प्रचण्ड भन्छन मलाई मात्र आरोप लगाए बाबुरामलाई हानी

काठमाडौ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी पराजयको आरोप आफूलाई मात्र लगाउँदा वरिष्ठ नेता बाबुराम भट्टराईलाई नै हानी हुने बताएका छन् । संविधानसभाको दोस्रो निर्वाचन पार्टी हारको मुख्य जिम्मा आफूले लिए पनि भट्टराई त्यसबाट अलग हुन खोजेको भन्दै दाहालले आक्रोश व्यक्त गरेका हुन् ।प्रचण्ड र बाबुराम
शनिबार आफ्नै निवास लाजिम्पाटमा कान्तिपुरसँग कुरा गर्दै दाहालले पार्टी पुनर्निर्माणबारे ‘टालटुले’ बाटो अपनाएको आरोपको समेत खण्डन गरे । ‘जहाँसम्म बाबुरामजीले यो प्रक्रियामा अध्यक्ष असफल भएको, मुख्य कमजोरी गरेको भन्नुभयो भन्ने कुरा छ, त्यो कुनै पनि दृष्टिबाट मिल्दैन,’ उनले भने, ‘बाबुरामजी र म यति धेरै सँगै छौं कि हामीले सबै कुरा शतप्रतिशत सहमतिबाट गरेका हौं । उहाँले अध्यक्षलाई अलग्याएर आफ्नो कमजोरी छैन भन्नुभयो भने बाबुरामजीजस्तो वरिष्ठ नेताका लागि फाइदाजनक छैन, घाटा पुर्‍याउँछ भन्ने मलाई चिन्ता छ ।’
पार्टी सुदृढ नभए नयाँ शक्तिको जन्म हुने भट्टराईको भनाइलाई दाहालले अमूर्त कुरा भएको बताएको गंगा बीसीले कान्तिपुरमा लेखेका छन्। । ‘देशभरि पार्टी पुनर्निर्माणमा लागेको छ,’ उनको भनाइ थियो, ‘आफ्नो शक्ति सुदृढ नगरी, परिवर्तनको प्रक्रियालाई वैज्ञानिक दृष्टिकोणले निर्देशित नगरी नयाँ शक्तिको अमूर्त कुरा गरेर समस्या समाधान हुँदैन ।’
आफूमाथि लागेका आरोप खण्डन गर्दै दाहालले भट्टराई ‘क्रान्तिकारी दिशा’ बाट विचलन हुन खोजेको संकेत गरे । ‘पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक ढंगले थप विकास गर्नुपर्छ । केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन गर्नुपर्छ भन्ने कुरा एकमतले भनेको छ । अब अहिले आएर उहाँले आफ्नो ढंगले जो भन्न खोज्नुभएको छ, मैले नै बुझेको छैन, उहाँले के भन्न खोज्नुभएको हो,’ दाहालले व्यंग्य गर्दै भने, ‘नवउदारवादबारे नयाँ कुरा ल्याउन खोजेजस्तो, उहाँ निर्वाचन परिणामपछि अलि बढी नै चिन्तित हुनुभएको छ ।’
केही समययता भट्टराईले पार्टी पुनर्निर्माण नभए विघटन हुने बताउँदै ‘नयाँ राजनीतिक शक्तिको खाँचो’ आंैल्याउन थालेका छन् । यसलाई दाहालले गैरमाक्र्सवादी चिन्तन भएको उल्लेख गरे । ‘कम्युनिस्ट पार्टीभित्र एउटा पराजय हुनेबित्तिकै सबै सिद्धियो भनेर सोच्नु माक्र्सवादी तरिका होइन,’ उनले भने, ‘यो एउटा राजनीतिक लडाइँ थियो, पार्टीले त्यसमा हारेको हो, त्यसको नैतिक जिम्मेवारी कमान्डरले लिनुपर्छ । तर, एउटा लडाइँ हार्नुको अर्थ पूरै युद्ध हारेको होइन । यसबाट शिक्षा लिँदै अर्को राजनीतिक लडाइँ जित्ने तयारी गर्नु परिपक्व कमान्डर नेताको जिम्मेवारी हुन्छ ।’
कुराकानीका क्रममा दाहाल-मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकता हुनेमा आशावादी देखिए । ‘पार्टी विभाजन गलत थियो, यसले पार्टी र राष्ट्रलाई समेत क्षति भयो भन्ने मलाई र वैद्यजीलाई पनि महसुस भएको छ,’ उनले थपे, ‘हामीलाई वैद्यजी गए पनि चुनाव जितिहाल्छौं, पहिलो पार्टी भइहाल्छौं र सरकारको नेतृत्व गरिहाल्छौं भन्ने लागेको थियो, त्यो कुरा सही सावित भएन । वैद्यजीहरू पनि एकीकृत माओवादीका कारण विद्रोह नभएको हो भनेर फुटेपछि विद्रोह गरिहाल्छौं भन्नेमा लाग्नुभएको थियो, त्यो पनि भएन । साझा जमिन तयार भयो, जसले दुवैलाई आत्मसमीक्षा गर्न प्रेरित गरेको छ । एकताको सुरुवात विन्दु यही हो ।’/www.hamrakura.com

,

news and entertainment