यसरि गोजीमा लुकाएको मोबाइलबाट दिलशोभाकै कर्मचारीले रेकर्ड गरेका थिए उनको संवाद

बालगृहमा कर्णालीका बच्चा अत्यधिक हुनुलाई पनि बालकल्याणका पदाधिकारीहरुले शंकास्पद् ठानेका छन्। 'कर्णालीबाट ल्याएका कतिपय बालबालिकालाई अन्त काम गर्न पठाएको लगायत आरोपमा छानबिन भइरहेको छ,’ भुषालले भनिन्, ‘बालगृह खोलेर बच्चा अन्त पठाउनु त भएन नि।’
धेरैले ठानेजस्तो र दिलशोभाले कतिपय प्रसंगमा दाबी गरेजस्तो आमाको घरमा भएका बालबालिका सडकबाट उठाइएका भने होइनन्। बुधबार 'उद्धार' गरिएका ३२ मध्ये ३० बालबालिका कर्णालीका विभिन्न जिल्ला र एकजना चितवनका हुन्।
कर्णालीका बच्चा बालगृहमा आइपुग्नुलाई दिलशोभा संयोगमात्र मान्छिन्। ‘बिबिसी साझा सवालमा जुम्ला गएकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि कर्णालीका बच्चा आउन थाले।’
दिलशोभालाई कर्णालीबाट बालबालिका पठाइदिनेमध्ये हुम्लाका नवराज महतरालेसेतोपाटीसँग भने, ‘टुहुरा बच्चा पठाएको छ, उनीहरुले पेटभरि खान र स्कुल जान पाएका छन्।’
हुम्लामा कहिले पढाइ नहुने, कहिले पाठ्यपुस्तक नहुने लगायत समस्या झेल्नुभन्दा मापदण्ड पूरा भए पनि नभए पनि आमाको घरको आश्रय महतरालाई सुविधाजनक लाग्छ।
बालगृहका पन्ध्र जना बच्चालाई निशुल्क पढाइरहेको एन्जेल एकेडेमी कीर्तिपुरका संस्थापक प्रिन्सिपल जोतिक नापितलाई दिलशोभा घटनाले मर्माहत बनाएको छ।
उनले तीन वर्षअगाडि नै कानुनी प्रकृया पूरा गर्न, दर्ता गर्न र पारदर्शी बनाउनदिलशोभालाई सुझाव दिएका थिए। संस्था ठूलो भइसकेकाले कर्मचारीसहितको अफिस खोलेर व्यवस्थित गर्न उनले पटकपटक घच्घच्याए।
‘कुन दिन दशा आइपर्ला र धुरुधुरु रुनुपर्ला,’ जोतिकले सम्झाएका थिए।
उनलाई दिलशोभाले नियतवश सुधार नगरेको भन्ने लाग्दैन। किनकि ‘ल न त संस्था दर्ता गर्न सहयोग गरिदिनुस्’ भनेर दिलशोभाले धेरैपटक उनीसँगै सहयोग मागिन्। बालगृहका विद्यार्थी निशुल्क पढाइदिने अर्को स्कुलको प्रिन्सिपललाई पनि त्यस्तै अनुरोध गरेको उनले सुनेका थिए।
‘हामी शुभेच्छुकले सहयोग गर्नुपर्ने कुरा थियो,’ जोतिकले भने, ‘आ–आफ्नो व्यस्तताले सकिएन, अहिले आएर बच्चाहरु उठाएर लाँदा दुखद स्थिति सिर्जना भयो।’
कानुन उल्लघंन गरौं वा अरु छलछाम गरौं भन्ने दाउ दिलशोभाले गरेजस्तो नलाग्ने मात्र हैन, सरकारी निकायले आमाको घरलाई सुधार्न लागिपर्नुपर्थ्यो भन्ने जोतिकको धारणा छ।
‘बालगृह सुधार गर्नुपर्थ्यो,’ उनले भने, ‘उद्धार गरियो।’ हुन त आमाको घरका कतिपय शुभेच्छुक र सहृदयीहरुलाई प्रशासनले प्रयोगमा ल्याएको यो ‘उद्धार’ भन्ने शव्द नै चित्त बुझेको छैन।

