धुर्मुस–सुन्तली बनाउँदै अर्को बस्ती
धुर्मुस–सुन्तली बनाउँदै अर्को बस्ती
काठमाडौं-हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले दोस्रो एकीकृत बस्तीको शिलान्यास गरेका छन् । भूकम्प गएको वर्ष दिन पारी उनीहरुले आइतबार मेलम्ची ८, गिरानचौरमा दोस्रो एकिकृत बस्तीको शिलान्यास गरेका हुन् ।
बस्ती निर्माणको काम थालनी स्वरुप गिरानचौर एकिकृत बस्तीमा सामुदायिक भवनको जग शिलान्यास गरिएको हो । यसअघि विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडागाउँमा पहिला एकीकृत नमूुनाबस्ती बनाएका थिए ।
गिरानचौरमा रहेका ६५ परिवारका लागि करिब ६ महिनाभित्र एक घर, एक धारो, एक चर्पी, एक बगैंचा लगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ । गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउन्डेसनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुनाबस्ती बनाउने अभियानमा लागेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।
साढे तीन करोड अनुमानित लागत रहेको बस्ती निर्माणको थालनी गर्दा अहिले फाउन्डेसनको खातामा जम्मा एक लाख ७४ हजार रुपैयाँमात्र रहेको फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पूरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरानचौर एकीकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनले बताइन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदानमार्फत् पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउन्डेसनले जनाएको छ ।
nagariknews
