काठमाडौं, १३ वैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले डोटीमा पक्राउ परेका भारतीय प्रहरीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही गर्न माग गरेको छ ।
सोमबार अपरान्ह एक विज्ञप्ति जारी भारतको नांगो हस्तक्षेपविरुद्ध आन्दोलनको घोषणा गर्दै विप्लव माओवादीले नेपाल प्रवेश गरेका भारतीय प्रहरीका पाँच जनालाई भारत सरकारलाई बुझाउने गल्ती राज्यले नगरी अन्तर्राष्ट्रिय कानून र राष्ट्रिय कानूनबमोजिम कडा कारवाही गर्न माग गरेको हो ।
प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञप्तिमा पक्राउ परेका भारतीय प्रहरीलाई विना कुनै सजायँ भारत सरकारलाई बुझाउने गल्ती नगर्न चेतावनी दिएको छ ।
हेर्नुस् प्रेस विज्ञप्तिः
हिजो १० बजे पाँच जना एके–४७ अटोमेटिक हतियार बोकेको भारतीय प्रहरीको जत्था डोटी र अछाम जिल्लाको सीमानामा पर्ने चौखुट्टे इलाकामा पुगेको घटनाले हाम्रो पार्टी र स्वाभिमानि नेपाली जनताको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । उक्त घटना खेदजनक र आपत्तिजनक भएकोले हाम्रो पार्टी त्यसको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
अछामको नागरिकलाई पक्राउ गर्ने बहानाबाजीमा भारतीय प्रहरीको आधुनिक हतियारसहितको जत्था सीमाना क्रसगरी एउटा अञ्चलकै भूगोल पार गरी अर्कै अञ्चलको सीमानासम्म पुग्दा राज्यको कुनैपनि निकायलाई जानकारीसम्म नदिनु र नहुनुले स्वाधीन राष्ट्र र स्वाभिमानी नेपाली जनताको निम्ति असैह्य र अक्षम्य विषय भएको छ ।
यो भारतीय विस्तारवादी शासक वर्ग र त्यसको सुरक्षाशक्तिको हाम्रो स्वाधीन राष्ट्रमाथिको नाङ्गो हस्तक्षेप, बल मिच्चाई र हद दर्जको हेपाह रवैया हो । राष्ट्रको जीवनमा यत्रो दादागिरी मच्चाउँदा पनि राज्यका सञ्चालक र संसदवादी दलहरु चुँईक्कसम्म नबोल्नुले सरकार र संसदवादी दलका नेताहरुको दलाल, आत्मसमर्पणवादी, राष्ट्रघाती चरित्र र दास मनोवृत्तिलाई व्यक्त गर्दछ । उल्टै क्रान्ति, परिवर्तन, राष्ट्र र जनताको पक्षमा अनवरत संघर्ष गरिराखेका हाम्रो पार्टीका नेता क.माइला लामा, कार्यकर्ता चिरञ्जिवी ढकाल र झापाका सेक्रेटरी क. दिवसलाई यो सरकार झुठा मुद्दामा फसाउने, जेल हाल्ने र गिरफ्तार गर्ने काम लाजैै नमानी गरिराखेको छ । आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य र त्यसका संचालक भन्नेहरुको यो भन्दा फासिष्ट र निरंकुश रवैया अरु के हुन सक्छ ?
नेपाल राष्ट्रको स्वाधीनताको रक्षा गर्न, भारतीय सुरक्षा शक्तिको हस्तक्षेपलाई प्रतिवाद गर्न र अन्तर्राष्ट्रिय कानूनको पालना गराउन सशस्त्र रुपमा नेपाल प्रवेश गरेका भारतीय प्रहरीका पाँच जनालाई भारत सरकारलाई बुझाउने गल्ती राज्यले नगरी अन्तर्राष्ट्रिय कानून र राष्ट्रिय कानून बमोजिम कडा कारवाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।
यस घटनाको विरुद्धमा हाम्रो पार्टीेले आज बेलुका ४ बजे काठमाडौं उपत्यका, चितवन र महेन्द्रनगरमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुनका लागि आम स्वाभिमानी नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
dainiknepal
भारतीय प्रहरीलाई जेल हाल्न विप्लव माओवादीको माग, गल्ती नगर्न चेतावनी
news and entertainment