विद्युत् प्रयोग नगरी भेरीको पानी तानेर सिँचाइ

जाजरकोट, सदरमुकामसँगै जोडिएको रिम्ना गाउँमा जमिन धेरै भएपनि सिँचाइ सुविधा नहँदा स्थानीयवासी हैरान भएका थिए । अहिले पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाको सहयोगमा भेरी नदीबाट पानी तानेर सिँचाइ भए पछि स्थानीयवासीमा खुसी छाएको छ ।





सिँचाइ सुविधा नहुँदा यहाँका स्थानीयवासी आफ्नो खेतबारी बाँझै राखेर आयातीत वस्तु खरिद गरी खान बाध्य भएका थिए । अहिले भेरीको पानी वर्षा पम्पबाट आफ्नै खेतबारीमा चौबिसै घन्टा पुगेपछि स्थानीयवासी अन्नबाली रोप्ने तयारीमा छन् । यो पानीले यहाँका २४ घरधुरी कृषकले फाइदा लिएका छन् ।

जिल्लामै पहिलो पटक भित्रिएको यो प्रविधिले भेरी नदीको पानी तानेर सिँचाइ सुविधा पु¥याएपछि रिम्नाका कृषक निकै खुसी भएका छन् । पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजना उपापले खेतीयोग्य जमिन भएको तथा सिँचाइ सुविधा नभएको क्षेत्रका कृषकको जीवनस्तर उकास्ने उद्देश्यले उक्त पम्प उपलब्ध गराएको हो ।

वर्षापम्प प्रविधि जडानपछि जाजरकोट–डोल्पा सडकभन्दा माथिपट्टि रहेको २२ रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । प्रतिसेकेन्ड ०।४४ लिटर पानी तान्न सक्ने क्षमता भएको मेसिनलाई कुनै अतिरिक्त इन्धन वा विद्युत्को आवश्यकता पर्दैन । नदीको पानीले पम्पमै जडान गरिएको पातालाई घुमाउने र त्यसपछि सजिलै पानी तान्न सकिने उपापका प्राविधिक बलबहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाता प्रतिमिनेट २५ फन्कासम्म घुम्छ र पानी फाल्ने गर्दछ । तीन लाख रुपैयाँको लागतमा उक्त पम्प ल्याइएको हो । पम्पले भेरी नदीको पानीलाई उचाइमा फालेर २०० मिटर उचाइसम्म सिँचाइ सुविधा पु¥याइरहेको विकको भनाइ छ । अहिले २०० मिटर सम्म मात्र पानी ल्याइएको भए पनि यो प्रविधिबाट करिब दुई किलोमिटर उचाइसम्म सिँचाइ सुविधा पु¥याउन सकिन्छ ।

सिँचाइ सुविधा नभएको तर खेतीयोग्य जमिन भएको ठाउँमा यो प्रविधि अति उपयोगी हुने देखिएको छ । इन्धनबिनै सजिलै पानी तान्न सकिने भएपछि कृषक निकै लाभान्वित भएका छन् । यो प्रविधिले आफूहरुले वर्षौं खेप्नु परेको सिँचाइ समस्या समाधान भएको अर्का कृषक रामबहादुर पुनको भनाइ छ । सिँचाइ सुविधा पुगेपछि मकै, गहुँ मात्र नभएर अन्य नगदी बालीमार्फत कृषकले लाभ लिन सक्नेछन् । खासगरी अब मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत आयआर्जन बढाउन सक्ने विश्वास लिइएको छ ।

पम्प सञ्चालन र व्यवस्थापन गर्न समिति गठन गरी उनीहरुकै निगरानीमा सञ्चालन गर्ने सहमतिसमेत भएको छ । २५ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन भएको जाजरकोटमा हाल १६ हजार ६९८ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । यसमध्ये चार हजार ९६९ हेक्टरमा वर्षभरि सिँचाइ सुविधा पुग्ने गरेको छ भने दुई हजार ९४२ हेक्टरमा आंशिक सिँचाइ सुविधा पुगेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । रासस

,

news and entertainment