जातमा अल्झिँदा देशले दुःख पाउँछ : यश कुमार

जातमा अल्झिँदा देशले दुःख पाउँछ : यश कुमार
उनको असली नाम सुरेशकुमार नेपाल परियार हो। तर, दर्शक/स्रोतामाझ उनी यश कुमारका रूपमा परिचित छन्। 'म आफ्नै आँगनमा इनार बनाउँछु', 'मैले छोएको पानी चल्दैन' उनका सर्वाधिक रुचाइएका छुवाछूत विरुद्धका गीत छन्। उनले निर्माण गरेको फिल्म 'बाटोमुनिको फूल' पनि भेदभावविरुद्ध नै छ। अहिले त्यही फिल्मको सिक्वेल 'बाटोमुनिको फूल–२' प्रदर्शन भइरहेको छ। यश कुमारसँग धनबहादुर खड्का र अनिल यादवले गरेको कुराकानीः


तपाईंका प्रायः गीत र फिल्मले छुवाछूत र जातीय भेदभावको विषय उठाइरहेका हुन्छन्। यस्तै गीतले तपाईंलाई चर्चा पनि दिलायो। गीत बिकाउन सजिलो हुन्छ भनेर यस्तो विषयलाई निरन्तरता दिनुभएको हो?
यो विषयवस्तु काल्पनिक थियो भने चाहिँ बेच्न खोज्या हो भन्दा सुहाउँथ्यो। तर, यथार्थमा त अझै पनि छुवाछूत यथावत् नै छ हाम्रो समाजमा। अझै पनि बाँकी रहेछ भनेर नै मैले पनि कोसिस गरेको हुँ। नत्र त यस्तो फिल्म बनाएर कहाँ पैसा कमाइन्छ र? पैसा कमाउनलाई त छाडा फिल्म पो बनाइन्छन्। होइन र?

मनोरञ्जनको दुनियाँमा यस्तो विषयवस्तुमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ। तपाईंलाई के कुराले यसरी छोएको छ, जसकारण निरन्तर तपाईं यही विषयमा लागिरहुनभएको छ?
काठमाडौंँमै हुर्किएकाले मैले आफैँले त भोगेको छैन। तर, देखेको छु, सुनेको छु। हाम्रो समाजमा बढी चर्चा हुने विषयमध्ये यो पनि एक हो। यहाँ अधिकार माग्नेले मागिरहेका छन्। तर, माग्ने काममात्र भइरहेको छ। पाउनेले पाइरहेका छैनन्। भेदभाव र छुवाछूतका घटना सुन्दा मेरो मन पोल्छ। त्यसैले यसविरुद्ध लागिरहेको हुँ।

तपाईंका आमाबुबाले अन्तरजातीय बिहे गर्नुभएको हो। फिल्म 'बाटोमुनिको फूल–२'मा पनि त्यस्तै देखाइएको छ। यो फिल्म तपाईंको जीवनसँग कति नजिक छ?
फिल्म मेरो यथार्थसँग धेरै नजिक छ। तर, फिल्मलाई मनोरञ्जनात्मक बनाउनका लागि काल्पनिक कुरा पनि राखिएका छन्।

जातकै कारण फिल्मका आमाबुबाले गरे जस्तो संघर्ष वास्तविक आमाबुबाले पनि पक्कै गर्नुभयो होला!
अहिले त यस्तो अवस्था छ भने त्यतिबेला त 'ब्ल्याक एन्ड ह्वाइट' जमाना थियो। एकदमै भयावह अवस्था थियो होला। मलाई त दुःख पाएको कथा त्यति भन्नुभएको छैन। त्यतिखेर सहज थिएन भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। मेरो बुबा बाहुन र आमा परियार हुनुहुन्छ। आमा परियार भएकै कारण बुबा गाउँ (काभ्रे) छाडेर सर्लाही पुग्नुभएको थियो। म त्यहीँ जन्मिएँ। त्यसपछि काठमाडौँ आइयो। अहिलेसम्म मामाघर गइएको छैन। न हामीलाई कहिल्यै त्यहाँबाट बोलाइयो, न हामी आफैँ गयौँ। त्यही भएर होला मलाई त मावल र मामामाइजूको अर्थ नै थाहा छैन।

