२०७३ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाइने
आउँदो वर्ष २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने सरकारको तयारी, शिथिल बनेको पर्यटन उद्योगले गति लिने विश्वास
सरकारले आउँदो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने भएको छ । नेपाल पर्यटन बोर्डको समन्वय र निजी क्षेत्रको सहभागितामा २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने तयारी भएको हो ।
बाह्य पर्यटक लक्षित कार्यक्रम मात्रै सञ्चालन भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटक लक्षित कार्यक्रम गर्ने तयारी गरेको हो ।
वैशाख १२ गतेको भूकम्प र भारतीय नाकावन्दीले पर्यटन उद्योग शिथिल बनेको भन्दै पर्यटन क्षेत्रको गतिविधि बढाउन २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने गृहकार्य भएको छ ।
काठमाडौं बाहेकका पोखरा, चितवन, लुम्बिनी, बन्दिपुर, दोलखा, बर्दिया, इलाम, कोशि टप्पु लगायतका पर्यटकीय क्षेत्रलाई मुख्य लक्षित गरी कार्यक्रम गर्ने तयारी भइरहेको छ । आन्तरिक पर्यटक बढाउन निश्चित ठाउँका लागि सेवा सुविधा तथा छुटको व्यवस्था गरिनेछ ।
यस्तै, घुम्न प्रेरित गर्ने खालका प्रचारात्मक कार्यक्रम पनि गर्ने तयारी छ । दसैं तिहारलगायत मुख्य बिदामा छुट्टी मनाउनका लागि विशेष प्याकेजसहितको अभियान थालिने मन्त्रालयले जनाएको छ ।
News24Nepal
