स्वागतमा कुरेका आफन्त रुँदै फर्किए
एलपी देवकोटा
जुम्ला, फाल्गुन ५ - आइतबार मध्याह्न १ नबज्दै विमानस्थलमा यात्रुका आफन्त पुगिसकेका थिए । आधा घन्टाभित्रै जहाज अवतरण हुने भएकाले पर्खाइएको थियो । तर, जहाज एकाएक सम्पर्कविहीन भएको खबर आयो ।
'दिदी जहाज हल्लिँदा त डराउनुहुन्थ्यो,' पत्रकार गौरी कठायतकी बहिनी जगुमाया भन्दै थिइन्, 'दुई घन्टा आकाशमा घुम्दा कति अत्तालिनुभो होला ?' दुई घन्टापछि भने आफन्तको होस उड्यो । दुर्घटनाको आशंका गरिएका खबरहरू क्रमशः आए । रुवाबासी चल्यो ।
बेपत्ता जहाजमा नेता, चिकित्सक, पत्रकार, सैनिक अधिकारी, बैंकर र शिक्षकलगायत छन् । यतिखेर जुम्ला सदरमुकाम खलंगा शोकमा डुबेको छ । कांग्रेस सभापति मानव सैजुवालको घरमा ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुक पुगेका छन् । 'म पोखराबाट उडें । एयरपोर्ट आउन भ्याउँछौ नि ? भन्नुभएको थियो । यस्तो खबर आयो,' सैजुवालकी पत्नी कान्तिकाले भनिन् । मानव संविधानसभा निर्वाचनलगत्तै काठमाडौं गएका थिए ।
विमानमा कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. विकल्प पोखरेल, कृषि विकास बैंकका प्रबन्धक राजेन्द्र देवकोटा, सेनाको २४ नम्बर बाहिनीका सेनानी दीपक श्रेष्ठ पनि थिए । काठमाडौं निवासी डा. पोखरेल सुरक्षित गर्भपतनसम्बन्धी तालिमका लागि माघ ४ गते गएका थिए । हँसिलो स्वभावका उनी यहाँ आएपछि जुम्ला अस्पतालको सेवामा धेरै सुधार आएको थियो ।
गौरी दाँत दुखेर उपचारका लागि पुसमा काठमाडौं गएकी थिइन् । नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य उनी बोहरागाउँस्थित रत्न चुडेश्वर उच्च माविमा पढाउँथिन् । महासंघ केन्द्रमा कर्णालीबाट प्रतिनिधित्व गर्ने उनी पहिलो पत्रकार हुन् । रेडियो नारी आवाजकी अध्यक्षसमेत रहेकी अविवाहित गौरीका घरमा वृद्धा आमा छिन् ।
घटनामा कालिकाखेतु प्राथमिक उपचार केन्द्रकी नर्स वर्षा हमाल र उनका ४ वर्षीय छोरा योगेश पनि परे । हमाल बीएस्सी नर्सिङको परीक्षा दिएर फर्कंदै थिइन् । हिउँदे बिदामा काठमाडौं गएका चन्दननाथ-६ का शिक्षक टेक महतरा र पत्नी नन्दा पनि त्यही जहाजमा थिए । उनीहरू विजयनगर निवासी हुन् । त्यस्तै, छिनाका शिक्षक कृष्णनाथ योगी पनि यात्रारत थिए ।
चन्दननाथ-९ मालाभीडका शिक्षक राजी चौलागाईं श्रीमती दुर्गालक्ष्मीलाई पत्थरीको अप्रेसनका लागि अस्पतालमा छाडेर आउँदै थिए । उनी नयाँ शैक्षिक सत्र सुरु भएकाले भर्ना अभियानका लागि हतारिएर आएका थिए ।
साथमा, २० वषर्ीय भान्जा दीपेश शाही मामाघर घुम्न आउँदै थिए । हुम्ला गोठी-७ का शाही एमबीबीएस परीक्षाको तयारीमा थिए । बबरजंग र विष्णुका दीपेश एक्ला छोरा हुन् । 'म अहिल्यै छोरा भएको ठाउँमा जान चाहन्छु,' नेपालगन्जमा रहेकी आमा विष्णुले रुँदै भनिन् । जिल्ला हुलाक कार्यालयकी उमा तामाङ पनि परेकी छन् । उनी दुई वर्षदेखि निमित्त प्रमुख थिइन् ।
http://www.ekantipur.com
