एउटै गाउँमा दुई सयभन्दा बढी जुम्ल्याहा
९ फागुन, एजेन्सी - ६ हजार जनसंख्या भएको गाउँमा २०० भन्दा बढी जुम्ल्याहा बस्छन् भनेको सुन्दा सबै अचम्ममा पर्दछनन् । तर भारतको एउटा दुर्गम गाउँमा भने सयभन्दा बढी जुम्ल्याहा जोडी रहेका छन् । यो गाउँ हो भारतको अल्लाहबादको धुमानगन्ज । ‘जुम्ल्याहाको गाउँ’ भनेर समेत चिनिने उक्त गाउँमा २५० परिवार बस्दछन् । यहाँ ६ महिनादेखि ८० वर्षसम्मका जुम्ल्याहा छन् । गाउँका मोहम्मद रेहान


जुम्ल्याहामध्येका एक हुन् । इवा र तहा नाम गरेका उनका दुई छोरी पनि जुम्ल्याहा नै हुन् । यस्तो उदाहरण गाउँमा प्रशस्तै भेट्टाउन सकिन्छ । स्थानीयवासीका अनुसार दुई सय ५० वर्ष पुरानो यो गाउँमा यसरी भटाभट जुम्ल्याहा बच्चा जन्मिन थालेको करिब ८० वर्ष भयो । गाउँको माटो र हावापानीमा भएको ईश्वरीय शक्तिका कारण जुम्ल्याहा जन्मिने गरेको गाउँलेको विश्वास छ । यसबारे भरपर्दो अनुसन्धान अहिलेसम्म भएकोचाहिँ छैन । जुम्ल्याहा बच्चा बारम्बार किन जन्मिन्छन् भन्ने कारण पत्ता लगाउन केही वर्षअघि राज्य सरकारले गाउँका मानिसको रगतको नमुना लिएको थियो । तर, रक्तपरीक्षणबाट कस्तो नतिजा निस्कियो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । उत्तरप्रदेशमा मात्र नभई भारतको अर्को राज्य केरेलाको कोदिन्ही गाउँ पनि जुम्ल्याहामय छ । गाउँमा सन् २००८ मा मात्र तीन सय शिशुले जन्म लिएकामा तीमध्ये ३० जना जुम्ल्याहा थिए । विगत पाँच वर्षभरिमा सो गाउँमा ६० जोडी जुम्ल्याहाको जन्म भइसकेको छ । सरकारी अभिलेखमा गाउँभरि जम्मा दुई सय ५० जुम्ल्याहा जोडी रहेको देखिए पनि यो संख्या अझ बढी भएको स्थानीयवासीको भनाइ छ ।
/esangrila.com/