रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्छ - सुवास नेम्वाङ

काठमाडौँ, १६ जेठ । विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मन्त्रिपरिषद्का अध्यक्षलाई प्रधानन्यायाधीशबाट राजीनामा दिएर वार्ताको वातारण बनाउन सुझाव दिनुभएको छ ।

विघटित संविधानसभाले बिहिबार  आयोजित ‘नयाँ संविधानसभामा महिलाका मुद्दा र चुनौती’ विषयको कार्यक्रममा उहाँले प्रधानन्यायाधीशलाई कार्यपालिकाको प्रमुख बनाउने कार्य लोकतान्त्रिक मूल्यमान्यता र शक्तिपृथकीकरणको विपरीत हो भन्दै राजीनामा दिएर वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।

निर्वाचन र नयाँ संविधान लेखको सुनिश्चितताका लागि दलबीच सहमति र एकता आवश्यक रहेको बताउँदै उहाँले भत्किएको प्रक्रियालाई जोड्न अब संविधानसभाको निर्वाचन नै एक मात्र उपाय हो भन्नुभयो ।  उहाँले भन्नुभयो – पछिल्लो समय दलहरुले आफ्नो भूमिकालाई असान्दर्भिक बनाएकाले लोकतन्त्रलाई पुनः बाटामा फर्काउन दलीय सहमति आवश्यक  छ ।

सो अवसरमा निवर्तमान सभासद् उषाकला राई, कल्पना राणा, सुप्रभा घिमिरे, निलम बर्मा, कलावती पासवान, दामा शर्मालगायतले  जनताले निर्वाचनमार्फत संविधानसभालाई समावेशी बनाएको भए तापनि महिलालाई भूमिकाविहीन तुल्याउँदा संविधानसभाले कुनै परिणाम नदिई विघटन भएको तर्क प्रस्तुत गर्नुभयो । अधिवक्ता इन्दु तुलाधरले ‘प्र्रस्तावित मस्यौदा संविधान र महिलाअधिकार’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो ।  कार्यपत्रमा अन्तरिम संविधानका उपलब्धि, प्रस्तावित मसयैदामा रहेको व्यवस्था तथा महिलासम्बन्धी विषयवस्तु समेटिएका छन् ।

news and entertainment