'स्टार बन्नकै लागि जन्मेको म'
बलिउड अभिनेता शाहरुख खानका लाखौँ प्रशंसक छन् । फिल्म 'फ्यान'मा उनले सुपरस्टार र फ्यान दुवै भूमिका निर्वाह गरेका छन् । आफ्ना प्रशंसक र स्टारडमबारे एक भारतीय मिडियासँग शाहरुखले गरेको कुराकानीः
फिल्म इन्डस्ट्रीमा तपाईंले ठूलठूला फिल्म निर्मातासँग काम गर्नुभएको छ । मनीष शर्माजस्ता नयाँ निर्देशकसँग काम गर्नका लागि चाहिँ कसरी तयार हुनुभयो ?
यदि म नयाँ अभिनेत्रीहरूसँग काम गर्न सक्छु भने नयाँ निर्देशकसँग किन काम गर्न सक्दिनँ ? ब्रिटेनका पूर्वप्रधानमन्त्री विलियम पिटले भनेका छन्, 'कुनै मानिसको समझ, सिर्जनशीलता र परिपक्वतालाई उसको उमेरको आधारमा निर्धारण गर्नु सबैभन्दा अपरिपक्व सोच हो ।' म व्यक्तिगत रूपमा पनि यस कुरामा विश्वास गर्छु । त्यसैले उमेरले मेरा लागि अर्थ राख्दैन । मनीष युवा फिल्ममेकर हुन् । जो एउटा राम्रो फिल्म बनाउन चाहन्थे । सुरुवातमा मैले पनि यसरी नै अवसर पाएको थिएँ ।
जुही चावला मसँग काम गर्न तयार नभएको भए वा यश चोपडाले ममाथि विश्वास नगरेको भए म कहिल्यै हिरो बन्थिनँ । नयाँ मानिस नयाँपन लिएर आउँछन् । मनीष एक विशेष फिल्ममेकर हुन् । मलाई उनको फिल्म 'बैन्ड बाजा बारात' मन पर्छ । उनी सिर्जनशील फिल्ममेकर हुन् । फिल्म 'फ्यान'को जस्तो कथा त एउटा युवा फिल्ममेकर नै सोच्न सक्छ ।
यस फिल्ममा तपाईंले सुपरस्टारका साथै फ्यानको पनि भूमिका गर्नुभएको छ । वास्तविक जीवनमा तपाईं सुपरस्टार हुनुहुन्छ । यस भूमिकाका लागि कत्तिको उत्साहित हुनुहुन्थ्यो ? सुपरस्टारको भूमिका निर्वाह गर्नका लागि त तपाईंले आफ्नो स्टारडमलाई बिर्सनुप¥यो होला । आफूलाई 'अनलर्न' कसरी गर्नुभयो ?
सुपरस्टारको भूमिका गर्नका लागि उत्साहित किन हुनु ? म आफैँ सुपरस्टार हुँ । तर, यस भूमिकाका लागि आफूलाई 'अनलर्न' गर्नु चाहिँ सबैभन्दा बढी चुनौतीपूर्ण काम रह्यो । मैले सुपरस्टारको भूमिका गर्नु थियो तर शाहरुख खान लाग्नु थिएन । त्यसैले आर्यनको चरित्रमा धेरै रिटेक भए ।
सुपरस्टार भएकाले कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ होला । स्टार भएकाले केही काम गर्न नपाउनुको पीडा पनि त होला ?
धेरै मानिसले भन्छन् –'समुद्र किनारमा गएर पावभाजी खान वा घुम्न मन लाग्दैन तपाईंलाई ? सामान्य जीवन जिउन मन लाग्दैन ?' म भन्छु– मलाई सामान्य जीन मन पर्दैन । मलाई मेरा घरअगाडि धेरै मानिस भएको मन पर्छ । मलाई आफ्ना प्रशंसकको धेरै माया चाहिन्छ । मलाई स्टार भएकोमा कुनै गुनासो छैन ।
म भाग्यमानी छु, २५ वर्षयता स्टारको जीवन बाँच्न पाएको छु, स्टार भएर नै मर्न पनि चाहन्छु । यसबारे म स्पष्ट छु, मलाई अरू केही बन्नु छैन । स्टार भएकाले गर्न नसक्ने केही पनि छैन । बरु, अरूको तुलनामा म धेरै कुरा गर्न सक्छु । सुपरस्टार भएका नाताले केही गुमाउनु पनि परेको छैन । भगवान्ले मलाई स्टार बन्नका लागि नै बनाएका हुन् । म स्टार बन्नकै लागि जन्मेको हुँ ।
फिल्म 'फ्यान' सुपरस्टार र उसको फ्यानको कथा हो । तपाईं पनि कहिले कसैको फ्यान रहनुभएको होला ?
मलाई लाग्छ– फ्यान हुनु वा कसैलाई माया गर्नु एउटा भावनात्मक सोच हो । कसैलाई माया गर्नु, उसको सम्झनामा डुब्नु, उसका लागि सायरी लेख्नु, उसको तस्बिर काटेर टाँस्ने काम मैले कहिल्यै गरिनँ । यी सब गर्न मसँग समय नै थिएन । किनकि, बुबाको मृत्यु हुँदा म सानै थिएँ । बुबाको मृत्युपछि मैले आमाको मद्दत गर्ने प्रयास गरेँ । आमाको पनि मृत्यु भएपछि बहिनीको जिम्मेवारी ममाथि आयो । म कामको खोजी गर्न थालेँ । र, मुम्बई आएँ । घमण्डले भनेको होइन तर कसैको फ्यान बन्नअघि नै म स्टार बनेँ । तर, मलाई धेरै मानिस मन पर्थे । अमिताभ बच्चन, सायरा बानो, मुमताज, ऋषि कपुर, मदर टेरेसा, मोहम्मद अली, कपिल देव, यी सबैको म सम्मान गर्थें ।
आफ्ना प्रशंसक गुमाउने डर पनि लाग्छ कि ?
मलाई विश्वास छ– यस्तो कहिल्यै पनि हुने छैन । तर, मलाई वास्तविकता पनि थाहा छ, परिस्थिति सधैँ एकनास रहँदैन । जहिले जे पनि हुन सक्छ । मभन्दा ठूलठूला मानिसहरूसँग यस्तो भएको छ । तर, मैले आफूलाई यस वास्तविकताभन्दा टाढा राखेको छु । यस मामिलामा म एउटा नक्कली संसारमा बाँच्छु कि यस्तो कहिल्यै हुने छैन ।
यति नाम र दाम कमाइसकेपछि अब के गर्ने इच्छा छ ?
मानिसहरूलाई लाग्छ– म स्टारजस्तै व्यवहार गर्छु । यतिका वर्षदेखि मेरो जीवनशैली नै त्यस्तो भएकोले यस्तो हुन गएको हो । भन्ने हो भने वास्तविक जीवनमा म फकिर किसिमको मान्छे हुँ । आफूसँग भएको पैसाको आनन्द लिने मसँग समय नै छैन । जति पनि कमाउँछु, फिल्म बनाउनका लागि कमाउँछु । म र मेरो परिवारको जीवन एकदमै साधारण छ । व्यावसायिक रूपमा भन्ने हो भने अब म त्यही काम गर्छु, जसले मलाई बढी सन्तुष्टि दिन्छ र दर्शकलाई पनि । र, मेरा छोराछोरीले राम्ररी पढून् र उनीहरूको सपना पूरा गर्नमा मद्दत गर्न सकूँ भन्ने मेरो व्यक्तिगत चाहना हो ।
nagariknews