सुरुङ्गामा नयाँ बोर्डिङको भवन शिलान्यास

सुरुङ्गा / बन्दमुक्त शान्ति क्षेत्रको रुपमा रहेको सुरुङ्गा शैक्षिक नगरीको रुपमा पनि विकसित हुँदै गएको छ । पूर्व–पश्चिम राजमार्गदेखि ९ सय मिटर उत्तर कनकाई नगरपालिका–२ सुधीरमार्गस्थित झर्नाबस्तीमा ३ बिगाहा जमिनमा १० करोडको लगानीमा सुविधासम्पन्न अंग्रेजी माध्यममा पठनपाठन हुने निजी विद्यालय स्थापना हुने भएको हो । सोमबार कार्यक्रमका प्रमुख अतिथि दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति खड्ग खरेलले पञ्चकन्याका साथ वैदिक विधिपूर्वक विद्यालयको भवनको शिलान्यास गरे । प्रमुख अतिथि खरेलले स्थापित गरिने जीवनज्योति अंग्रेजी विद्यालयले सबै पूर्वाधार पूरा गरी झापाको नमूना विद्यालय बन्ने आशा व्यक्त गरे । भवन निर्माण सम्पन्न भएपछि शैक्षिक सत्र २०७५ देखि उक्त विद्यालय सञ्चालनमा आउने जनाइएको छ ।



शुरुमा कक्षा ७ सम्म सञ्चालन गरी भविष्यमा स्नातकोत्तर तहसम्म पढाइ हुने शैक्षिक केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको सञ्चालकहरुको भनाइ छ । विद्यालयका ७ जना सञ्चालकहरु गोपाल सिटौला, टेकनारायण संग्रौला, युवराज अधिकारी, दिनेश शिवाकोटी, मनोज शिवाकोटी, यादव शर्मा धिताल र मलिना श्रेष्ठ रहेका छन् । समाजसेवी तथा शिक्षासेवी व्यक्तित्वहरु ख्याम ओली, हरिप्रसाद तिम्सिना, त्रिलोचन चिमरिया, प्रचण्ड सुब्बा, टीकाकुमार पोखरेल लगायतको आतिथ्य रहेको शिलान्यास कार्यक्रममा गोपाल सिटौलाको अध्यक्षता र युवराज अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने लक्ष्मीप्रसाद अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपीचन्द्र मिश्रले गरेका थिए ।
purbelinews

,

news and entertainment