेबाट तर्सिएको होइन। संयुक्त परिवारमा बस्ने भएकाले परिवारको शक्ति र महत्व बुझेको छु। तर, मलाई बिहेले खुशी दिन्छ भन्ने पटक्कै लाग्थेन। पहिले–पहिले त बिहेको बारेमा सोच्न पनि झ्याउ लाग्थ्यो। यसपल्टको फ्लाइटमा धेरै सोचेँ। अब भने जिन्दगीमा नयाँ तरिकाको सोचको मुना पलाउन थालेको छ। यति नै समयमा गर्छु भन्ने ठोस योजना बनाइसकेकोचाहिँ छैन।’

जोडी पनि भेटिएको हो र ? उनले हालसम्म आफूलाई सुहाउँदो जोडी नभेटिएको बताइन्। पहिले–पहिले बिहे गर्छु/माया गर्छु भन्ने थुप्रै प्रस्ताव आउँदा पनि आफू तयार नभएकाले प्रस्तावहरु लत्याएको बताउने कोमल अब भने तयार भएको प्रष्ट पारिन्। उनले हाँस्दै भनिन्,‘आफू तयार भएपछि चाहने मान्छेको लाइन नै लाग्ला नि! होइन र?’
setopati

,

news and entertainment