मृत्यु भएका १८ मध्ये ७ यात्रुको सनाखत

विमानको ब्ल्याकबक्ससँगै लगबुक पनि फेला पर्यो
 आइतबारदेखि सम्पर्कविहीन नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेलेकमा दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ | जहाजमा सवार १८ जनाको शव फेला परेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तीमध्ये सात जनाको सनाखत भएको छ ।>जहाजमा सवार नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, कांग्रेस जुम्ला सभापति मानव सेजुवाल, वर्षा हमाल, सहिस हमाल, दिवेश शाही, मुना महर्जन र राजेन्द्र चौलागाईंको सनाखत भएको छ । >नेपाली सेनाको उद्दार टोलीले स्थान पहिचान गरेपछि परिचालन भएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान दुर्घटनाग्रस्त जहाज फेला परेको हो । मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोंचमा दुर्घटनाग्रस्त जहाज भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिए । काठमाडौंवाट पोखरा हुँदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी-टि्वनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्कविहीन भएको हो । भैरहवा विमानस्थलमा आपतकालिन अवतरणका लागि सम्पर्क गरेदेखि नै जहाज सम्पर्कविहीन भएको थियो । जहाजसँगै १५ यात्रु र चालक दलका तीन सदस्य पनि वेपत्ता थिए । तीमध्ये एक बालक र एक डेनिस नागरिक पनि छन् । काठमाडौंबाट उडेको जहाज पोखरा विमानस्थलमा इन्धन भरेर आधाघण्टामै जुम्लाका लागि उडेको थियो । त्यसपछि करिव एक घण्टामा जुम्ला पुग्नुपर्ने जहाज भैरहवामा सम्पर्क भएर बेपत्ता भएपछि खोजी कार्य सुरु गरिएको थियो । जहाज अर्घाखाँची, पाल्पा र गुल्मीको सिमाक्षेत्र खिदिम आसपासको जंगलमा खसेको आंशकामा सुरक्षाकर्मी र स्थानीयबासीले अपरान्हृदेखि खोजी गरे पनि भेटेका थिएनन् । त्यस्तै, उद्दारका लागि घटनास्थल पुगेको सुरक्षाकर्मीहरुको टोलीले ब्ल्याकबक्ससँगै लगबुक पनि फेला पारेको छ । विमानको ब्ल्याक्बक्स फेला परेपछि दुघर्टनाको कारण पत्ता लगाउन सहज हुनेभएको छ ।

news and entertainment