बिबादित सीमा नक्सामा हस्ताक्षर गर्न गृहमन्त्रिलाई भारतको दबाब

नयाँ सरकार बनेको केही दिनमै छिमेकी भारतले दुई देशबीचको सीमांकनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको छ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुरक्षा निकायका उच्च अधिकृतसँगको बैठकमा नेपाल-भारत सीमाबारे द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न आफूलाई ‘अनुरोध र दबाब’ आएको बताएपछि यसको खुलासा भएको  छ |
 
चार सुरक्षा निकायका प्रमुख र उच्च अधिकारी सहभागी केन्द्रीय सुरक्षा समितिको पहिलो बैठकमा गौतमले यसबारे सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका थिए। आन्तरिक सुरक्षा स्थितिको विश्लेषण गर्ने क्रममा दुई निकटतम् छिमेकी भारत र चीनको प्रसंगमा गौतमले भारतले नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीबाहेक अन्य सीमा क्षेत्रमा सीमांकन भइसकेको र त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राख्दै आएको बताएका थिए।

‘मैले सबैतिरको एकैचोटि टुंग्याऊँ भनेको छु’, उनले सुरक्षा प्रमुखहरूसँग भने, ‘उनीहरू समस्या किन राखिरहनु टुंग्याऊँ भन्छन्।’ गौतमले यस प्रसंगलाई पुष्टि गर्दै भने, ‘उनीहरूले हस्ताक्षर गरौं भनेका छन्, मैले छुट्टाछुट्टै होइन समग्रमै गरौं भनेको छु।’

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले दुई देशबीच सीमा क्षेत्रको नक्सांकन कार्य ९८ प्रतिशत सकिएको बताएर विवादमा परेकी थिइन्। त्यसबेलादेखि भारतले सुस्ता र कालापानीबाहेकका ठाउँको सीमा नक्साको काम सम्पन्न भई स्ट्रिप म्याप तयार भएकाले हस्ताक्षर हुनुपर्ने धारणा राख्दै आएको छ भनी अन्नपूर्ण पोस्टले लेखेको छ |

भारतका तत्कालीन विदेशमन्त्री एसएम कृष्णाले २०६८ वैशाखमा गरेको नेपाल भ्रमणका क्रममा दूतावासद्वारा जारी प्रेसविज्ञप्तिमा समेत दुई देशबीच ९८ प्रतिशत सीमांकन सकिएकाले स्ट्रिप म्यापमा हस्ताक्षर गर्न आवश्यक रहेको उल्लेख छ। त्यसैगरी तत्कालीन भारतीय राजदूत राकेश सुदले २०६६ सालमै नेपाललाई स्ट्रिप म्यापमा हस्ताक्षर गर्न आग्रह गरिएको बताएका थिए।

नेपालका २६ जिल्लाको सीमा भारतसँग जोडिएको छ। दुई देशबीच एक हजार आठ सय आठ किलोमिटर सीमा जोडिएको छ। यीमध्ये धेरै ठाउँमा भारतले सीमा अतिक्रमण गरेका विवरण सार्वजनिक भएका छन्। झन्डै नौ हजार हेक्टर नेपाली भूमिमा भारतले विवाद गर्दै आएको दाबी नेपाली पक्षको छ। यीमध्ये कालापानी-लिम्पियाधुरा र सुस्तामा क्षेत्रफलका हिसाबले बढी जमिन अतिक्रमित भएको छ।

,

news and entertainment