छुवाछूतविरुद्ध सशक्त सुनिएको 'मैले छोएको पानी चल्दैन', 'म आफ्नो आँगनमा इनार बनाउँछु' जस्ता गीतले तपाईंलाई हिट बनायो। त्यस्ता केही घटना छन् जसले तपाईंलाई यस्ता गीत गाउन प्रेरित गर्छन्?
एउटा घटनाभन्दा पनि समाजको यथार्थ छ गीतमा। मलाई लाग्छ– माया भनेको त्याग हो। पाउने मात्र चाहना राख्नु त स्वार्थ भइहाल्यो नि। 'मैले छोएको' गीत तल्लो जात भनेर हेपिएकाहरूको आवाज हो। गीतमा एउटा तल्लो जातको केटालाई माथिल्लो जातको केटीले मन पराउँछे। तर, केटाले म यस्तो समाजमा बाँचिरहेको छु, जहाँ मेरो महŒव नै छैन भन्न खोजिरहेको छ। उसले आफूले बाँचेकोे जनावरको जस्तो जीवन र पीडा तिमीलाई भोग्न दिन्न भनिरहेको छ। मसँग बिहे गरे यो समाजले तिमीलाई पनि घृणा गर्छ भनेर सम्झाउन खोजिरहेको छ। 'म आफ्नै आँगन' गीतले अरूको धारामा पानी लिन जान पाउँदिनँ भने किन जानुपर्योर? म आफ्नै आँगनमा इनार बनाउँछु भनिरहेको छ।

'मैले छोएको पानी चल्दैन' गीत ल्याउँदा समाजमा भेदभाव भयानक थियो। संगीतमा भविष्य बनाउन आएको तपाईंलाई त्यो समयमा यस्ता गीत ल्याउँदा स्रोताले अस्वीकार गर्लान् भन्ने डर लागेन?
म संगीतमार्फत अलिकति पहिचान बनाउन चाहन्थेँ। मायापिरतीका गीतमात्र कति गाउने? मलाई गीतबाट सन्देश पनि दिन सकिन्छ भन्ने लाग्थ्यो। गन्धर्व दाजुभाइले गाउँ–गाउँमा गएर गीतमार्फत सन्देश फैलाउँथे। त्यसैले मैले पनि प्रेमगीतमार्फत समाजमा भएका यथार्थलाई प्रस्तुत गर्ने कोसिस गरेँ। फरक खालको काम गर्नका लागि अलिकति रिस्क त उठाउनैपर्छ। जातीय सद्भाव भड्किन्छ भनेर केही मिडियाले मेरो गीत नबजाएको पनि हो। तर, धेरै स्रोताले मन पराइदिए। र, गीतले मलाई हिट बनाइदियो।

तपार्इंले सुरुदेखि नै आफूलाई यश कुमारको नामबाट चिनाउनुभयो। समाजको डरले त होइन कतै?
जुन चिज लुकेको हुन्छ, त्यसमा बढी 'क्युरिओसिटी' हुन्छ। म सधैँ भन्छु– 'कलाकारको कुनै जात हुँदैन।' किनकि, मेरा गीत एउटा जातले मात्र सुन्दैन। म पनि एउटा जातका लागि मात्र गाउँदिनँ। सबैका लागि गाउँछु। त्यही कारण मैले जात नलेखेको हुँ।

संगीत र फिल्ममार्फत तपार्इंले चलाएको आन्दोलनबाट केही परिवर्तन महसुस गर्नुभयो?
धेरै महसुस गरेको छु। विशेष गरी युवा जमातले धेरै सकारात्मक रूपमा लिएका छन्। 'तपाईंले त संगीतमा आन्दोलन नै ल्याउनुभयो' भन्छन्। 'तपाईंको फिल्म मनोरञ्जनमात्र नभएर एउटा किताब नै हो' भन्नेहरू पनि भेटेँ। यस्तो कुरा सुन्दा खुशी लाग्छ।

