ललितपुरका मीनकृष्ण महर्जन र रामेछापका रमेश बाहुन (सुजन पौडेल) केही महिनाअघिसम्म दोस्त थिए । ललितपुरको क्रसर उद्योगमा महर्जनको लगानी छ । महर्जनकै सहयोगमा बाहुनले पनि महिनावारी रकम व्यवसायीबाट पाउँदै आएका थिए । दुवै जना मिलेर टेण्डरसम्बन्धी धन्दा पनि चलाए । तर केही महिनायता उनीहरूबीच टेण्डरको कमिसनमा विवाद सुरु भयो । बाहुनले धेरै रकम माग गर्न थालेपछि महर्जन हैरान भए । गत असोजमा डिभिजिन सडक कार्यालयको २२ करोड टेण्डरमा महर्जनले गुण्डागर्दी संयोजनको काम गरेका थिए । ललितपुर निर्माण व्यवसायी संघका निमित्त अध्यक्ष सानु मोक्तानले त्यसवापत महर्जनलाई २ प्रतिशत छुट्याएका थिए । सो कुरा बाहुनलाई पनि थाहा थियो । त्यसकारण बाहुनले महर्जनसँग आफ्नो भाग खोजेका थिए । सुरुमा बाहुनले ठेकेदार मोक्तानसँग पैसा मागेका थिए । तर मोक्तानले महर्जनलाई देखाएपछि उनीहरूबीच विवाद सुरु भएको थियो । ‘त्यसलाई किन पैसा दिने’ भन्दै उनले अस्वीकार गरे पनि बाहुनले धम्की दिएका थिए । तर, महर्जनले धम्की नमानेपछि बाहुनले गत ४ गते शनिबार गोली हानेर तर्साउने काम गरे । हरेक शनिबार ‘शनिको दसा हटाउन’ पिपलको रुखमा पानी चढाउन जाने महर्जनलाई त्यही दिन ‘दसा’ लाग्यो । बाहुनका सहयोगीहरूले सुरुमा खुँडाले आक्रमण गरे, रोक्न खोज्दा पछि गोली हानेर तर्साए । बाहुनपक्षीयहरू महर्जनको सामुन्ने थिए । उनीहरूले टाउकोमै गोली हान्न सक्ने अवस्था थिए । तर तर्साउनको लागि तिघ्रामा गोली हानेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । मोष्ट वान्टेड रहेका डन बाहुन तिनै व्यक्ति हुन्, जसले तीन वर्षअघि डन गणेश लामाको सिरुवा कन्ट्रक्सनलाई धम्काएर पैसा उठाएका हुन् । नेपाली सेनाका भगौडा सिपाही उनी केही बहालवाला तथा अवकाशप्राप्त प्रहरी र सेनाका व्यक्तिहरूलाई समेटेर देशैभरि असुली धन्दा चलाउँदै आएका छन् । खासगरी ठेकदारहरूलाई उनले आफ्नो निशाना बनाउँदै आएका छन् । धेरैले डराएर उनको विरुद्धमा उजुरी हाल्ने गरेका छैनन् । ललितपुरका डन महर्जनलाई नै गोली हान्नुले पनि उनले ठेकदारहरूलाई कति आतंकित बनाउँदै आएका छन् भन्ने प्रष्ट हुन्छ । यो घटनाले देशमा बढ्दै गएको गुण्डागर्दीको राज मात्र प्रष्ट गरेको छैन, गुण्डाहरूबीच नै सुरु भएको ‘वार’ को पनि संकेत गरेको छ । किनकि, यस्ता घटना राजधानीमै घट्नुको साटो बढ्न थालेका छन् । धादिङका दिनेश अधिकारी ‘चरी’ र राधेश्याम भण्डारी ‘राधे’ बीचको फाइट पनि गुण्डाका नाइकेहरूबीच बढ्दै गएको झगडालाई प्रष्ट पार्छ । चरी र राधेको समूहबीच तीन चरणमा फाइट भइसकेको छ । गत जेठमा चरीको समूहले राधेका भाइलाई धादिङमा आक्रमण गरेका थिए । त्यसको बदलामा चरीलाई धादिङबाट फर्कदै गर्दा असारमा सतंगुलमा गोली प्रहार भएको थियो । सो घटनापछि चरी बदला लिने योजनामा लागे । गत १४ पुसमा उनले बदला लिएरै छाडे । एक ठेकदारको बिहे भोजबाट निस्कँदै गर्दा चरीले भण्डारीलाई तरबारले आक्रमण गरे । अहिले चरी फरार छन् । १० वर्षअघिको झझल्को राजधानीमा यसरी गुण्डाहरूबीचको झगडा १० वर्षअघि हुन्थ्यो । चक्रेको समूहले दीपक मनाङेको समूहलाई हान्ने घटना सामान्य हुन्थे । त्यसबेला केही व्यक्तिहरूले ज्यान नै गुमाएका पनि थिए । राजु गोर्खालीको समूहले इन्सोमेनिया डिस्कोका सञ्चालक राकेश लिम्बूको हत्या गरेका थिए । त्यस्तै चक्रेकै समूहले डंगोलको हत्या गरेको थियो । राजनीतिक संरक्षण काठमाडौंमा ढकबहादुर कार्की प्रहरी प्रमुख हुँदासम्म गुण्डाहरूको राज नै चल्यो । त्यसपछि क्रमशः गुण्डागर्दी कम हुँदै गएको थियो । प्रहरी आक्रामक बन्न थालेपछि गुण्डाहरू
