विस्फोटमा १० बालबालिकाको मृत्यु-अफगानिस्तान

काबुल (एएफपी), जेष्ठ २१ - अफगानिस्तानको राजधानी काबुलदेखि दक्षिणतर्फ पर्ने पाक्टिया प्रान्तको एक विद्यालय हाताबाहिर भएको आत्मघाती आक्रमणमा १० बालबालिकासहित १३ को मृत्यु भएको छ । पाकिस्तानी सीमा नजिकै आत्मघाती आक्रमणकारीले सैनिक गस्तीलाई लक्षित गरेका थिए । घटनामा दुई सैनिक र एक प्रहरीको पनि ज्यान गएको छ । २० जना घाइते भएका छन् । विद्यालय अघिल्तिरको बजारमा विस्फोट हुँदा बच्चाहरू खाजा खान बाहिर निस्केका थिए ।
यसैगरी, पूर्वी अफगानिस्तानको लाघमान प्रान्तको हकिम अबाद क्षेत्रमा सोमबार सडककिनार राखिएको बमसँग कार ठोकिँदा एकै परिवारको ७ को मृत्यु भएको छ । विस्फोटमा चार महिला, दुई बालबालिका र एक पुरुषको मृत्यु भएको प्रान्तीय सरकारले जनाएको छ । ती नागरिकहरू राजधानी काबुलदेखि ९० किलोमिटर पूर्वको एक क्षेत्रबाट दाउरा लिएर फर्किरहेका थिए । तालिवानीहरूले बारम्बार यस्ता आक्रमण गराउँछन् । सन् २०१२ मा तालिवानीको आक्रमणमा २ हजार  ७ सय ५४ नागरिकको ज्यान गएको थियो । उक्त अवधिमा ४ हजार ८ सय नागरिक घाइते भएका थिए ।

news and entertainment