मोदी नेपाल आए त्यसै छाडिन्न…

अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भारतीय संचार माध्यममा समाचार आएको छ । विहारका मुख्यमन्त्री नीतिशकुमार र मोदी नेपाल आउने चर्चा चलेसँगै यतिबेला नेपालमा त्यसको चौतर्फी बिरोध सुरु भइसकेको छ । नेपाली संचार माध्यममा आएका समाचारका मुनितिर मोदी विरोधी नारा लाग्न थालिसकेका छन् । फेसबुक र ट्वीटरमा मोदीविरुद्ध नेपालीहरु एक हुन थालिसकेका छन् । के यी सबका बीच मोदी साच्ची नेपाल आउलान् त ?

नेपालमा ५ महिना लामो नाकाबन्दी लगाएपछि नेपाली मोदीको नाम नै सुन्नै चाहन्नन् । अझ हालसम्म मोदीले नेपालको संविधानलाई स्वीकार नगर्नुले नेपालीमा मोदीप्रतिको आवेग झनै बढेर आएको छ । त्यतिमात्र नभएर युरोप भ्रमणका क्रममा युरोपेली संघलाई उचालेर नेपालको संविधानविरुद्ध विज्ञप्ति निकाल्न लगाउने यिनै मोदी हुन् । जसले आफू प्रधानमन्त्री भएको समयमा नेपाल भ्रमणका क्रममा नेपालीको मन जित्न सफल भएका थिए तर बाहिर कालो खोल ओडेर ।

तत्कालिन नेपालको संविधानसभामा बुद्धको देश नेपालभन्दै नेपालीको मन जितेका मोदीले त्यसपछिका दिनमा नेपाल र नेपालीका लागि त्यस्तो कुनै कार्य गर्न सकेनन् जसले उनीप्रति नेपालीमा माया, सद्भाव, छिमेकीप्रति हुनुपर्ने आफनत्तो जागोस् । उनले नेपालबाट कमाए त केवल तृष्णा र तिरस्कार, खाए त केवल गाली र गलौच, पाए त केवल श्राप अनि कहलिए त केवल नेपालको दुष्मन । यस्तोमा मोदी नेपाल आउनु पक्कै पनि कुनै पनि नेपालीका लागि असह्य हुनेछ ।

यतिमात्र होइन नेपालमा आएर ‘बुद्धका देश नेपाल’ भन्दै तत्कालिन संविधानसभामा नेपालीमै भाषण गरेका मोदीले पछि विदेश भ्रमणका क्रममा ‘बुद्धका देश भारत’ भन्दै भाषणा ठोके । जसका कारण नेपालीले ‘बुद्ध वाज बोर्न इन नेपाल’ भन्दै अभियान नै चलाउनुपर्यो ।

जसरी भारतमा ताजमहल छ र ताजमहलको देश भारत भनेर भन्न सकिन्छ त्यसैगरी नेपालमा जन्मिएका बुद्धलाई बुद्धको देश नेपाल भनेर संसारलाई चिनाउनुपर्ने हामीलाई कुनै आवश्यकता थिएन । तर, मोदी र भारतकै कारण अहिले हामी हाम्रै देशमा जन्मिएका बुद्धलाई विश्वसामू बुद्धको जन्म नेपालमा भएको हो भन्दै चिनाउँदै छौँ । हेर्नुस् त नेताबाट ठगिएका हामी जनता कति अभागी रहेछौँ । यो आफैमा सबै नेपालीका लागि अपसोचको कुरा हो । अनि भारतजस्तो खराब छिमेकी हुनुको प्रतिफल हो ।

त्यसो त भारत आफैमा खराब राष्ट्र होइन । भारतले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । विभिन्न क्षेत्रमा लागानी गरेको छ । तर, त्यसमा कही न कतै भारतको स्वार्थ लुकेको छ । विना स्वार्थ नेपाल र नेपालीका लागि भारतले नत अहिलेसम्म केही गरेको छ न केही गर्ने छाटकाँट देखिन्छ ।

भारतको स्वार्थ भनेको नेपालको राजनीतिमा हस्तक्षेप जमाउनु मुख्य हो । ऊ नेपालको राजनीति र राजनीतिक दललाई आफ्नो मुठिमा पार्न चाहन्छ । नेपालको सरकार आफै गठन गर्न चाहन्न जसले आफ्नो पक्षमा निर्णय गर्न सकोस्, आफूले बनाएको सरकारलाई आफ्ना लागि प्रयोग गर्न सकियोस् र आफ्नै पक्षमा निर्णय गर्न, विभिन्न सम्झौता गर्न सकियोस् । जसको उदाहरण हाल रहेको केपी शर्मा ओलीको सरकारबाट भारतले फाइदा लिन नसक्नुलाई एक हो । जसका कारण ऊ यो सरकार ढलाएर आफ्नै मोडलमा नयाँ सरकार बनाउन चाहन्छ ।