दुरावस्था र दुर्व्यवहारको आरोप
आमाको घरको ‘दुरावस्था’ले पनि उद्धार गर्नुपरेको सरकारी तर्क छ।बालबालिकालाई राम्रो व्यवहार नगरेकोदेखि ‘दुर्व्यवहार’ सम्मको आरोप उनलाई छ। बालबालिका राख्न कस्तो भौतिक पूर्वाधार हुनुपर्छ भन्ने बालकल्याणको पुस्तिका नै छ। ती मापदण्ड भने आमाको घरले पूरा गरेको छैन।
बालबालिका र बृद्धलाई एउटै घरमा राखिएको छ। बालबालिका सुत्ने कोठा साँघुरो छ। सुत्ने र लगाउने कपडा फोहोर छन्। आमाको घरमा बस्दा धेरै बालबालिकाका खुट्टामा चप्पल हुन्न। तर आमाको घरको अवस्था पहिलेदेखि नै यस्तै हो। पत्रपत्रिकाको प्रशंसा, दर्जनौं सम्मान पाएर दिलशोभाको हाईहाई हुँदा आमाकोघरको अवस्था अहिलेभन्दा पनि नाजुक थियो।
आमाको घरका बुढापाका र बालबच्चालाई भरथेग गर्ने शुभेच्छुक र सहृदयीहरु पहिलाभन्दा भौतिक अवस्था निकै सुध्रेको ठान्छन्। ‘पहिला भन्दा ६० प्रतिशत स्तर बढेको छ,’ प्रिन्सिपल जोतिकले भने, ‘चार/पाँच वर्ष पहिला झन् फोहोर, झन् साँघुरो र झन् अव्यवस्थित थियो।’
दिलशोभाले आफ्नो माइतीले पेवामा दिएको घरमा आफन्तले वास्ता नगरेर सडकमा आइपुगेका बुढापाकालाई आश्रय दिएर अठार वर्ष पहिला आमाको घरलाई जन्म दिएकी हुन्।
त्यसले चार वर्षपछि मात्र दर्ताको औपचारिकता पूरा गर्‍यो। त्यही घरमा एउटा पाखो थपेपछि उनले बालबालिकालाई पनि आश्रय दिन थालिन्। दुखम्, सुखम् चलाइन्।
भौतिक अवस्था सुधार्दै लगेको दिलशोभाको पनि दाबी छ। ‘विजयकुमारले अन्तर्वार्ता लिएपछि दुई वर्षयता आमाको घरलाई धेरै सहयोग आउन थालेको हो,’दिलशोभाले भनिन्, ‘सँगै जग्गा बढाइसकेको थिएँ, जापानिज दूतावासले घर बनाइदिन नक्सा बनाइसकेको थियो ।’
चामल, दाल, भुटुन, मसला, बिस्कुट लगायत खानेकुरा प्रशस्त जिन्सी सहायतामा आउने गरेको छ। श्राद्धको तिथि, जन्मोत्सव, विवाहको वार्षिकी लगायतमा खाना खुवाउनेको भीड नै हुन्छ। त्यतिबेला अघिपछि भन्दा मिठो, मसिनो पाक्छ।
‘पकाउने, सरसफाई, लुगा धुने, भान्छे गरेर चार जना छन्,’ उनले भनिन्, ‘बिहान ३ बजे उठेर अरु चार जानाको काम मै गर्छु।’
पछिल्ला वर्षमा उनको संस्थालाई सहयोग गर्नेको जुन भीड छ, त्यो तुलनामा आमाको घर फुर्तिलो देखिदैन। बच्चालाई राखेको भुँइतल्ला घाम पस्ने र हावा खेल्ने खालको छैन। बुढापाकालाई राखिएको कोठा पनि ओछ्यान जोडिएजस्तै छ।
‘सडकपेटीमा सुतेका वृद्धा उठाएर जीउमा कटकटिएको दिशा धुन नै मैले घन्टौं लगाएकी छु,’ उनी भन्छिन्, ‘हाम्रो घर सडकभन्दा राम्रो र तातो होला, त्यो भन्दा राम्रो छैन।’
उनले केटाकेटीलाई हप्की, दप्की लगाउने गरेको र चप्पल समेत लगाउन नदिएको आरोप पनि छ। चप्पल दियो कि छिनालिहाल्छन् भन्ने पीर उनलाई छ नै। हप्काएनन् भन बिग्रिन्छन् भन्ने उनको मान्यता छ।
पन्ध्र वर्ष निकै दुखजिलो गरेर संस्था चलाएकी उनको ‘टार्ने, पुर्‍याउने’ बानी गएको छैन।
नयाँले पुग्ने भए पनि पुराना लुगाफाटो लिन दिलशोभाले छाडेकी छैनन्। कसैले महँगो चामल दियो भने त्यो बेचेर मझौला खालको ल्याएर फारु गर्ने बानी पनि उस्तै छ।
खासै लेखपढ नगरेकी उनको चेतनास्तर र वृद्ध/बालबालिकाबारे ऐन/कानुनले तोकेको मान्यतामा ठूलो खाडल छ। कतिसम्म फोहोर र कति गरे सफा भन्ने उनको व्यक्तिगत चेतमै निर्धारित छ।
उनले विद्यार्थी पठाउने स्कुलका शिक्षकहरुलाई पनि बालबालिकाको सरसफाइमा ध्यान नपुगेको खट्किन्छ। ‘कतिपल्ट मैले नै स्कुलमा बच्चालाई नुहाइदिएको छु,’एन्जल एकेडेमीका संस्थापक प्रिन्सिपल जोनिकले भने।
उनले पाँच जना बच्चालाई विभिन्न व्यक्तिको घरमा काम लगाउन पठाएको आरोप पनि छ। दिलशोभाले भने काम गर्न नभई आमाको घरभन्दा राम्रो हुन्छ भनेर शिक्षादिक्षाका लागि पठाएको स्विकारेकी छिन्।
बालकल्याणका अनुसार तीन जना पोखरा र दुईजना काठमाडौंमा अरुको घरमा छन्। ‘मेरो भाइले तपाईँ मात्र कति दुख गर्नुहुन्छ, हामी पनि अलिकति सेवा गरौं भनेर लगेको हो,’ दिलशोभाले पत्रकार सम्मेलनमै भनेकी थिइन्।
बालकल्याणका अधिकारीहरुले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।‘बालगृहले जिम्मा लिएर अन्त पठाउन कहाँ पाइन्छ?’ धितालले भने।

