हामी देशका लागि जित्न चटगाउँ आएका थियौं पारस खड्का जित पछि अन्तरबार्ता

पारस खड्का, कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टीम
टी-२० विश्वकप क्रिकेटमा पहिलोपटक सहभागी भएको नेपालले दुईवटा जित हात पार्‍यो । आफ्नो पुरानो प्रतिस्पर्धी अफगानिस्तानलाई हराउन सफल हुनुलाई क्रिकेटप्रेमीहरुले ठूलो उपलब्धीको रुपमा चर्चा गरिरहेका छन् । अफगानिस्तानविरुद्धको खेलमा जित हात पारेपछि खेल मैदानमै सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले अझै धेरै गर्न बाँकी रहेको र यो सुरुवात मात्र भएको बताए । प्रस्तुत छ, कप्तान पारससँग बंगलादेशको चटगाउँमा गरिएको कुराकानीको संक्षेप-
अफगानिस्तानविरुद्ध नेपालले ऐतिहासिक जित हात पारेको छ । यसमा तपाईलाई कस्तो लागिरहेको छ ?
- जितमा हामी खुसी छौं । हामीलाई विश्वास थियो कि हामी जित्न सक्छौं भन्ने । तर, बोलेर, लेखेर मात्र हुँदैन, (जितका लागि) गरेर देखाउनुपर्छ । हाम्रा खेलाडीहरुमा क्षमता छ । तर, एउटा खेल जित्यो भन्दैमा धेरै उत्साहित हुनु पर्ने देख्दिँन म । हाम्रो लक्ष्य भनेको अझै अगाडि जाने हो । यस्तै जितले हामीलाई राम्रो गर्न प्रोत्साहित गर्नेछ ।
अफगानसँगको जितको आधार के ?Paras-khadka
- केही कि मोमेन्टहरु छन् । सुवासले राम्रो खेल्यो । शरद र सुवासको पार्टनरसीप एकदमै राम्रो थियो । पावर प्ले ओभरमा विकेट लिन सफल भयौं, जुन एकदमै राम्रो कुरा हो । पावर प्लेमा विकेट लिएपछि टोली दबावमा पर्छ । उनीहरुले फेरि रि-स्टार्ड गर्नुपर्छ । विकेट हामीले टाइम-टाइममा लिइराख्यौं र अन्तिमको दुई ओभरमा जितेन्द्रले जुनखालको बलिङ गर्‍यो, त्यसले हामीलाई खेल जित्न ठूलो सहयोग गर्‍यो ।
कतिबेला चाहिँ अब नेपालले जित्छ भन्ने लागेको थियो ?
- हाँस्दै ..सकेण्ड लास्ट बल । एक बलमा १० रन असम्भवजस्तै थियो । तर, पनि नो बल गयो भने के हुन्छ भन्ने डर थियो । तर, सोमपालले राम्रो बलिङ गर्‍यो आज 
आजको जित कसलाई समर्पण गर्न चाहनुहुन्छ ?
-यो जित सम्पूर्ण नेपाली फ्यानहरुका लागि हो । उहाँहरुको जहिले पनि इच्छा थियो कि अफगानिस्तानलाई हराउनु पर्छ है भन्ने । विश्वकपमा आएर हरायौं । म यही भन्छु कि यो सुरुवात मात्र हो, जुन दुई वर्षको साइकल थियो हाम्रो, विश्वकपका लागि छनोट हुने र खेल्ने । यो सकिएको छ । अब फेरि सुरुवात गर्नुपर्छ हामीले । यो जितको र प्रतियोगिताको राम्रो पक्षलाई लिएर सुधार गर्नेतर्फ अघि बढ्छौं ।
अन्तिम ओभरमा तपाई आफैं ‘अपस्पिन’ हुनुहुन्थ्यो । तर, सोमपाललाई पठाउनुभो…..
- मैले धेरै भयो पेश बलिङ नगरेको । अभ्यास पनि गरेको थिइँन । आज कन्डिसनले गर्दा गरेको हो । म त जतिसक्दो कन्टि्रब्युट गरिरहेको थिएँ । म भएको भए आउँथिन होला, बसन्त नै आउँथ्यो ।
सम्रगमा यो प्रतियोगिता कस्तो रहृयो ?
- हामी यहाँ देशका लागि जित्न आएका थियौं । यसले हामीलाई अगाडि बढ्न धेरै सहयोग गर्छ । पहिलो सहभागितामा नै हामीले दुई जित हात पार्न सक्यौं । यो उपलब्धी हो । तर, हामी यो भन्दैनौं कि एउटा विश्वकपमा छनोट भयौं र सकियो । हामीले फेरि सुरुवात गर्नु छ, जसले भविश्यमा राम्रो परिणाम ल्याउनेछ ।
अबको लक्ष्य के छ ?
-लक्ष्य राम्रो क्रिकेट खेल्दै जाने । तर, हाम्रो हातमा छैन कि हामीले के स्टाटस पाउँछौं ? वा हामी कुन डिभिजनमा छौं । तर पनि हामी हाम्रोतर्फबाट सक्दो प्रयास गर्छौं कि जे जस्तो अवसर हाम्रो हातमा आउँछ, त्यसका लागि निरन्तर रुपमा मेहनत गर्नेछौं । योङ टिम छ हाम्रो । सायद हामीले अझै २/३ वर्ष कुनु पर्नेछ । एक दिवसीय मान्यता, माथिल्लो क्रिकेट खेल्ने सपना छ हाम्रो ।
प्रस्तुती- राजकुमार श्रेष्ठ, चटगाउँ
www.onlinekhabar.com

,

news and entertainment