बुद्ध जयन्ती नेपालमा मनाउन चाहेको भारतीय प्रधानमन्त्री मोदीको इच्छा
कोलकाता, १७ बैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती नेपालको लुम्बिनीमा मनाउन चाहेको बताएका छन् । कोलकातामा आधारित पत्रिका द टेलिग्राफका अनुसार मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको जनाएका छन् । भारतीय जनता पार्टी बीजेपी स्रोतलाई उद्धृत गर्दै द टेलिग्राफको अनलाइन संस्करणले सो ठोकुवा गरेको हो ।
नेपाल सरकारले प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मे २१ मा आयोजना हुने बुद्धजयन्तीमा सहभागी हुन निम्तो दिएको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री मोदीको नजिकको स्रोतले जनाएअनुसार प्रधानमन्त्री कार्यालयले नितिश कुमारलाई यसबारे पत्र लेख्नेछन्। प्रोटोकलको इस्यु हुँदाहुँदै पनि मोदीले यसमा आफूलाई नरम रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन्। मोदीले फोन या पत्रमार्फत नितिश कुमारसँगै नेपाल जाने कुरा गर्नेछन्।
विहार मुख्यमन्त्रीको कार्यालयले भने पछिल्लो घटनाक्रमको विकासबारे जानकारी नभएको जनाएको छ।
नाकाबन्दीपछि पछिल्लो समय नेपालसँगको आपसी सम्बन्ध चिसिएको छ। यही बुझेको भारतले सम्बन्ध सुधारका रुपमा यो भ्रमणलाई लिएको बुझिन्छ। यो भ्रमणले मोदी र नितिश कुमारको सम्बन्धमासमेत सुधार हुन अपेक्षा गरिएको छ ।
aajakokhabar