रक्षात्मक बनेका थिए । प्रहरीसँग सेटिङ मिल्न छाडेपछि उनीहरू राजनीतिक छहारीमा लागे । कोही कांग्रेस त कोही एमालेमा लागे । दुवै पार्टीमा नअटाएकाहरू वाईसीएलमा छिरे । अहिले सबैजसो गुण्डाका नाइकेहरू ठूला नेताका विश्वासपात्र बनिसकेका छन् । कुमार घैंटे (कुमार श्रेष्ठ), पूर्ण गुरुङ, मीनकृष्ण महर्जन, राधे भण्डारी, माइला लामाजस्ता गुण्डाका नाइकेहरू अहिले कांग्रेस नेताका प्रिय छन् । त्यस्तै बाहुन, चरी, साजन महर्जन लगायत भने एमालेका ठूला नेताका निकट बनेका छन् । बूढा डन सुस्ताए राजधानीका केही पुराना डनहरूको प्रभाव भने कमजोर बन्दै गएको छ । दुई वर्षअघि जेलबाट छुटेका राजु गोर्खाली अहिले चाबहिल क्षेत्रमा गुमनाम जीवन बिताइरहेका छन् । त्यस्तै चक्रे मिलन केन्द्रीय कारागारमा दिन बिताइरहेका छन् । उनी जेलमै पनि उद्दण्ड व्यवहार देखाउने गर्दछन् । करिब ६ महिनापछि उनी छुट्दैछन् । जेल परे पनि उनी सुध्रिएका भने छैनन् । जेलबाटै विभिन्न व्यक्तिलाई धम्काएका उनी छुटे पनि पुनः गुण्डागर्दीमै लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिमा लागेका गणेश लामालाई पनि अब गुण्डागर्दी गरेर प्रहरी हिरासतमा जाने इच्छा छैन । तर, उनको सम्पत्तिबारे मुद्दा चलिरहेकाले अवैध ठहरिँदा स्वतः सजायका भागीदार बन्नेछन् । उनले यसअघि गुण्डागर्दी र अन्य अवैध तरिकाले आर्जन गरेको सम्पत्तिको वैधता जाँच सम्पत्ति शुद्धीकरण निवारण विभागले गरी अदालतमा मुद्दा पेश गरेको छ । कालो कारोबारबाट आर्जित रकम बराबरकै बिगो, जरिवाना र कैद सजाय अवैध सम्पत्तिसम्बन्धी मुद्दामा हुने कानुन छ । त्यस्तै अर्का सन्काहा डनका रुपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) ले गुण्डागर्दी नछाडे पनि उनको प्रभाव भने कम हुँदै गएको छ । पछिल्लो समय उनी व्यापारमा आबद्ध छन् । काजी शेर्पा क श्रेणीका ठेकदार बन्न पुगेका छन् । सीडीओको आशिर्वाद राजधानीमा गुण्डागर्दीको राज बढ्नुका पछाडि कमजोर बनेको राजधानीको प्रहरी तथा अदालतमा मौलाउँदै गएको भ्रष्टाचार र राजनीतिक दबाब प्रमुख कारण हो । उदारणका रुपमा चरी र राधेको घटनालाई लिन सकिन्छ । चरीमाथि राधेको समूहले आक्रमण गर्दा प्रहरीले राधेलाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो । पुर्पक्षका लागि थुनामा जाने गम्भीर किसिमका ती मुद्दामा उनी धरौटीमा नै छुटे । हातहतियार तथा खरखजना मुद्दामा उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई लाख ५ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दियो । