गगन सोध्छन राष्ट्रिय नीति बनाउन दातृ निकायको सहयोग चाहिदैन भन्ने आँट गर्न सरकार सक्छ?
काठमाडौं। सभासद गगन कुमार थापाले अन्तराष्ट्रिय दातृ निकाय र दातृ संस्थाहरुको परामर्श र सहयोग नलिइकनै राष्ट्रिय नीतिहरु बनाउन हामी सक्षम छौ की छैनौ भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ। हरेक क्षेत्रमा राष्ट्रिय नीतिको आवश्यकता रहेको औंल्याउँदै थापाले तर त्यस्ता राष्ट्रिय नीतिहरु बनाउने नाममा अन्तराष्ट्रिय दाता र निकायलाई अलग राखेर बनाउनेतर्फ सरकारले काम गर्न सक्छकी सक्दैन उहाँले प्रश्न गर्नुभयो।
सभासद रुक्मिणी चौधरीले पेश गर्नुभएको नेपाल स्वास्थ्य सेवा चौथो संशोधन अध्यादेश २०६९ अस्विकृत गरियोस भन्ने सूचना उपर छलफलमा सहभागि हँदै सभासद थापाले अन्तराष्ट्रिय दाता र निकायलाई अलग राखेर हाम्रो राष्ट्रिय नीति बनाउन सक्छौकी सक्दैनौ भन्दै प्रश्न गर्नुभयो। विदेशी परामर्शदाता तथा दातृ निकायको सहयोगमा बनको र बन्ने राष्ट्रिय नीतिमा हाम्रो आफ्नो भावना नदेखिने बताउनुभयो। सरकारले हाम्रो आफ्नो राष्ट्रिय नीति बनाउन हामीलाई दातृ निकायको परामर्शदाता चाहिदैन भन्ने आँट गर्न उहाँले सरकारसमक्ष आग्रह गर्नुभयो। उहाँले देशको हरेक क्षेत्रको राष्ट्रिय नीति बनाउन पनि दातृ निकायको परामर्शदाता लिने प्रवृतिको विरोध जनाउनुभयो।
सभासद थापाले सम्पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सबै पक्षलाई समेटेर बारेमा राष्ट्रिय नीति बनाउन समेत माग गर्नुभयो। सरकारलाई स्वास्थ्य क्षेत्रको समग्र पुनर्संरचनाको लागि मौका आएको भन्दै उहाँले सरकारलाई यसका लागि पहल गर्न आग्रह गर्नुभयो। स्वास्थ्य क्षेत्रलाई हामीले कता लिएर जान चाहेका हौ त्यसका लागि सबै एक भएर राष्ट्रिय नीति बनाउनुपर्ने उल्लेख गर्दै खुद्रा कुरा गर्नुभन्दा समग्रमा राष्ट्रिय नीतिको पक्षमा लाग्नुपर्ने बताउनुभयो।
