ओलीले जनजातिलाई अपमान गरेको एमाले नेताको आरोप
२७ फागुन, काठमाडौं । नेकपा एमालेका युवा नेता राजेन्द्र राईले जनजातिबारे पार्टी नेता केपी ओलीले दिएको अभिव्यक्तिप्रति सार्वजनिकरुपमा आपत्ति जनाएका छन् ।
केपी ओलीको जानजातिलाई हेर्ने दष्टिकोण रोगी कि टङस्लिप ? भन्ने प्रश्न उठाउँदै राईले आफ्नो फेसबुक पेजमा सुविचारित वा टङस्लिप जे भए पनि जनजातिको अपमान भएको बताएका छन् । जनजाति साम्प्रदायिकताको विरोध गर्ने नाममा ओलीले दिएको अभिव्यक्तिले उनी जनजातिको अपमान गरेर आफैं जनजाति विरोधी साम्प्रदायिकताले ग्रसित देखिएको राईले बताए ।
जातविरोधी साम्प्रदायिकतासँगै जनजाति विरोधी साम्प्रदायिकता स्वीकार नभएको भन्दै राईले लेखेका छन्-’अशोक राई लगायतका नेताहरुले एमाले नछाडेको भए संविधानसभा चुनावमा एमाले पहिलो स्थान हासिल गर्न सक्ने थियो र केही विमति भए पनि साँचो कुरा हो, गम्भीरतापूर्वक र सम्मानजनक ढंगले छलफल गरेको भए अशोक राईले एमाले छाड्ने थिएनन् ।’
दिल्लीमा उपचाररत ओलीले कान्तिपुर दैनिक पत्रिकालाई मंगलबार दिएको अन्तवार्तामा जनजातिलाई ‘पाखुरा बलिया भएका जात’ भनेका थिए ।
के भनेका थिए ओलीले ?
यो ककस के हो ? यो भइरहेको राजनीतिलाई अराजनीतिक दिशातर्फ धकेल्ने प्रयास मात्र हो । कुनै दार्शनिक, सैद्धान्तिक, वैचारिक, नीतिगत आधारमा नभई जातीगत, साम्प्रदायिक विद्वेष तथा गठबन्धनमा चल्ने यस्तो ककस हामीलाई किन चाहियो ? मैले सुरुदेखि नै भन्दै आएको छु, यस्ता प्रकारका अराजनीतिक र अपेसागत गठवन्धनको कुुनै अर्थ छैन । हानिकारण संकीर्णवाद छ यसमा । सवा सय जनजातिको मिश्रति बसोबास रहेको र समाजिक बनोटको ऐतिहासिकता नै भिन्न भएको हाम्रो देशमा केही बलिया पाखुरा भएका आकारयुक्त जातहरुको बोलवाला मच्चाउने यो विषय कुनै अर्थ छैन ।
