यसरी बन्दैछ सुनसरीमा बु्द्धको भीमकाय मूर्ति
सुनसरी जिल्लाको औराबनी गाबिस वडा नम्बर ९ स्थित ग्रामथानमा महत्वाकांक्षी गुरुयोजनाका साथ नयाँ लुम्बिनीको झल्को दिने गरी बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढेको हो ।
वुद्ध पर्यटकीय स्थल निर्माण समितिकी अध्यक्ष भगवती चौधरीले राष्ट्रिय गौरवका रुपमा विकास गर्ने लक्ष्यका साथ मूलुककै नमूना पर्यटकीय क्षेत्र निर्माण गरिने बताएकी छन् ।
बुद्धबारे अफवाह फैलिरहेका बेला बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्न तथा शान्तिको सन्देश दिने क्षेत्रका रुपमा बुद्ध पर्यटकीय क्षेत्रले काम गर्ने चौधरीले बताइन् । ‘यहाँ बुद्ध सर्किट बनेपछि बुद्ध सम्बन्धी प्रचार हुने गरेका गलत र भ्रामक कुराहरु निस्तेज बन्न सहयोग पुग्नेछ’ उनले भनिन् ‘बुद्धका वाणीहरुको अनुसरण गर्न र शान्तिको सन्देश फैलाउन यही बुद्ध भूमिबाट सबैलाई मार्गदर्शन हुनेछ ।’
नयाँ पर्यटकीय गन्तव्यका रुपमा मूलुकको पर्यटन प्रवर्द्धनमा समेत यस क्षेत्रले भूमिका खेल्ने उनको भनाइ छ । ‘राजनीतिक मुद्दा पूरा गर्दै मुलुक आर्थिक समृद्धितर्फ अघि बढेको योबेला यस्ता पर्यटकीय धरोहरहरु समृद्धिका आधार बन्न सक्छन्’ उनले बताइन् ।
एमाले केन्द्रीय सदस्य एवं पूर्वसभासद समेत रहेकी चौधरीको पहलमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माणका लागि निजी श्रोतहरुबाट आर्थिक संकलन भइरहेको बताइएको छ । निर्माणका लागि सरकारले समेत सहयोगको आश्वासन दिएको चौधरीको भनाइ छ ।
दश वर्षे गुरुयोजना अनुसार अघि बढेको काम पहिलो दुई वर्षमा पर्यटकीय क्षेत्रका रुपमा बन्ने स्वरुप निर्माण गरिने बताइएको छ । यो स्थल सुनसरीको दुहबी बजारबाट ६ किलोमिटर पश्चिम-दक्षिण क्षेत्रमा अवस्थित छ । यो परियोजना कुल ३५ करोड लागत अनुमानका साथ काम प्रारम्भ गरिएको हो ।
ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक पर्यटकीय धरोहरका रुपमा यस क्षेत्रलाई विकास गर्ने लक्ष्य राखिएको छ ।
हिन्दु देवताका मूर्ति पनि राखिने, थारुको संस्कृति झल्काइने
स्थानीय गढीवनको नाममा रहेको करिब ११ विघाहा क्षेत्रफलमा बुद्ध सम्बन्धी सम्पूर्ण विषयहरुलाई समेटेर पर्यटकीय स्थल बनाउन लागिएको हो ।
यस क्षेत्रमा मूख्य मूर्तिका रुपमा ६० फिट अग्लो वुद्धको प्रतिमा बन्नेछ । ध्यान गर्नका लागि प्रार्थना हलसमेत बन्नेछ । यस्तै गार्डेन पनि बन्नेछ । नजिकै रहेको ट्याङ्ग्रा खोलामा र्याफ्टिङ गर्न सकिने दाबी गरिएको छ । यहाँ गौतम बुद्धका सम्पूर्ण महिमाहरुको संघालोका रुपमा मनोरम क्षेत्रहरु बन्ने निर्माण पक्षले जनाएको छ ।
फरक-फरक धर्मको समान अस्तित्वको समेत झल्को पाइने गरी बुद्ध क्षेत्रमा हिन्दुहरुका आस्थाका देवता शिव-पार्वतीका मूर्तिहरु समेत बनाइने भएको छ । धार्मिक सहिष्णुताका लागि र सबै धर्मको सह अस्तित्वका लागि यस्तो गर्न लागिएको चौधरीले बताइन् ।
यस्तै विभिन्न जातजातिका सांकृतिक विविधताहरु समेत समेटिने बताइएको छ । थारु संस्कृति लगायत स्थानीय समुदायको संस्कृतिसमेत यहाँ अध्ययन गर्न पाइने भएको छ । यहाँ बुद्धसम्बन्धी तथा स्थानीय थारु समुदायका विषयमा संग्रहित संग्रहालयसमेत बन्ने भएको छ ।
यस्तै भ्युटावर, पार्क, पजल बँगैचा, पानीको फोहरा लगायतका क्षेत्रहरु बन्दैछन् । प्राचीन थारु राजा रुपनारायणको वासस्थलको रुपमा रहेको धार्मिक किंबदन्ती रहेको यो स्थानमा ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइने चौधरीले जानकारी दिइन् ।
onlinekhabar