भूकम्पपीडितले सिंहदरबार घेर्ने

काठमाडौं: भूकम्पबाट प्रभावित भएका पीडितहरूले पुनर्स्थापना कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन्।

राजधानीमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर भूकम्पपीडित संघर्ष समितिले सरकारसँग पुनस्र्थापना कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको हो।


समितिका अध्यक्ष प्रदीपप्रसाद गौतमले आगामी १५ दिनभित्र पुनस्र्थापना कार्यक्रम कार्यान्वयनमा ल्याउन सरकारलाई अल्टिमेटम दिएका छन्।

'१५ दिनभित्रमा हाम्रो माग सुनुवाइ नभए कुटोकोदालो बोकेर सिंहदरबार घेर्छौं', अध्यक्ष गौतमले भने, 'उपत्यकाबाहिर र उपत्यकाभित्र रहेका सम्पूर्ण भूकम्पपीडितलाई ल्याएर सडकदेखि सिंहदरबार घेर्ने कार्यक्रम तय गरेका छौं।'

सरकारले सिंहदरबारमार्फत घोषणा गरेको राहत तथा पुनस्र्थापनाका कार्यक्रम पीडितसम्म नपुगेको गुनासो पोख्दै गौतमले राजनीतिक दलका नेतादेखि सरकारसम्मले पीडितको भावनासँग खेलबाड गरेको आरोप लगाए।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले एक वर्षसम्म राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनमा आउन नसक्नु लज्जास्पद भएको बताए।
annapurnapost

,

news and entertainment