माल पाएर चाल पाएन सरकाले : २० करोड रुपैयाँको राहतको चामल झापाका गोदामा सड्दै

सुरेन्द्र भण्डारी / बिर्तामोड – गत वर्ष गएको विभासकारी भुकम्पबाट पीडित बनेकाका लागि बङ्लादेश सरकारले सहयोगका लागि खाद्य सामाग्री पठाएपनि सरकारी उदासिनताका कारण ती सामाग्री झापाको गोदाममा सड्ने अवस्थामा पुगेको छ ।भुकम्प पीडितलाई पठाइएको राहत सामाग्री(चामल ) झापाका ५ वटा गोदाममा चामल कुहिने थालेको छ ।



चामल कुहिन थाल्दा समेत सरकारले उक्त राहतको चामल भुकम्प पीडितलाई वितरण गर्न सकेको छन ।गत वर्षको बैशाख २४ गतेदेखि राहतका लागि भनेर बंगलादेश सरकारले पठाएको करीब १० हजार मेट्रिक टन चामलमध्ये अधिकांश चामलका वोरा झापाका गोदामहरुमा थन्किएका छन् । खाद्य संस्थान मेचीको गोदाममा हाल २० करोड रुपैयाँ भन्दा बढीको चामल सड्ने अवस्थामा पुगेको श्रोतले बतायो ।

भुकम्पबाट पीडितभएकाहरुका लागि बंगलादेशले राहत स्वरुप पठाएको चामल एक वर्ष पुग्दासमेत वितरण नहुँदा गोदाममा नै सड्ने अवस्थामा पुगेको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय मेचीले चामल सड्नबाट जोगाउन बिभिन्न औषधि राख्दै जोगाउँदै आएको भए पनि यसरी लामो समयसम्म चामल सुरक्षित हुन नसक्ने पनि जनाएको छ ।

Riceखाद्य संस्थान केन्द्रीय कार्यालयमा पनि पटक पटक चामल आपूर्ति गर्ने स्थान पहिचान गरी निर्देशन गर्न आग्रह गरेको भए पनि निर्देशन नआउँदा चामल गोदाममानै राख्नु परेको अञ्चल कार्यालय प्रमुख मार्कन्डेयप्रसाद जैसवालले बताएका छन् । उनले चामल अझैसम्म खानका लागि योग्य नै भएको दाबी गरे । तर उक्त चामल सडेर खान नहुँने भएको संस्थाका एक कर्मचारीले बताए । उनले चामलमा विभिन्न औषधि प्रयोग गरेर जोगाइएपछि त्यस्तो चामल स्वास्थ्यका लागि लाभदायक नहुने बताए ।

बंगलादेशबाट आएको ६० हजार ८ सय ६१.५ क्विन्टल चामल खाद्यसंस्थानले विर्तामोड र चन्द्रगढीका पाँचओटा गोदाममा थन्क्याएर राखेको छ । विर्तामोडका चार वटा गोदाममा ५२ हजार ५ सय ५१.५ क्विन्टल र चन्द्रगढीको गोदाममा ८ हजार ३ सय १० क्विन्टल एक वर्षदेखि थन्किएर रहेको प्रमुख जैसवालले जानकारी दिए । उनले माथिल्लो निकायले आदेश नदिएकाले गोदाममा नै चामल राख्नुपरेको बताए । उनले भने–राहतको चामल पहिला पनि राख्न माथिदेखि नै आदेश आयो, अहिले लैजान पनि माथिकै आदेश पर्खेर बसेका छौं ।

आदेश आएमा आफुहरु चामल दिन कुनै समस्या नभएको उनको कथन थियो । बंगलादेशले भुकम्प पीडितका लागि ९९ हजार ९ सय ८२.५ क्विन्टल चामल राहत स्वरुप प्रदान गरेको थियो । भुकम्पबाट बढी प्रभावित जिल्लाका पीडितहरु १ वर्ष बितिसक्दासमेत राहतकै अभाव कष्टकर जीवन बिताई रहनु परेका बेला उनीहरुकै लागि बंगलादेशबाट आएको चामल झापामा गोदाममा कुहिने अवस्थामा पुग्नु दुखद कुरा भएको सरोकारवालाको भनाई छ ।

यता झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफूहरुले केन्द्रमा लिखित र मौखिक रुपमा जानकारी गराएपनि के कारणले प्रभावित क्षेत्रमा चामल पुग्न नसकेको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । उनले चामल बिग्रेला भनेर माथिल्लो निकायलाई सचेत गराइसकेको उल्लेख गरे ।
purbelinews

,

news and entertainment