तपाईंका गीत र फिल्मबाट प्रभावित भएर अन्तरजातीय बिहे गरेको भन्ने फ्यान पनि भेट्नुभएको छ कि?
धेरै भेट्या छु। तपाईंको गीत सुनेर विक, परियारसँग बिहे गरेको छु भन्ने फ्यान धेरै भेटेको छु। एक वर्षअघि कार्यक्रमका लागि हेटौँडा पुगेको थिएँ। एकजना युवती मेरो छेउमा आइन्। 'तपार्इंलाई हग गरूँ?' भनिन्। मैले 'हुन्छ' भनेँ। उहाँसँग एकजना पुरुष पनि थिए। उहाँले पनि मलाई अँगालो हाल्नुभयो। उहाँहरूबारे सोध्दा भर्खरै बिहे गरेको जोडी रहेछ। ती युवतीले भनिन्– 'तपाईंको फिल्मले एकदमै छोयो। बिहे गर्ने आँट आयो र हामीले अन्तरजातीय बिहे गर्यौँह।'

फिल्म र संगीत परिवर्तनका बलिया माध्यम हुन्। कत्तिको सहयोग पाउनुभएको छ?
हो। फिल्म र संगीतका माध्यमबाट ठूलो परिवर्तन ल्याउन सकिन्छ। तर, अहिलेसम्म कुनै एनजीओ वा आईएनजीओबाट मैले सहयोग पाएको छैन। मैले जे सिर्जना बजारमा ल्याएको छु, त्यसमा मेरो आफ्नै लगानी छ। भलै ऋण गरेर ल्याएँ होला। त्यो भित्री पीडा मभित्रै छ। सिर्जनाका माध्यमबाट मैले प्रस्ट्याउन खोजेको कुरा 'यो जात, त्यो जात भनेर नबसौँ, देशले दुःख पाउँछ' भन्ने हो। जातमा अल्भि्कयो भने सिंगो देशले दुःख पाउँछ।

'बाटोमुनिको फूल–२'मा तपाईंलाई समाजदेखि निरुत्साहित भएर परिवर्तनवादी गीत निकाल्न छाडेको गायकका रूपमा देखाइएको छ। यथार्थमा पनि तपार्इं पहिलेजस्तो सक्रिय हुनुहुन्न नि!
अलि–अलि निरुत्साहित त भएकै हुँ। मलाई लाग्छ– यो मेरो मात्र टाउको दुखाइको विषय होइन। मैले दलित वर्गलाई परिवर्तन गर्न गरेका सिर्जना होइनन् ती। जो पीडित छ, उसलाई किन परिवर्तन गर्नु मैले? मैले त गैरदलितलाई पो परिवर्तन गर्न खोजेको हुँ। यहाँ दलितको समस्यालाई राष्ट्रको समस्या ठानिँदैन। मात्र दलितको ठानिन्छ। मैले संगीतमार्फत पनि यही समस्यामा जोड दिएँ। फिल्ममा पनि यसलाई नै निरन्तरता दिएँ। तर, अब बारम्बार यही विषय उठाउँदिनँ। यो मेरो अन्तिम प्रोजेक्ट हो।

तपार्इंका अन्य कमर्सियल खाले सिर्जनाहरू ओझेलमा परेका हुन्?
खोइ, मैले बुझ्न सकिरहेको छैन। म त अन्य खाले गीत पनि ल्याइरहेको छु। तर, किन स्वीकार्य भएन? मलाई थाहा छैन। त्यही भएर म दर्शकले चाहे अनुरूप नै अघि बढिरहेको छु।

गायक भएको दशकपछि तपाईं अभिनेता बन्नुभयो। यो तपाईंको योजना थियो या संयोग?
संयोग नै हो। अभिनेता बन्ने मेरो चाहना थिएन। 'बाटोमुनिको फूल'मा मैले खेलेको दलित युवाको भूमिका पनि संयोगवश नै हो। मलाई हेरेर कथा लेखिएको थिएन। तर, निर्देशकज्यूले तपाईं खेल्दा राम्रो हुन्छ भनेपछि खेलेको हुँ। पछि फिल्म हिट भइदियो। त्यसपछि यसको सिक्वेलमा पनि निरन्तरता दिएको हुँ।
nagariknews

,

news and entertainment