आर्थिक स्रोतमा दिलशोभाकै तजबिज
दिलशोभाकै अनुसार पछिल्लो दुई वर्षदेखि उनको संस्थालाई आर्थिक सहायता गर्नेको संख्या ह्वात्त बढेको छ। परोपकारको भावनाले आमाको घरलाई सहायता गर्नेमा लगभग सबैजसो नेपाली छन्, स्वदेश र विदेशमा बसेका।
सहायतामा आएको रकम बैठककोठामा रहेको मोटो खातामा लेख्ने चलन छ। तर त्यसको खर्चमा कञ्जुस्याइँ गरेको, हिसाबकिताब दुरुस्त नराखेको र हिनामिना गरेको आरोप उनीमाथि छ। उनीबिरुद् जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीमा ४० लाख रुपैयाँ अमेरिकामा रहेका छोरीज्वाइँलाई पठाएकोसमेत दाबी छ।
दिलशोभाको विश्वासमा दिएको सहायताको खटनपटन उनले व्यक्तिगत तजबिजमा गर्ने गरेकी छन्। संस्थाको संचालक समिति खासै सकृय छैन।
कोषाध्यक्ष राजु शाक्यले आफूलाई हिसाबकिताबबारे केही थाहा नभएको बताए।‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ,’ शाक्यले भने, ‘सबै जिम्मा आमाकै हो।’
यसपाला संस्थाको लेखापरीक्षण गर्ने युवराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारी अनुसार यो आर्थिक वर्ष २०६९/७०मा संस्थालाई १ करोड १२ लाख भन्दा बढी नगद सहायता प्राप्त भएको छ। ‘६९ लाख संस्थाको खातामा बाँकी छ,’घिमिरेले भने, 'सिकाउने मानिस नभएर कागजपत्र दुरुस्त राख्न नसकेको देखिन्छ।'
उनका अनुसार ६० भन्दा बढी केटाकेटी र बुढापाकाका लागि संस्थामा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ।‘बुढापाकाको औषधिउपचारमा प्रशस्त खर्च देखिन्छ,’ उनी भन्छन्, ‘एकजना वृद्धाको अपरेसन गरेर बीस किलोको ट्युमर झिकेको कागज समेत छ।’
स्कुलहरुले फि माफी गरिदिए पनि ड्रेस, कापी कलम, औषधि उपचार खर्च पनि महँगो नै हुने दिलशोभा बताउँछिन्।
अनुगमन गर्ने निकायले आर्थिक पारदर्शितामा आजसम्म  प्रश्न उठाएको देखिन्न। बालकल्याण वा समाज कल्याण परिषद्ले आजसम्म हिसाबकिताब वा लेखा परीक्षणमाथि प्रश्न उठाएका छैनन्।
दिलशोभाले पनि हिसाबकिताब पारदर्शी र दुरुस्त राख्न शुभेच्छुकहरुले दिएको सुझाव कार्यान्वयन गरेकी छैनन्।
उनले व्यवस्थापन गर्न नजानेर त्यसो गरिन् वा नियतवश गरिन्, सबै जाँचपडताल नगरी भन्न कठीन छ।
उनको संस्थाको खातामा खर्च भएर बचेको ६९ लाख रुपैयाँ देखिएको तथ्यले भने आमाको घरमा आएको स्रोत बालबच्चा र वृद्धको लालनपोषणमा खर्च नगरी व्यक्तिगत लाभ लिएको भन्ने आरोपको धेरै हदसम्म खण्डन गर्छ।
http://setopati.com/

, ,

news and entertainment