ग्रीन कार्ड त्यागेर किन फर्किदैछिन् गौरी मल्ल नेपाल?

चर्चित नेपाली अभिनेत्री गौरी मल्ल सँधैका लागि बुधबार नेपाल फर्कँदैछिन् । न्यूयोर्कमा आयोजित एक भव्य बिदाइ जमघटमा गौरीले आँसु खसालिन्, शुभेच्छुकलाई अँगालो हालिन् र भावुक मन्तव्य पेश गरिन् ।
Gauri-Mall
बिदाइ कार्यक्रममा बोल्दै गौरीले आमा बिरामी भएकाले नेपाल फर्कन लागेको बताउँदै उनले अब नेपालमै बस्ने जानकारी दिइन् ।
‘डाक्टरले तपाईंकी आमा कुन् संयोगले बाँचिरहनुभएको छ, हामी आश्चर्यमा छौं भनिरहेका छन्, बुबाआमाका अगाडि संसारको कुनैपनि सुखद अर्थहीन छ’, गौरीले भनिन्, ‘बाबाआमा छाडेर जस्तोसुकै सुख होस् मलाई चाहिन्न, मेरो खुशी मेरो बुबाआमा नै हो, त्यसैले म नेपाल जाँदैछु ।’
गहभरी आँसु पार्दै गौरीले आमा बिरामी भएदेखि एकएक सेकेन्ड रुँदै बसेको बताइन् । ‘उहाँको छिट्टै अप्रेसन गर्नुपर्ने छ, बाँच्ने चान्स आधाआधा रहेको डाक्टरले बताएका छन्’, गौरीले भनिन्, ‘बुढेसकालमा आफ्नो सन्तान नजिकै होस् भन्ने इच्छा सबैको हुन्छ, उहाँले मेरो अनुपस्थितीबिना अप्रेसन नगर्ने भन्नुभएको छ, बुबा आमा नै ठूलो भएकाले नेपाल जाँदैछु ।’
नेपाल फर्केपछि फिल्ममै पुनरागमन गर्ने गौरीले बताइन् । उनले भनिन् ‘चलचित्र निर्माणका लागि उनीहरुले मलाई पाँच वर्षदेखि कुरेर बसेका छन्, चलचित्रको नाम गौरी हो ।’
गौरीमा मूख्य पात्रको रुपमा उनै छिन् । ‘कथा पनि एकदमै राम्रो छ, त्यो मेरो डि्रम प्रोजेक्ट हो, म त्यो प्रोजेक्ट छाड्न चाहन्न, पारिवारिक समस्या समाधान भैसकेपछि त्यो प्रोजेक्टमा लाग्छु ।’ गौरीले भनिन्,
‘तपाईंहरुसँग अमेरिकामै भेट्ने संयोग लेखेको छ भने केही वर्षपछि फेरि भेट होला तर, यतिबेला मेरो पहिलो प्राथमिकता बुबाआमा हो ।’
विदाईमा बोल्दै गौरीले आफ्नी आमाको स्वास्थ्यको प्रार्थना गरिदिन आग्रह गरेकी थिइन् । ‘अप्रेसनका लागि मेरो उपस्थिती मेरो आमाको इच्छा भएकाले तत्काल नेपाल र्फकने निर्णय लिएकी हुँ ।’
कार्यक्रममा गौरीले आफू प्रमुख रहेको नेप्लीज आर्टिस्ट एसोसिएसनको अध्यक्ष रहेपनि आफूमाथि लगाइएको आरोपहरुप्रति दुःखेसो पोखिन् । गहभरि आँसु पार्दै उनले भनिन् -’मलाई गलत आरोपहरु लगाइएको छ, त्यसको न्याय भगवानले नै गर्नेछ ।’

, ,

news and entertainment