नेपालकै ९० प्रतिशत जनप्रतिनिधि मिलेर बनाएको संविधानलाई विश्वका हरेर देशले स्वागत गर्दा भारतमात्र यस्तो नमुना देश बन्यो जसले संविधानलाई गलत ठहर्यायो । मोदीले पटकपटक गर्ने ‘नेपालले आफ्नो देशको कुनै पनि विषयमा आफै निर्णय गर्न सक्छ, नेपालको स्वाभिमानमा भारतले हस्तक्षेप गर्दैन, हामी असल छिमेकी मित्रको भूमिका निर्वाह गछौँ ।’ लगायतका तर्कहरु नाटकमात्र हो भन्ने अहिले आएर नेपालीले बुझिसकेका छन् । जुनबेला भूकम्पको चपेटामा चुर्लुम्म डुबेको नेपालमाथि आलो घाउँमा नुन, खुर्सानी लगाएझै मोदीले नाकाबन्दी लगाए । आखिर विश्वले स्वीकारेको संविधान भारतका लागि किन यति असभ्य, अप्रिय र अपूर्ण ? हामीलाई पनि भारतको संविधान मन परेन । के ऊ हामीले भनेझै गरी भारतको संविधान संशोधन गर्न सक्छ । हामीलाई सुगौली सन्धी मन परेन के भारत खारेज गर्न सक्छ ?
भूकम्पका बेला काम थोरै गर्ने तर हल्ला धेरै गर्ने भारतको शैली मज्जैले देखियो । त्यतिबेला पनि ऊ नेपालमाथि हाबी हुन खोजिरहेको थियो । भारतीय संचारमाध्यमले नेपालका विषयमा छापेका समाचार पढ्दा लाग्थ्यो यदी भारत नेपालको साथमा हुदैनथ्यो त त्यससमय १४ जिललामा आएको भूकम्पले नेपालका ७५ वटै जिल्लाका मानिसलाई बेघर बनाउने छ र सबै भोको पेट हुनेछन् अनि मर्नेछन् त्यसपछि नेपाल देशको नाम निशान रहनेछैन । बुद्धलाई आफ्नो देशमा जन्मिएको भन्दै हल्ला फिजाउने भारतले नेपालको स्वाभिमानलाई चोर्न खोज्दैछ भने ऊ कसरी हाम्रो असली छिमेकी राष्ट्र हुनसक्छ । छिमेकीले त अर्को छिमेकीलाई सुरक्षा प्रदान गर्छ, भावनात्मक सम्बन्ध रहेको हुन्छ, सहयोग र सहकार्य रहन्छ, सीमाना मिच्ने होइन बरु त्यसको सही संरक्षण गर्छ नकी उसको कमजोरीको फाइदा उठाउँदै उसको अस्तित्व लुट्ने प्रयास गर्छ, सानो र शक्तिबिहीन देखेर बलात्कार गर्न खोज्छ र भन्छ ‘म निर्दोष छुँ ।
यी सबै हुँदा पनि मोदी नेपाल आउन तम्सिएका हुन् भने उनलाई सबै नेपालीको तर्फबाट म के भन्न चाहन्छु भने मोदी तिमी यस्तो गल्ती कहिल्यै नगर । पहिलो र दोश्रो पटक तिमी नेपाल आउँदा तिमीलाई यसअघिका भारतीय नेतृत्वकर्ता भन्दा फरक थानेका थियौँ त्यसैले तिमीलाई स्वागत गर्यो । हामी नेपाली हौँ पहिले कहिल्यै दुस्मनी मोल्दैनौँ, अथितीको सतकार गर्न जानेका छौँ तर अब नेपाली लाटा छैनन् । तिम्रो मिठो, लोभलाग्दो भाषणमा लोभिने छैनन् । तिमीलाई नेपालीले जसरी विश्वको प्रसिद्ध १०० को सूचिबाट हटाए त्यसैगरी तिमी ५०० मा समेत अट्न नसक्ने हुनेछौँ । त्यसैले नेपाल आउनुअघि एकपटक ख्याल गर है । तिम्रा आँखा अगाडि काला झन्डा मात्र देख्नेछौँ । जहाँ तिमीलाई दिनको उज्यालोमा पनि अन्धकार नजर आउनेछ । त्यसैले मोदी विचार गर है । फेरि हाम्रो स्वाभिमान लुट्न नआउ । अब नेपाली चुप लागेर बस्नेवाला छैनन् ।
kathmandutoday

news and entertainment