यस्तो बन्ने भो लुम्बिनी अञ्चलको शिक्षण अस्पताल, मास्टर प्लान बाहिरियो
लुम्बिनी अञ्चल अस्पतालले गराएको शिक्षण अस्पतालको मास्टर प्लानको स्क्रेच
– विकाश पराजुली
बुटवल, २८ चैत । पश्चिम व्यापारिक केन्द्रविन्दु बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालले अवरोधका बीच पनि अस्पताल विकासमा छलाङ मार्दै अगाडि बढेको छ ।
करिब १० महिनाको अवधिमा अस्पतालले अस्पतालको उत्तर तर्फ रहेको व्यवसायीक सटरहरुलाई टेण्डरमा लगि आयश्रोत बृद्धि गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले सडक पारीको करिव १ विगाह जग्गालाई टेण्डर प्रक्रियाबाट व्यवसायीहरुलाई भाडामा लगाई अञ्चल अस्पतालको आयश्रोतमा राम्रो बृद्धि भएको बताए । अस्पतालमा आफु सुपरिटेन्डेन भए पश्चात भएको गतिविधिका बारेमा जानकारी दिदै उनले टेण्डर प्रक्रियाबाट दुई बर्षको लागि भाडामा लगाउदा अव ४ गुणा भन्दा बढी आम्दानी हुने बताए । अस्पतालले अब बार्षिक १ करोड ५८ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्नेछ ।
अस्पतालमा विरामीको संख्या बढि हुँदा वाडको अभावका कारण ईमर्जेन्सीमा विरामी राख्नुपर्ने समस्याबाट पनि अब अस्पताल मुक्त हुने भएको छ । अस्पताले अब केही दिनमानै मेडिसिन विभागलाई नव निर्मित तल्लामा स्थानान्तरण गरी व्यवस्थापन गर्ने भएपछि यो समस्या समधान हुने उनले बताए ।
उनले भने–“अस्पतालमा प्रसुती कक्षमा बेड अभावमै सेवा दिन अप्ठयारो भएको अहिलेको स्थिती प्रसुती कक्ष माथी नवनिर्मित कक्षमा राख्ने भएकाले अब त्यो समस्या छिट्टै समधान हुनेछ । ”
उनले प्रसुती कक्षमा ५० बेडजति थप हुने बताए । उनले अस्पतालमा जन्मेका बच्चाहरुलाई हुने आकस्मिक अवस्थालाई उपचार तथा व्यवस्थापन गर्न ८ बेडको एनआईसियु सेवा जेठ महिना भित्रै सञ्चालन गर्ने योजना रहेको बताए ।
५ सय बेडको शिक्षण अस्पताल बनाउने मास्टर प्लान
अस्पतालका भवनहरु निकै जिर्ण र अव्यवस्थित ढङ्गका समयसापेक्ष वैज्ञानिक स्तरका नभएको भन्दै अस्पतालले शिक्षण अस्पतालको परिकल्पना गर्दै मास्टर प्लान बनाएको छ । बढ्दो सेवाग्राहीहरुको चापलाई अहिलेको सेवाले थेग्न नसक्ने भन्दै अस्पताल परिसरको जग्गालाई ५ सय बेड सम्मको शिक्षण अस्पताल बनाउने मास्टर प्लान बनाइएको अस्पतालले जनाएको छ । सो अस्पताल निर्माणका लागि करिव २ अर्ब ५९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
आईटि क्षेत्रमा अस्पतालको फड्को
पछिल्लो समय अस्पतालले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै आईटी क्षेत्रमा पनि प्रवेश गरेको छ । कुनै समय हातलले लेखेर काम चलाउने अस्पतालले अहिले भने सफ्टवेयर प्रणालीबाट कामबारबाही अगाडि बढाएको छ । अस्पतालले अहिले काउण्टर मा सफ्टवेयर जडान गरेको छ भने मेडिकल रेकर्ड शाखामा पनि सफ्टवेयर राखिएको छ । जसले स्वास्थ्य सेवा संग संम्बन्धित अभिलेख व्यवस्थित गरेको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
अस्पतालले चालु आ.व मा ल्याव मा सफ्टवेयर राखी सफ्टवेयर बाट नै रिपोर्ट दिने तथा सेवाग्राहीले आफैले कम्प्यूटर वाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने कम्प्युटराईज स्टमको व्यवस्था गर्न लागिएको उनको भनाई छ ।
त्यस्तै चालु आ.व.मा स्टोर औषधिे समेत सफ्टवेयर राखी अभिलेख चुस्त दुरुस्त राख्ने व्यवस्था गर्न लागिएको उनले बताए ।
सामाजिक सेवा ईकाइ स्थापना
लुम्बिनी अञ्चल अस्पतालले आईतबार देखि सामाजिक सेवा ईकाईबाट सेवा सुरु गरेको छ । सामाजिक सेवा ईकाईको एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले उद्घाटन गरे ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय सामाजिक सेवा ईकाई स्थापना तथा सञ्चालन निर्दे्शिका २०६९ अनुसार तोकिए वमोजिम सामाजिक सेवा ईकाई स्थापना गएिको हो ।
गरिव, असाहय अपाङ्ग, जेष्ठ नागरिक, लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिका र स्वास्थ्य स्वयमसेविकाहरुलाई निःशुल्क सेवा दिने राज्यको नीति अनुरुप अस्पतालले सामाजिक सेवा इकाईबाट सेवा प्रदान गर्नेछ ।
तोकिएका नागरिकहरुलाई उनीहरुको परिचय खुल्ने सिफारिसका आधारमा र तोकिएका नागरिक वाहेक अस्पतालको ओपीडीमा आएका बिरामीहरु र विभिन्न वार्डमा भर्ना भएर बसेका बिरामीहरुलाई आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको फेला परेमा अस्पतालकै सिफारिसमा पनि निःशुल्क उपचार गर्ने लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।
सामाजिक सेवा ईकाई लुम्बिनी अञ्चल अस्पतालमा नवौ हो । देशका अन्य विभिन्न ८ वटा अस्पतालहरुले यो सेवा दिइरहेका छन् ।
dainiknepal