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ८५ हजार धरौटी मागिएको थियो । ‘हत्या गर्ने उद्देश्यले गोली हँन्नेलाई पनि अदालतले ८५ हजार धरौटीमा नै छाडिदिन थालेपछि गुण्डागर्दी बढ्नु अस्वभाविक होइन,’ काठमाडौँ प्रहरी परिसरका एक अधिकारी भन्छन् । चरीलाई पनि हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रशासनले दुई लाख ५ हजार र सवारी अंगभंग मुद्दामा ८५ हजार नै धरौटीमा छाडिदिएको थियो । सो मुद्दामा चरीलाई आफूले गोली हानेको भण्डारीले स्वीकारेका थिए । ज्यान मार्ने उद्योगजस्ता गम्भीर मुद्दामा अपराध स्वीकारेको अवस्थामा उनलाई गम्भीर किसिमका मुद्दामा पनि धरौटीमा नै रिहा गरेको घटनालाई प्रहरी अधिकारीले आश्चर्यका लिएका थिए । गत २३ असारमा चरीमाथि उनको विरोधी राधेको समूहले सतुंगलमा आक्रमण गरेको थियो । आक्रमणमा उनको पाखुरामा गोली लागेको थियो । घटनाको दुई दिनपछि पक्राउ परेका उनले आफूले गोली हानेको स्वीकारेका थिए । चरीको समूहले आफ्ना भाइको हात काटिदिएकाले प्रतिशोध स्वरुप उनलाई गोली हानेको बयान राधेले दिएका थिए । राधेविरुद्धको मुद्दा कमजोर बनाउन कांग्रेसका नेताहरूले नै प्रहरी, अदालत र प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएका थिए ।
चरीमाथि लगाइएको हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई लाख ५ हजार धरौटी माग गरेको थियो । राधेको बयानमा चरीले नै दिएको पेस्तोलले आफूले उनलाई आक्रमण गरेको बताएकाले चरीलाई समेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले उनलाई दुई लाख ५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । त्यसबेला काठमाडौं प्रहरीले पनि राजनीतिक दबाबका आधारमा अनुसन्धान गरेको थियो । ‘प्रहरीले मुद्दा बलियो बनाएको खण्डमा दुवै जना जेल जाने अवस्था थियो,’ यस मुद्दालाई नजिकबाट नियालिरहेका एक कानुन व्यवसायी भन्छन् । प्रहरी र अदालत दुवै मिलेर गुण्डाका नाइकेलाई धरौटीमा छुट्ने वातावरण बनाइएको थियो । चरी पनि धरौटीमा छुटेका थिए । त्यसपछि दुई समूहबीचको दुश्मनी झनै बढ्दै गएको थियो । घैंटे–चरी टकराव पछिल्लो समय चरीको कुमार घैँटेको समूहसँग पनि टकराव बढ्दै गएको छ । स्रोतका अनुसार पुसको पहिलो साता घैंटेको समूहले चरीमाथि सोह्रखुट्टेमा आक्रमणको प्रयास गरेको थियो । घैटेको समूह र राधेबीच दोस्ती छ । त्यसकारण दुवै मिलेर आफूविरुद्ध लागेकाले घैटेविरुद्ध चरी लागेको स्रोत बताउँछ । त्यसका लागि घैंटे र बाहुनसमेत पछिल्लो समय नजिकिएका छन् । उता ललितपुरमा पनि मीनकृष्ण महर्जन र समीर केसीविरुद्ध द्वन्द्व चुलिएको छ । पछिल्लो गोली प्रहार घटनामा महर्जनले केसीसहित ललितपुरका आफ्ना प्रतिद्वन्द्वीहरू माधव बानिया लगायतविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूबीच फेरि पनि फाइट हुन सक्ने अनुमान प्रहरीको छ । दुई डन सभासद् गुण्डाहरूको प्रभाव पार्टी राजनीति र ठेकापट्टामा मात्र होइन, संविधानसभामा समेत पुगिसकेको छ । कुनै समय राजधानीका कहलिएका दुईजना गुण्डागर्दीका नाइकेहरू संविधानसभामा पुगिसकेका छ । नेपाली कांग्रेसबाट सभासद बनेका तीर्थ लामा र राजु थापाको पृष्ठभूमि गुण्डागर्दी र अवैध असुली नै रहेको प्रहरी अभिलेखबाट बुझिन्छ । लामा काभ्रे क्षेत्र नम्बर १ बाट तथा थापा स्याङजा क्षेत्र नम्बर १ बाट संविधानसभामा पुगेका हुन् । #January 28, 2014 दृष्टि साप्ताहिक
डन’हरुको ‘वार’ सुरु, दुई जना डन सभासद् भए
news and entertainment
